स्मार्ट सिटीको योजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने

काठमाडौँ– सरकारले व्यवस्थित शहरीकरण, मेगा सिटी, स्मार्ट सिटीलगायत योजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी काम अघि बढाएको छ।

राष्ट्रियसभाको आज शुक्रवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा शहरी विकास मन्त्रालय सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले अघिल्लो वर्ष घोषित मेगा सिटी, स्मार्ट सिटी निर्माण तथा शहरीकरणको मापदण्ड तयार गरेर आवश्यक प्रक्रिया अघि बढेको उल्लेख गरे।

मन्त्री राईले थपे, “आगामी आवभित्र कूल बजेटमध्ये ४.८ प्रतिशत मात्र नयाँ बजेट खर्च गर्छौँ, बाँकी पुरानै बजेट खर्च गर्ने लक्ष्यका साथ शहरीकरणका पुराना योजनालाई अघि बढाएका छौँ।”

सरकारले सात मेगा र १३ स्मार्ट सिटी निर्माणको घोषणा गरेको थियो। हिमालसँग जोडिएका पाँच प्रदेशमा पाँच शहर विकासको काम पनि प्रभावकारी रुपमा अघि बढाइएको छ।

अघिल्लो सरकारले विनायोजना र मापदण्ड तयार नगरी मेगा र स्मार्ट सिटी निर्माणको घोषण गरेकाले अहिलेको सरकारले त्यस्ता शहरको मापदण्डसहितको व्यवस्थित कार्ययोजनाका साथ निर्माण प्रक्रिया अघि बढाएको मन्त्री राईको भनाइ थियो।

ताजा समाचार

सम्बन्धित समाचार