काठमाडौँ– राष्ट्रियसभाका सांसदले सार्वजनिक यातायातलाई सहज र सुलभका साथै एकाधिकारबाट मुक्त गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
राष्ट्रियसभाको आज बुधबारको विनियोजन विधेयकमाथिको छलफमा बोल्दै सांसद बद्रीप्रसाद पाण्डेले भौतिक पूर्वाधारमा सम्भावित रणनीतिक सडक कार्यक्रम धनुषामा १७ र बाजुरामा एउटा पनि नपरेको उल्लेख गर्दै उनले मन्त्रीको जिल्लामा मात्र कार्यक्रम राखिनु बिडम्वनापूर्ण भएको बताए।
बूढीगण्डकी आयोजनालाई अलपत्र बनाइएको र जलमाफियाको चङ्गुलबाट ऊर्जा क्षेत्र बाहिर आउन नसकेको सांसद पाण्डेको भनाइ थियो।
सांसद डा.विमला पौड्यालले यातायातको क्षेत्रमा अझै धेरै सुधार गरिनुपर्नेमा जोड दिएकी छिन्।
लाइसेन्स लिन वर्षै कुर्नुपर्ने समस्यालाई तत्काल समाधान गर्न उनले आग्रह गरिन्।
‘यातायात सेवामा मानिसको सहजरुपमा पहुँच पुगोस्, सडक सुरक्षाका लागि ठोस कार्यक्रम आओस् सानो कार्यक्रम गरौँ तर त्यसले जनतालाई छोओस्,’ उनले भनिन्।





