मनसुन पूर्ण सक्रिय नहुँदा देशभर गर्मी

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो। सामान्य समयभन्दा १० दिन ढिलो गरी नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा राम्रो वर्षा हुन सकेको छैन।

मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि मनसुन पूर्ण सक्रिय नहुँदा देशभर गर्मी बढेको छ। नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीन/चार दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

न्यून चापीय रेखा मध्य भारतमै रहेकाले मनसुन कमजोर भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गको भनाई छ। उक्त प्रणाली बिस्तारै नेपालसम्म आई पुग्न तीन–चार दिन लाग्ने उनी बताउँछन्।

अहिले मनसुन कमजोर अवस्थामा रहेकाले हल्का र क्षणिक वर्षा मात्र भएको बताइएको छ। तत्काल भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि मध्याह्नमा चर्को घाम लाग्ने र दिउँसो बदली हुने क्रम जारी छ। आंशिक बदली र घाम लाग्ने क्रमले गर्दा उपत्यकाका बर्ढी गर्मी महसुस गरिएको छ। तीन दिनयता काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेकामा आज ३१ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ।

नेपालमा साधारणतयाः जुन १० देखि सेप्टेम्बर २३ सम्म चार महीनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करीब ८०५ वर्षा हुने गर्छ।

ताजा समाचार

सम्बन्धित समाचार