महाराष्ट्रको रत्नगिरीमा बाँध भत्किँदा ७ जनाको मृत्यु, २० बेपत्ता

महाराष्ट्र– महाराष्ट्रको रत्नगिरी जिल्लमा बाँध भत्किँदा ७ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन्।

मुम्बईबाट २ सय किलोमिटर दुरीमा रहेको कोंकण क्षेत्रमा तिवरे बाँध भत्किएपछि सातवटा गाँउमा एकैपटक अचानक बाढी छिरेको थियो ।

जिल्ला प्रशासन अधिकारीका अनुसार बाँध भत्किएको ठाउँबाट केही किलोमिटर टाढा मृतकहरूको शव फेला परेको थियो। बीबीसीका अनुसार राहत र उद्धारको लागि नेशनल डिजास्टर रेस्पोन्स फोर्सको टोली घटना स्थलमा रहेको छ। पुलिस र स्वयंसेवक प्रभावित क्षेत्रमा उद्दारमा खटिरहेका छन् ।

स्थानीय प्रशासनका अनुसार, मंगलबार राति ८ः३० बजे बाँधमा ओभरफ्लो शुरू भएको थियो। एक घन्टा भित्र नै बाँधको एक भाग भत्किँदा अचानक वरिपरीको क्षेत्रमा बाढी पसेको हो ।

पछिल्लो ४ दिनदेखि मुम्बईको कोन्कणको उक्त तटिय क्षेत्रमा भारी वर्षा भइरहेको थियो । जसको कारण मुम्बईको जनजिवन प्रभावित भएको छ । मुम्बई, पुना र कल्याणमा अलग अलग घटनामा अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ ।

मुख्यमन्त्री देवेन्द्र फड्डनाविसले मंगलबार १२ घण्टामा मुम्बईमा लगभग २०० मिमी वर्षा भएको बताएका थिए । जो अभूतपूर्व छ। पुणेमा पर्खाल भत्किए लगतै मंगलवार बिहान मालाद पूर्वमा पनि एक पर्खाल भत्किएको थियो जहाँ २० जनाको मृत्यु भयो।

मुख्यमन्त्रीले मृतक परिवारलाई ५ लाख दिने घोषण गरेका छन्। अत्याधिक वर्षाका कारण मुम्बईमा हवाई र रेल यातायात पनि प्रभावित भएको छ।

सोमबार मुम्बई एयरपोर्टमा १ सय ६७ जान यात्रुहरू रहेको स्पाइस जेटको विमान अधिक वर्षाका कारण चिप्लेर रनवेबाट बाहिर गएको थियो जसका कारण २ सय भन्दा धेरै उडान प्रभावित भए ।

ताजा समाचार

सम्बन्धित समाचार