Thursday, September 19, 2024

किन मार्छ बाघले बाघलाई ?

आहाराको लागी एक आपसमा नै हुने झडप नै बाघको मृत्युको मुख्य कारण भएको पाइएको छ । आहाराका लागि बाघहरु एक आपसमा जुधेका कारण पछिल्लो २ महिनामा ४ वटा दुर्लभ पाटे बाघको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विशेषत आहाराको अभाव र बस्ने ठाउँको अभावमा वाघहरुविचमा झडप वढीरहेको र मृत्यु हुनेक्रम वढेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २ महिनामा चितवनमा मात्रै चारवटा बाघको मृत्यु भएको छ । चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा आइतवार विहान पाटेबाघ मरेपछि २ महिनामै मर्ने बाघको संख्या ४ पुगेको हो ।

निकुञ्जमा मरेका २ वटा पोथी बाघ आहाराका क्रममा झडप हुँदा मरेको चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन वेद कुमार ढकालले जानकारी दिए । ‘आहाराका लागि प्रतिस्पर्धा हुँदा बलियो बाघले कमजोर बाघलाई आक्रमण गरेर मार्ने गरेको छ,’ निकुञ्जका चिफ वार्डेन ढकालले भने, ‘पछिल्ला २ वटा पोथी बाघ आहारा लिने क्रममा भाले बाघको आक्रमणबाट मारिएका हुन् । मरेका बाघको गर्दनमा हड्डी नै टुटाउने गरि आक्रमण भएको छ,’ उनले थपे, ‘यस्तो आक्रमण बाघ बाहेक अरु जनावरले गर्न सक्दैन ।’

आइतबार विहान चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क पोथी बाघ मृत फेला परेको छ । बाघ शनिबार राति अर्को बाघसँगै जुधेर मरेको अनुमान गरिएको उनले बताए । बाघको घाँटीमा अर्को बाघले टोकेको देखिन्छ । चितवन जिल्ला वन कार्यलय मातहतका सामुदायिक वन आसपासमा पनि २ महिनामा मरेका २ वटा बाघको मृत्युको कारण उस्तै रहेको छ । ती बाघलाई अर्को बलियो बाघले आक्रमण गरेर मारेको कार्यलयका प्रमुख जिल्ला वन अधिकृत केदार पौडेलले बताए ।

‘आहारा लिने क्रममा बुढो बाघलाई तन्नेरी बाघले आक्रमण गरेर मारेका हुन्,’ उनले भने, ‘जंगल भनेको बाघ कै अधिनमा रहन्छ एउटा बाघले अर्को बाघको हैकम सहदैन र उनीहरुवीच द्धन्द्ध भएर एकको ज्यान जान्छ ।’

उनका अनुसार कुनै बाघ बुढो भएर कालगतिले र केही रोगका कारण पनि मर्ने गरेको पाइएको छ । बाघको मृत्युवारे गहिरिएर अध्ययन अनुसन्धान नभएपनि विशेषगरी आहाराकै कारण झगडा गरेर घाइते बनाएर र कालगतिले बाघको मृत्यु हुने गरेको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मन बहादुर खड्का बताउँछन् ।

‘वर्षमा ७ ( ८ वटा मर्नु स्वभावीक हो, बाघबारे चितवन बाहेक अन्य स्थानमा खासै अध्ययन भएको छैन,’ उनले भने । नेपालमा पछिल्लो समय गरिएको तथ्यांक अनुसार १ सय ९८ बटा पाटेबाघ रहेका छन् । बाघको औसत आयु १५ वर्ष हुन्छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार