Friday, October 18, 2024

‘सगरमाथा संवाद’ को पहिलो विषय सगरमाथा नै बनोस्

सम्पादकीय

काठमाडौँ – विश्वका जल्दाबल्दा समकालीन विषयमा हरेक वर्ष संवाद चलाउने लक्ष्यसँगै सरकारले ‘सगरमाथा संवाद’ नामक वार्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेर तयारी अगाडि बढाएको छ।
यो संवाद चलाउने कार्य आफैँमा सकारात्मक हो। सरकारी तहमा हुने क्षेत्रीय र अन्तराष्ट्रिय संवादबाट प्रभावित भएर सरकारले यस्तो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। तर नेपालले कस्ता विषयहरूमा संवाद चलाउने ? यस विषयमा भने विज्ञहरूबीच पर्याप्त छलफलको आवश्यकता छ। नेपालले अन्तराष्ट्रिय सम्बन्ध र राजनीतिका बहसहरू चलाउँदा के होला ? विभिन्न कोणबाट बहस भइरहेको छ। यतिबेला हामीले सामना गर्नुपरेका अन्तराष्ट्रिय विषयहरू के के हुन ? निश्चय नै आर्थिक विकास हाम्रो पहिलो प्राथमिकता हो। अनि योसँगै जोडिएर आउने अन्य विषयहरू हुन्, दीर्घकालीन विकास अथवा वातावरण संरक्षणसहितको तीव्र आर्थिक विकास। यसभित्र पनि हाम्रा तत्कालीन प्राथमिकताका विषय के के हुन ?

यतिबेलाको हाम्रो प्रमुख चिन्ताको विषय भनेको वातावरणीय प्रभावका कारण पग्लिएको हिउँ हो । यस विषयमा हामीले तत्काल बहस र छलफल नचलाउने हो भने यो विषय अझ विकराल बन्दै जाने छ। त्यसमाथि पनि विश्वमा नै नेपाललाई चिनाउने सगरमाथाको विषय यतिबेलाको प्रमुख प्राथमिकता हो। यो विषयले विश्वको ध्यान खिचेको छ। अन्य मुलुक र संस्थाहरुले यो विषयमा कुरा उठाईरहेका छन् तर सरकारको प्राथमिकतामा देखिदैन्। समृद्धिमा नाउँमा जथाभावी जसरी भएपनि संरचना निर्माण गर्ने मानसिकतामा रहेको छ। हाम्रो भनाई के छ भने पाँच वर्षको म्यान्डेट लिएर आएको सरकारको सोचाई पनि स्थायी विकासको ढाँचा हुनुपर्छ।

यसपटक सगरमाथा निकै नै चर्चामा रह्यो, विशेषगरी ट्राफिक जाम र मृत्युको कारणले । निश्चय नै सरकारको भनाइ सही हो, जामको कारणले मात्र यति धेरै मृत्यु भएको होइन। तर, हिमाली क्षेत्रमा लामो जाम हुँदा विभिन्न समस्याहरू उत्पन्न हुन्छन्, जसका कारणले बिरामी हुने र मृत्यु हुने सम्भावना बढी रहन्छ।

त्यसो भए जाम किन भयो ? सगरमाथा आरोहरणका लागि एकपछि अर्काे गर्दै उपयुक्त मौसम र समय एकदमै कम हुँदै गइरहेको छ। जलवायु परिवर्तन र अन्य कारणले गर्दा हिमाली मौसमको भविष्यवाणी कठिन हुँदै गइरहेको छ। यी र यस्ता वातावरणीय समस्याका विषयमा संवाद हुनु जरुरी छ।

यसमाथि सरकारी तहबाट हुने कमीकमजोरीहरू आफ्ना ठाउँमा छँदैछन्। हाम्रा कमजोरीलाई लुकाएर सगरमाथाको विषयमा बढी प्रपोगण्डा भयो भनेर मात्र हुँदैन। संसारको चासो र ध्यान रहेको सगरमाथाको विषयमा हामीले स्पष्ट सूचना बाहिर ल्याउने र भएका गल्ती कमजोरी सच्याउने गर्नुपर्छ ।

सगरमाथा आरोहरण सुरु भएको झण्डै ७० वर्ष पुगिसकेको छ। पहिलो आरोहणदेखि अहिलेसम्मको अवस्था कस्तो रह्यो ? त्यस विषयमा गम्भीर अध्ययन र समीक्षाको खाँचो छ। त्योबेलाको अवस्था कस्तो थियो ? बिस्तारै के कस्ता परिवर्तनहरू आए ? बढ्दो चुनौतिलाई कसरी समाधान गर्ने ? लगायतका विषयमा संसारभरिका विज्ञहरूको उपस्थितिमा सूचना र ज्ञानको आदान प्रदान अहिलेको आवश्यकता हो।

सरकारी तहबाट नियमका लागि के कस्ता कदम चाल्न आवश्यक छ भन्ने विषयमा पनि व्यापक बहसको आवश्यकता छ। यति मात्र होइन, आरोहरणमा केही विकृतिसमेत देखिन थालेका छन्, फेक आरोहीको सङ्ख्या बढेको छ। योसँगै प्रदूषणको विषय पनि पेचिलो बनेर आएको छ। सगरमाथालाई आरोहरण गर्ने भन्दा पनि कुनै व्यापारिक प्रयोजनको लागि प्रयोग गर्ने प्रवृतिसमेत बढेको छ।

यसबाहेक अर्को गम्भीर समस्या भनेको जलवायु परिवर्तनका कारण तीव्र रूपमा हिउँ पग्लिनु। हिउँ पग्लिएका कारण नै पहिलेका लासहरू सतहमा देखिएका छन्। यही मात्रामा हिउँ पग्लने हो भने दशकौँपछि सगरमाथा हिउँविहीन नबन्ला भन्न सकिँदैन। हिमालमा हिउँ नहुँदा त्यसले आरोहीको सुरक्षामा समेत असर गर्ने सम्भावना रहेको छ।

अर्काेतर्फ सगरमाथाको मौसम पूर्वानुमानका लागि पनि भरपर्दाे प्रणालीको आवश्यकता छ। यो विषयमा अन्तराष्ट्रिय सहयोगसमेत लिन सक्छौँ। त्यसैले सरकारले गर्ने पहिलो सगरमाथा बहस सगरमाथाको विषयमा नै गर्नुपर्छ भन्नेमा हाम्रो प्रमुख जोड रहेको छ।

सगरमाथा हाम्रो हो, यसका आधारभूत विशेषता र महत्वलाई जोगाइराख्ने पनि दायित्व हाम्रो हो। त्यसैले अहिलेसम्म भएका आरोहरण र भावी दिनमा यसको संरक्षणका लागि के गर्न सकिन्छ भन्ने विषयमा अन्तराष्ट्रिय बहसको आवश्यकता छ। सगरमाथाको विषयमा भएको बहसमा नेपाल सरकारले नै नेतृत्व लिने हो र हामीले नै यसका बारेमा विश्वभर एउटा न्यारेटिभ तय गर्ने हो। यसो गर्न सकेमा अन्तराष्ट्रिय रूपमा नै एउटा सकारात्मक सन्देश जानेछ। त्यसैले हाम्रो विनम्र आग्रह छ, सगरमाथा संवादको सुरुवात सगरमाथाको विषयबाट नै होस्, न कि वातावरणका अन्य अमूर्त विषयमा छलफल गरेर समयको मात्र बर्वाद होस्। सगरमाथाको विषयमा बहस सुरु गरेमा यो संवादले समेत एउटा उचाइ ग्रहण गर्ने हाम्रो विश्वास छ।

ताजा समाचार

सम्बन्धित समाचार