Thursday, September 19, 2024

यसरी जोगिन सकिन्छ वन्यजन्तुको आक्रमणबाट

चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बस्ने सर्वसाधारणमा वन्यजन्तुको आनीबानीबारे थाहा नहुँदा कतिपय अवस्थामा आक्रमणमा पर्ने गरेको पाइएको छ ।

हात्ती, बाघ, गैँडा, चितुवा, भालु लगायत वन्यजन्तुको आनीबानी थाहा पाएमा दुर्घटना हुनबाट जोगिन सकिने र यसप्रति सचेत हुनुपर्नेमा संरक्षणकर्मीले जोड दिएका छन् । बाघ लजालु प्रजाति हो त्यसैले मानिसलाई आक्रमण गरिहाल्दैन । एक्कासि जम्काभेट हुँदा, घाइते अवस्थामा, मान्छे खान परेको र बच्चासँग भएको बाघ बढी रिसाहा हुन्छ । यस्ता बाघसँग टाढै बस्नुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका एकजना संरक्षण अधिकृत ऋषिराम सुवेदी बताउँछन् ।

वन्यजन्तुको आनीबानीबारे बताउँदै सुवेदीले भने, “बाघले जहिले पनि पछाडि या अगाडिबाट घाँटीमै आक्रमण गर्छ, नजिक नजाने, नजिस्काउने, हल्ला नगर्ने, देखेपछि विस्तारैपछि हट्ने क्रियाकलापले बाघ आफैँ तर्किन्छ ।” मान्छे खान पल्किएको छ भने लुसुक्क लुकेर अर्काे पट्टिबाट घुमेर आक्रमण गर्ने उनको भनाइ छ । त्यसैले, पाइला ताजा छन, नंग्रा फिँजारिएको, लतारिएको छ, कतैकतै रगत देखिएको छ भने त्यो क्षेत्रबाट बाहिर निस्कनु नै बेस हुने सुवेदी बताउँछन् ।

गैँडा बाघभन्दा अलिक लाटोजस्तो हुन्छ । नजिक नपरेसम्म यसले आक्रमण गरिहाल्दैन । हान्न आयो भने रुखको छेक पर्दा, रुख चढ्दा या बांगोटिंगो भाग्दा बच्न सकिने नेचर गाईड डोमा पौडेलको भनाई छ । हात्ती अलि बढी चलाख हुने भएकाले हात्तीसँग भने धेरै सतर्क हुनुपर्ने उनको भनाई छ । परैबाट लखेट्ने स्वभावको हुने भएकाले हात्तीबाट जोगिन नजिक नै पर्नुहुन्न । कुनै ठूलो रुख चढ्ने, कुनै खोल्सा, ठूलो लडेको रुख पार गर्न सक्यो भने हात्तीबाट केही हदसम्म जोगिन सकिन्छ ।

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक सकेसम्म वन्यजन्तुको नजिक नै जान नहुने, जानै परे सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन् । बच्चासहित हुँदा, घाइते भएका बेला तथा अन्य विभिन्न कारणले चितुवा, भालु पनि आक्रामक हुने उनले जानकारी दिए ।

चितवन निकुञ्ज आसपास क्षेत्रमा घाँस काट्न जाँदा, निउरो टिप्न जाँदा, गाईबस्तु चराउन जाँदा वन्यजन्तुले मानिसमाथि आक्रमण गर्ने गरेको छ । कतिपय अवस्थामा वन्यजन्तुले घरमै आएरसमेत आक्रमण गर्ने गरेको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार