Tuesday, September 17, 2024

कहिले बन्ला वन्यजन्तुमैत्री संरचना ?

-खेमा बस्नेत-

सरकारी निकायहरुको बिचमा पर्याप्त समन्वयको अभावले वन्यजन्तुमैत्री भौतिक संरचनाको निर्माण हुन नसकेको उच्च सरकारी अधिकारी र संरक्षणविद्हरुले वताएका छन् ।

उनीहरुले संसारभरी नै ठूला भौतिक संरचनाहरुको निर्माण गर्दा वन्यजन्तुको संवेदनशीलतालाई ध्यान दिइने गरेको पाइएपनि नेपालमा यो विषयले प्राथमिकता नपाएको गुनासो गरे । विशेषत सडक विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग,सिंचाई विभाग र रेल विभाग तथा अन्य सरकारी निकायहरुको वीचमा समन्वय भएमा वन्यजन्तुमैत्री संरचना वन्ने धारणा उनीहरुको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आयोजना गरेको ‘ठुला भौतिक संरचना र वन्यजन्तु’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले अबका दिनमा समन्वय गरेर मात्र संरचना निर्माण गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने, ‘सडक बनाउँदा वन कार्यालयसँग समन्वय हुँदैन । समन्वय भएमा विकास निर्माणको कामसँगै वनयजन्तुको पनि संरक्षण हुन्छ ।’ महानिर्देशक खड्काले आफुहरु विकासको विरोधी भने नभएको वताए ।

सिंचाइ विभागका महानिर्देशक सरोज पण्डितले ठुला–ठुला सिंचाइ आयोजनाहरु वन्यजन्तुमैत्री हुन नसक्दा पानी खान जाने वन्यजन्तु नहरमा डुबेर मर्ने गरेको बताए ।‘नहरमा डुबेर वन्यजन्तु मरेका छन् । हामीबिच समन्वय नहुँदा समस्या बढिरहेको छ’,महानिर्देशक पण्डितले भने ‘केही स्थानमा वन्यजन्तुमैत्री नहरको निर्माण भएको छ तर पूर्णरुपमा कार्यान्वयन हुनसकेको छैन ।’

सडक विभागका उप–महानिर्देशक शिवप्रसाद नेपालले सडक विस्तार गर्नुपर्ने मात्र काम भएकाले जैविक विविधता जोगाउनमा आफुहरुको ध्यान नपुगेको स्वीकार गरे । ‘अब बनाउने विकास निर्माणको काममा समन्वय गछौं । समन्वय गर्न एउटा निर्देशिका बनाऔंँ’ उप–महानिर्देशक नेपालले भने । रेल विभागका महानिर्देशक अनन्त आचार्यले रेलमार्ग वातावरणमैत्री बनाउन खोजीरहेको बताउँछन् । ‘विद्युतीय रेल भएकाले पनि यो वातावरणमैत्री छ । विगतका गल्तिलाई सच्चाएर समन्वय गरेर जानुपर्छ’, महानिर्देशक आचार्यले भने ‘वनको बाटो भएर रेल मार्ग बनाउन परेमा कम भन्दा कम क्षती हुने गरेर बनाउने छौं ।’

विशेषत राजमार्ग, रेलको ट्रयाक, नहर तथा अन्य पूर्वाधारहरुको निर्माण गर्दा वन्यजन्तुहरुलाई आवात जावत गर्न सहज हुने ढंगले निर्माण गर्ने विश्वब्यापी प्रचलन रहेको छ ।

वन्यजन्तुहरु आवत –जावत गर्ने ठाउँमा वन्यजन्तुहरुको साङकेतिक चिन्हहरु राख्ने र त्यस्ता ठाउँमा वस तथा रेलले गति कम गर्नुपर्ने नियम वनाइएको हुन्छ । विशेषत आरक्ष तथा संरक्षण क्षेत्रभित्रबाट वाटो तथा रेल वनाउँदा सम्वन्धीत निकायले वन्युजन्तुको संरक्षणका लागि कस्तो योजना वनाएका छन, त्यो प्रस्तुत गर्नुपर्ने अन्तराष्ट्रिय प्रचलन रहेको छ । छिमेकी मुलुक भारतले गत फेव्रुअरी महिनामा ठूला पूर्वाधारहरुको निर्माण गर्दा वन्यजन्तुको आवत–जावत लागि विशेष व्यवस्था गर्नुपर्ने कानुन वनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार