धनगढी–धनगढी उप–महानगरपालिका–१, कटानमा करिब एक करोड लागतमा बृहत् खानेपानी योजना निर्माण भइरहेको छ।
खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दाले खानेपानी योजना निर्माण सम्पन्न भएपछि शुद्ध खानेपानी पिउन पाउने छन्।
खानेपानी योजना ट्रिटमेन्ट प्लान्टसहितको भएको धनगढी उप–महानगरपालिकाका प्रमुख तथा खानेपानी संस्थानका बोर्ड सदस्य नृपबहादुर वडले बताए। एक करोड लागतमा निर्माण भइरहेको भए पनि रकम थप गरिने उनकाे भनाइ छ।
खानेपानी योजनाको संरचना ६ कठ्ठा जमिनमा निर्माण भइरहेको छ। ट्यांकी, ट्रिटमेन्ट प्लान्ट र वितरण लाइन सँगसँगै निर्माण गरिने प्रमुख वड बताउँछन्।
खानेपानी योजना चाँडो निर्माण गर्न सके जनताले शुद्ध पिउने पानी खान पाउने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडबरीले जनाए।
योजना सम्पन्न भएसँगै खानेपानीको समस्या झेल्दै आएका धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, ८, २ र ५ का घरपरिवार लाभान्वित हुनेछन्।
खानेपानी योजना निर्माणका लागि स्थानीय बाजी आउँजीले आफ्नी आमाको स्मरणमा ६ कट्ठा जमिन दान दिएका हुन्।





