महेन्द्रनगर – कञ्चनपुरका प्राकृतिक तालहरू सुक्न थालेका छन्। सुख्खायामको सुरुवातसँगै प्राकृतिक ताल सुक्न थालेका हुन्। वन्यजन्तु र चराचुरुङ्गीको खाने पानीको प्रमुख श्रोत तालहरू घट्दै र सुक्दै गएका छन्। जेठ महिनामा वन्यजन्तुका लागि पानीको हाहाकार हुने गरेको संरक्षणकर्मी बताउँछन्।

सुख्खायाम र तालको नियमित सरसफाइको अभावमा प्राकृतिक तालहरू सुक्दै जान थालेका छन्। प्राकृतिक तालहरू सुक्दै जाँदा यहाँ पाइने विभन्न प्रजातिका वन्यजन्तु र चराचुरुङ्गी लोप हुने खतरा बढेको डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत गोपाल जोशीले जनाए।
‘ताल सुक्न थालेपछि तालमा रहेका माछा मर्न थालेका छन्, तालमा पानी पिउन आउने जनावरलाई समेत सास्ती भएको छ,’ उनले भने। कञ्चनपुर जिल्लामा १८ प्राकृतिक तालहरू रहेका छन्। जसमध्ये अधिकांश ताल सुक्न थालेको सहायक वन अधिकृत जोशीले बताए । ‘गर्मी सुरु भएसँगै तालमा पानी कम हुन थाल्छ । वैशाख र जेठ महिनामा केही तालहरू सुक्छन् पनि,’ उनले भने । प्रकृतिक तालमा पानीको अभाव हुँदै गए जङ्गली जनावरलाई समस्या हुने डिभिजन वन कार्यालयका योजना शाखाका रेन्जर शिवराज अवस्थी बताउँछन्। ‘पानी नपरेको धेरै भयो, दिनप्रतिदिन तापक्रम बढ्दै छ’ उनले भने, ‘प्राकृतिक तालमा पानी सकिँदै गए जनावरले बासस्थान परिवर्तन गर्ने अवस्था आउँछ ।’ प्राकृतिक ताल बर्सेनी पुरिँदै जाने र रिचार्ज नहुँदा पानी सुक्ने समस्या आएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले बताए ।
‘यहाँ रहेका प्राकृतिक तालको उचित संरक्षण हुन सकेको छैन्, प्रत्येक वर्ष तालको आकार घट्दै जान्छ,’ उनले भने, ‘वन कार्यालयसँग ताल संरक्षणका लागि कुनै कार्यक्रम हुँदैन, कसरी तालको संरक्षण हुन्छ ?’ लालझाडी मोहना संरक्षित क्षेत्रका ताल पनि सुक्न थालेको समितिका अध्यक्ष पन्त बताउँछन्। उनका अनुसार चरा अवलोकनका लागि उपयुक्त रहेको वनदेवी तालको पानी सुक्दै गएको छ। ‘ तालको पानी सुक्दै गएकाले यहाँ आउने चरासमेत अन्तै स्थानान्तरित भए भने पर्यटक नआउँने हुन् कि भन्ने चिन्ता लागेको छ,’ उनले भने।
लालझाडी क्षेत्रकै तरबरिया तालमा पनि सुक्खायाममा पानी बाँकी रहँदैन । माटो र पात भरिएर ताल पुरिँदै गएकाले केही वर्षयता पानीको अभाव चर्किएको छ। उक्त तालमा पनि हिउँदको जाडो छल्न आएका साइबेरियन चरासँगै वन्यजन्तु पानी पिउन आउने गरेको समितिका अध्यक्ष पन्तले बताए। ‘लालझाडी क्षेत्रका तालहरूमा पानी रिचार्जको व्यवस्था अनिवार्य हुनुपर्ने देखिन्छ, तालहरूमा पानी नहुँदा वन्यजन्तु बस्तीतिर पसेर मानव र वन्यजन्तुबीच द्वन्द्वको अवस्था सृजना भएको छ,’ उनले भने । प्रकृतिक तालहरूमा पानी घट्दै गएपछि वन्यजन्तुहरू पानी खोज्न बस्तीतिर पस्न थालेको सबडिभिजन वन कार्यालय वाणीका सहायक वन अधिकृत विश्वराज पण्डितले बताए ।
‘प्राकृतिक तालमा पानी कम छ, पानी खोज्न जनावर बस्तीमा आउँछन, यसले मानव र वन्यजन्तुबीच द्वन्द्वको अवस्था बढाएको छ,’ उनले भने। प्राकृतिक तालहरूमा पानी भर्नका लागि वैकल्पिक उपायहरू अपनाउनु पर्ने उनले बताए। ‘सुक्न थालेका तालको संरक्षण गर्नुका साथै तालमा पानी भर्ने व्यवस्था गर्नु आवश्यक छ,’ उनले भने। डिभिजन वन कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार कञ्चनपुरमा झिलमिला ताल, वेदकोट ताल, बृन्दा ताल, सुन्देउ ताल, महाकाली ताल, रानी ताल, कालीकिच ताल, लामा ताल, बन्तरिया ताल, सोभा ताल, तारा ताल, कोटीहोम ताल, सोलुगौडी ताल, मणिका ताल लगायत १८ प्राकृतिक ताल छन्।
तालहरूमा माछा, पानी हाँस, गोही, चित्तल, नीलगाई, बँदेल, हात्ती लगायतका वन्यजन्तुसँगै विभिन्न प्रजातिका चरा चुरुङ्गीहरू छन। प्राकृतिक तालहरूमा माटो र पातहरू भरिएर पानी घट्दै गएको छ। प्राकृतिक तालहरूको संरक्षणका लागि डिभिजन वन कार्यालयसँग कार्यक्रम नभएको सहायक वन अधिकृत जोशीले बताए। ‘ताल संरक्षणका लागि वनको कुनै कार्यक्रम छैन्, सामुदायिक वन तथा संघसंस्थाले तालको संरक्षण गरिरहेका छन्,’ उनले भने।
शुक्लाफाँटामा पोखरी निर्माण
वन्यजन्तुका लागि खानेपानीको अभाव हुन थालेपछि शुक्लाफांँटा राष्ट्रिय निकुञ्जले पोखरी निर्माण सुरु गरेको छ। निकुञ्जले ६० पोखरी निर्माण गरिरहेको छ। सुक्खायाममा वन्यजन्तुका लागि पानीको अभाव हुन नदिन निकुञ्जका विभिन्न ठाउँमा पोखरी निर्माण भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले बताए ।
‘वैशाख र जेठमा निकुञ्जका प्रकृतिक तालहरूमा पानी कम हुन्छ, वन्यजन्तुलाई निकै समस्या हुने गर्छ , त्यही अवस्थालाई मध्यनजर गरी कृत्रिम पोखरी निर्माण गर्न लागेका हौँ,’ उनले भने । निकुञ्जको शुक्लाफांँटा घाँसे मैदान, सिंहपुर, राधापुर फांँटा, सालवन क्षेत्र र बर्कौलामा पोखरीहरू निर्माण भइरहेको प्रमुख संरक्षण अधिकृत पौड्याल बताउँछन्।
उनका अनुसार २० पोखरी निर्माण भइसकेका छन् । अन्य ४० पोखरीको काम अन्तिम चरणमा पुगेको छ । पोखरी निर्माणपछि पानीको स्रोतका लागि सोलार पम्प र बोरिङ् जडान गरिने उनले बताए । सुक्खायाममा लामो दुरीसम्म पनि पानी नपाइने भएकाले विभिन्न ठाउँंमा पोखरीहरू निर्माण गर्न लागिएको हो । उक्त कार्यका लागि प्रतिपोखरी २ लाखका दरले करिब १ करोड २० लाख खर्च हुनेछ ।





