पात्ताले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले सालका रूख नकाटेकाे समितिकाे निष्कर्ष

सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिका –१ को पात्ताले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले नियम विपरित सालको रुख काटेको भनी परेको उजुरी निराधार भएको छानबिन समितिले औँल्याएको छ।

टोलीले डिभिजन वन कार्यालय सिन्धुलीमा परेको उजुरीसँग सम्बन्धित विषयको कागजातहरूको अध्ययन, मोतीलाल चौतारा पाखाको स्थलगत अनुगमन र सामूदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सरोकारवाला उपभोक्ताहरूसंग छलफल गरी उजुरीमा कुनै पनि किसिमको अनियमितता नभएको पुष्टि गरेको हो।

उक्त वन उपभोक्ता समितिका अध्यक्ष चन्द्र बहादुर कुँवर र कोषाध्यक्ष टीकाराम बैजुले उपभोक्ता समितिलाई अलमलमा पारी मोतीलाल चौतारा पाखाको हरियो सालका रुखहरू फडानी गरी नियम विपरीत विक्री गर्न लागेको भन्दै गत चैत १० गते प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा उजुरी परेको थियो। उक्त उजुरी त्यसअघि नै ३० पुस मा डिभिजन वन कार्यालयमा पनि परेको थियो।

उजुरीका आधारमा राष्ट्रिय सर्तकता केन्द्रका प्रहरी निरीक्षक कृष्ण प्रसाद अधिकारी र काली प्रसाद चौधरीको संयोजकत्वमा गठित छानविन टोलीले ६ वैशाखमा प्रतिवेदन बूझाएको हो।

नियम विपरित नभएको भनी पहिलो पटक सिन्धुली सामूदायिक वनको घटना पुष्टी भएको हो। तर, यसअघि पनि डिभिजन वन कार्यालय सिन्धूली, जिल्ला प्रशासन कार्यालय सिन्धूली र क्षेत्रीय वन निर्देशनालय हेटौडामा पनि उजुरी परेको कारण तत्काल काम अघि नबढाउन वन कार्यालयले निर्देशन दिएको प्रतिवेदनमा उल्लेख छ। वन कार्यालयले दिएको स्वीकृति बमोजिम आन्तरिक खपतको लागि सुकेको, किरा परेको तथा प्वाल परेका रुखहरूबाट दाउरा संकलन तथा विक्री वितरण गर्न पाउने उल्लेख गरिएको थियो।

उक्त वन उपभोक्ता समूहमा आवद्ध ८४ घरधुरी उपभोक्ताहरूले गरेको भेलाका अनुसार नियामक निकायको नियम तथा कानुन अनुसार केही उद्यमी गर्ने मनसायले काठ, दाउरा काटेकाे एवं संकलन गरेको हो। उक्त काठ तथा दाउरा बेचेर प्राप्त गरेको रकमबाट २५ प्रतिशत वन विकास, ३५ प्रतिशत स्थानीय विकास र ४० प्रतिशत उपभोक्ता समूहको प्रशासनिक खर्च गर्ने व्यवस्था रहेको वन निर्देशिका अन्तर्गत रहेको प्रतिवेदनमा उल्लेख छ। प्रशिक्षार्थी पत्रकार

ताजा समाचार

सम्बन्धित समाचार