काठमाडौं – नेपाल पर्यटन बोर्डले नियमित रुपमा गर्दैआएको ‘फोटो नेपाल’ शङ्खला अन्तर्गत यसपटक सिन्धुलीका ऐतिहासिक गढी, प्राकृतिक सम्पदा, जनजीवन, संस्कृति, पाटीपौवाले स्थान पाएका छन् ।
समृद्ध सिन्धुलीद्वारा आयोजित ‘तस्वीरमा सिन्धुली’ प्रदर्शनीको शुक्रबार शुभारम्भ भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्त, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी र फोटो सिन्धुलीका संयोजक दीपक श्रेष्ठले सिन्धुलीगढीको प्रतिमा सार्वजनिक गर्दै फोटो प्रदर्शनी शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा इतिहासकार प्रा.दिनेशराज पन्तले सिन्धुलीगढीको ऐतिहासिक महत्वमाथि चर्चा गर्दै पृथ्वीनारायण शाहले काठमाडौँ जित्न आर्थिक नाकाबन्दीको नीति लिएको र त्यस क्रममा नुवाकोट र मकवानपुर राज्य कब्जा गरेको बताए ।
उनले मकवानपुर राज्य कब्जासँगै सिन्धुलीगढी गोरखालीको नियन्त्रणमा गएपछि किल्लाको विस्तार गरिएको र इष्टइन्डिया कम्पनी (ब्रिटिस सेना) बिरुद्ध सिन्धुलीगढीमा असोज १५ गते विजय प्राप्त गरेको बताए ।
उनले सिन्धुलीगढीमा कात्तिक २४ गते विजयोत्सव मनाउने गरिएकोमा त्रुटि रहेको चर्चा गर्दै भने, “कामगर्दा मानवीय त्रुटि हुनसक्छ तर नसच्चिनुचाहिँ कमजोरी हुन्छ । त्यसैले अबको बिजयोत्सव असोज १५ मा नै मनाउनुपर्छ ।”
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले सिन्धुलीगढीको ऐतिहासिक पक्षको प्रवद्र्धन गरी विश्वका पर्यटक ल्याउन सकिने बताए ।
उहाँले प्राकृतिक सौन्दर्य, खानाका परिकार र ऐतिहासिक कथाले पर्यटक तान्ने चर्चा गर्दै भने, “सिन्धुलीगढीलगायत ऐतिहासिक किल्लाको प्रवद्र्धन गरी पर्यटक भित्र्याउन सकिन्छ । त्यसका लागि तस्वीर प्रदर्शनी महत्वपूर्ण र प्रभावकारी हुन्छ ।”
नेपाल पर्यटन बोर्डका प्रेमप्रसाद भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा फोटो सिन्धुलीका संयोजक दीपक श्रेष्ठले सिन्धुलीगढी, हरिहरपुरगढी, सगरमाथालगायत नेपालका उच्च हिमशृङखला देख्न सकिने फिक्कल टाकुरा, मौलिक उत्पादन जुनार, सुनकोशीको जलयात्रा, महाभारत पदमार्ग, जडिबुटी, जातीय विविधतालगायत पक्षको विकासगरी पर्यटन प्रवद्र्धन गर्न सकिने बताए ।
कार्यक्रममा अभियन्ता सौरभ ढकालले अतिथिहरुलाई गमलासहितको पूmलले स्वागत गर्दै आफ्नै उत्पादनले मौलिक संस्कृतिको सुरुवात गर्नुपर्नेमा जोड दिए ।
प्रदर्शनीमा गणेश भण्डारी, सौरभ ढकाल, दीपक श्रेष्ठ, अङ्गद ढकाल, किरण श्रेष्ठ, ताराप्रकाश श्रेष्ठ, राज श्रेष्ठलगायतले खिच्नुभएको आदिलिंग कुशेश्वर महादेव, सिन्धुलीगढी, सिन्धुलीगढी दरवार, हरिहरपुरगढी, मरिणको पञ्चकन्या पोखरी, घुमाउने चैनपुरको मालेपाटी, पदयात्रा, जलयात्रा, साइकलयात्रा, जनजीवनका ३५ तस्वीर राखिएका छन् । प्रदर्शनी बैशाख २८ गतेसम्म पर्यटन बोर्डमा सञ्चालन हुने समृद्ध सिन्धुली अभियानले जनाएको छ ।
अभियन्ता सौरभ ढकालले ‘फोटो सिन्धुली’ प्रदर्शनीसँगै शनिबार पर्यटन बोर्डकै हलमा ‘पर्यटन सिन्धुली’ र आइतबार ‘साहित्य सिन्धुली’ कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पर्यटन र साहित्यको क्षेत्रमा भइरहेका गतिविधि, सम्भावना र भावी कार्यक्रमका साथै पदयात्रा र साइकलयात्राबारे छलफल गरिने जनाइएको छ ।
नेपाल सरकारले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्ये सिन्धुलीगढी, सुनकोशीमा जलपर्यटन र महाभारत पर्वत शृङ्खलामा पदमार्ग विशेष रहेको छ । यी तिनवटै गन्तव्य सिन्धुलीमा छ, जसको विकासले सिन्धुलीले लाभ लिन सक्नेछ । पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन कार्य सँगसँगै लैजानु आवश्यक छ । अभियानको यो तस्वीर प्रदर्शनी गन्तव्यको प्रवद्र्धनमा टेवा पु¥याउनु पनि हो ।





