बझाङ – बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा एक साता देखि खानेपानी नहुँदा स्थानीयवासी समस्यामा परेका छन्। एक सातादेखि खानेपानी बन्द भएपछि स्थानीय बासिन्दा सेती नदी र बाउली खोलाको फोहोर पानी पिउन बाध्य भएका छन्।
सदरमुकाम चैनपुर नजिकै रहेको खैरा भन्ने ठाँउमा गोठालो जाने केटाकेटीहरू र महिला तथा पुरुषहरूले सदरमुकाम चैनपुर ल्याइएका खानेपानीका पाइपहरू ठाउँ ठाउँमा काटिदिएका कारण एक हप्ता देखि खानेपानीको समस्या भएको चैनपुर खानेपानी तथा सरसरफाइ उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए ।
पानी नहुँदा शौच गर्न, खाना पकाउन, होटल तथा पसलमा समेत निकै समस्या भएको स्थानीय बासिन्दा सुरेश रोकाया जनाए। एक साता देखि खानेपानी नहुँदा आफूलाई समेत निकै समस्या भएको स्थानीय बासिन्दा पदम शर्मा बताउँछन्। उनले भने ‘खाना पकाउन देखी चर्पी गएको बेला प्रयोग गर्ने पानी छैन। जसका कारण सेती नदी र बाउली खोलाको धमीलो पानी पिउनु पर्ने बाध्यता रहेको छ।’ खानेपानी नआएपछि बढी मारमा चैनपुरका बादी समुदाय छन। आफ्नो घरमा खानोपानीका धारा समेत नभएको र भएका धारामा समेत कहिल्यै पानी नआउने राधा बादीको भनाइ छ।
वर्षौदेखि पाइप लाइन खुल्लै
जिल्लाको सदरमुकाम चैनपुर तथा जयपृथ्वी नगरपालिका भित्र नै सडक भरी जताततै खानेपानीका पाइपहरू असरल अवस्थामा रहेका छन । त्यसैमा गन्हाउने ढल बगिरहेको छ । ठाउँ ठाउँमा पाइप फुटेर पानी बाहिर आएको देखिन्छ। खानेपानीका पाइपको यो दुरावस्था देख्नेले चैनपुर बजारको पानी ढुक्क साथ पिउन हच्किनु पर्ने अवस्था रहेको छ।
चार वर्ष अघि सडक निर्माण गर्दा अलपत्र परेका पाइपहरू व्यवस्थापन गर्न कसैले पनी चासो नदेखाउँदा यो अवस्था सिर्जना भएको हो । खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको र त्यसैमा फोहोर ढल मिसिने हुनाले गर्मीको समयमा पानीजन्य संक्रमण समेत फैलिन सक्ने खतराले सदरमुकाम बासीलाई चिन्तित बनाएको छ।
बाटोमा जथाभावी पाइपहरू छोडिएका कारण हिड्डुल गर्न समेत गाह्रो हुने गरेको छ । केटाकेटीहरु पाइपमा अल्झिएर लड्ने र घाइते हुने गरेको भए पनि पाइप व्यवस्थापनको लागि कसैले पहल नगरेको प्रति गुनासो गर्दै चौगाउ टोलकी बासिन्दा बसन्ती बोहराले भन्छिन्,‘दिनदिनै बच्चाहरू लड्छन। ठूलो मान्छेलाई पनि हिड्न गाह्रो हुन्छ । सदरमुकाम भएर मात्र के गर्नु कसैले यो बिजोग देखेका छैनन् । स्थानीय तह भयो जनप्रतिनिधीहरू आए अब त केही विकास होला र सफा खानेपानी खान पाइएला भन्ने सोच थियो । हामीले देखेका यी सपना सपनामा नै सीमित भए । जनप्रतिनिधिहरूले पनि चासो दिएका छैनन्।’





