एसियाली मुलुकबीच जलमार्ग सञ्जाल निर्माण गर्न नेपालको प्रस्ताव

काठमाडौँ – नेपालले एसियाली मुलुकहरूबीच हवाइका साथै जलमार्ग सञ्जालको विकास तथा भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

यी मुलुकहरुबीचको सहकार्य अझ बढी प्रभावकारी र उपयोगी बनाउन जलसञ्जालमा जोडिनुपर्ने प्रस्ताव नेपालको छ। कतारको दोहामा जेठ १८ र १९ गते आयोजित एसिया को–अपरेशन डायलग (एडिसी) को १६ औं मन्त्रीस्तरीय बैठकमा सहभागी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नतेले एसिया महाद्विपका सबै मुलुकलाई एउटै मञ्चमा आवद्ध गरी समग्र एसियाको विकासमा सदस्य राष्ट्रहरूबीच सहकार्य तथा एकता प्रवद्र्धन गर्नुपर्ने बताए।

मन्त्री बस्नेतले सदस्य राष्ट्रहरूमा हितका विविध पक्षहरूको प्रवद्र्धन गर्दै क्षेत्रीय सहयोग एवं व्यापार, पर्यटन, एवं लगानी प्रवद्र्धनका साथै जनस्तरको सम्बन्ध विस्तारमा समेत पारस्परिक सहकार्यका पक्षमा नेपाल रहनुपर्ने जोड दिए। यस्तै उनले जलवायु परिवर्तनको असरले साना तथा अल्पविकसित मुलुकहरूमा आइपरेको जोखिम एवं प्राकृतिक विपत्तिजस्ता समस्याहरूको दीर्घकालीन समाधानका लागि सबै एसियाली मुलुक एकजुट हुुनुपर्ने विचारसमेत व्यक्त गरे।

मन्त्री बस्नेतले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण निर्माण भएकाले लगानी भित्र्याउन आग्रह गरे। नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक कानूनी तथा संस्थागत सुधार गरिएकाले एसिया क्षेत्रका लगानीकर्तालाई नेपालमा उर्जा, पर्यटन, यातायात पूर्वाधार, कृषि, वन पैदावार, तथा सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्नुका साथै नेपालको भ्रमणमा आउन पनि एसियाली मुलुकका जनतालाई अपिल गरे।

बैठकले दोहा घोषणापत्र जारी गर्दै दीगो विकास तथा शान्ति, कनेक्टिभिटी, व्यापार तथा पारवहन सहजीकरण, पर्यटन प्रवद्र्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा प्राकृतिक विपद व्यवस्थापन, साइबर सुरक्षा, आतंकवाद विरुद्धको सहकार्य, स्वास्थ्य तथा खेलकुद क्षेत्रको विकासजस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका महत्वपूर्ण विषयहरूमा सहकार्यको घोषणा गरेको छ। एसिया महाद्विपका मुलुकहरूबीच एउटै मञ्चमा अवद्ध भई विभिन्न विषयमा सहकार्यका लागि सन् २००२ मा एसिडी गठन भएको हो । उक्त मञ्चमा नेपाल सन् २०१६ मा सदस्य बनेको थियो । मञ्चमा एसियाका ३४ राष्ट्र सदस्य छन्।

ताजा समाचार

सम्बन्धित समाचार