‘फानी’को प्रभाव आजभन्दा भोली धेरै, हिमाल आरोहणमा गएकालाई फर्कन सुझाव

काठमाडौँ – भारतको ओडिसा राज्य केन्द्रित शक्तिशाली चक्रपात ‘फानी’को प्रभाव आज(शुक्रबार) भन्दा पनि भोली(शनिबार) बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘फानी’ नेपाल नआएपनि त्यसको प्रभाव भने नेपालमा पर्ने महाशाखाको भनाइ छ। फानीका कारण शुक्रबार बेलुकीदेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षा हुने देखिएको मौसमविद् विभूती पोखरेल बताउँछिन्।

हाकाहाकीसँग कुरा गर्दै मौसमविद् पोखरेलले हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन आग्रह गरेकी छिन्। उनले विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा त्यसको प्रभाव बढी हुने बताउँदै हिमाल आरोहणका लागि गएका अथवा उच्च हिमाली क्षेत्रमा भएकाहरूलाई तलतिर झर्न समेत सुझाएकी छिन्।

शुक्रबार विहानैबाट भएको मौसम गडबढीमा भने फानीको प्रभाव नभएको उनको भनाइ छ। ‘आज भइरहेको मौसम गडबढीको कारण पश्चिमी वायुको प्रभाव हो, उनले भनिन्, ‘अहिले चलिरहेको हावाहुरी एक दुई घण्टासम्म बस्ने देखिन्छ।’

पश्चिमी वायु र फानीको केही प्रभाव परेकाले शुक्रबार दिउँसोको मौसममा गडबढी भएको र भारी वर्षाको संभावना रहेको उनले बताइन्।

उनका अनुसार चक्रवात ‘फानी’ हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै अवस्थित छ। आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओड़ीसा को तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने सम्भावना देखिएको छ। त्यसपछि त्यहाँको तट हुँदै बंगलादेशतर्फ फर्कनेछ। त्यसपछि फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जानेछ।

उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार ) मौसम प्रभावित हुने देखिन्छ। यसका साथै पूर्वी र मध्यका स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।

हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ। साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ। हिमाली भू भागमा पनि हिमपात को सम्भावना रहेको छ। आइतबारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको माहाशाखाले जनाएको छ।

यसका साथै पूर्वीहिमाली क्षेत्रमा भोलिसम्म हेलिकप्टर उडान रद्द गर्न सरकारले निर्देशन दिएकाे छ।

ताजा समाचार

सम्बन्धित समाचार