स्थानीय जातका बीउ संरक्षण गर्दै सामुदायिक बीउ बैंक

कावासोती – नवलपरासीको कावासोती नगरपालिका–१४ मा स्थापना गरिएको सामुदायिक बीउ बैंकले स्थानीय जातका बीउ संरक्षण गर्दै आएको छ। नौ वर्षअघि बीउ बैंक स्थापना गरी थालिएको संरक्षण प्रभावकारी बन्दै गएको छ। स्थानीय तह र विभिन्न सहयोगी संस्थाको पहलमा सामुदायिक बीउ बैंक स्थापना गरी स्थानीय जातका बीउको संरक्षण गर्न थालिएको हो।
उक्त बैंकमा अहिले धान, विभिन्न जातका तरकारी, दलहनबालीका बीउ संरक्षण गरिएको छ। उक्त बैंकले अहिले २६ स्थानीय जातका धानको बीउ संरक्षण हुँदै आएको छ। प्राय लोप हुने अवस्थामा पुगेका स्थानीय जातका धानका बीउ संरक्षण गरिएको संस्थाकी अध्यक्ष पार्वती भण्डारीले बताइन्।

घिउपुरी, झिनुवा, आ“प झोते, अनदी, चमेली, मिठाइ, छ्याङ्रा, कालो नुनिया, बास्मती, दुधराज, वार, सावित्रीलगायत २६ रैथाने जातका धानको बीउ संरक्षण गरिएको अध्यक्ष भण्डारीले बताए। उनका अनुसार उक्त बैंकमा स्थानीय धानका बीउसँगै स्थानीय तरकारीका बीउसमेत छन्। स्थानीय जातका फर्सी, घिरौला, सिमी, लौका, आलुबोडी, राजमा, करेलालगायत तरकारी र तोरी, स्थानीय जातका आँप लिची, अनारलगायत फलफूलको बीउसमेत संरक्षण गरिएको अध्यक्ष भण्डारीले बताइन्।

उक्त बैंकले जग्गा भाडामा लिएर आफैँ बीउ उत्पादन गर्दै आएको छ। धानको बीउ आफैँ उत्पादन गरिए पनि अन्य रैथाने प्रजातिका तरकारी, दलहनबालीको बीउ भने स्थानीय कृषकले उत्पादन गर्दै आएका छन्। बीउ बैंकबाट स्थानीय जातका बीउ लगेर उत्पादन गर्ने र उत्पादनपछि धेरै भएको बीउ पुनः बीउ बैंकमा बिक्री गर्ने गरिएको छ। बीउ बैंकबाट किसानले सस्तोमा बीउ प्राप्त गर्ने गरेका छन्। धेरै उत्पादन भएमा बीउ बैंकले कृषकबाट बीउ खरीद गरिदिने हुनाले केही कृषकले बीउ बेचेरै पनि आम्दानीसमेत गर्दै आएका छन्। बीउ बैंकले स्थानीय जातको धानको बीउ नियमितरूपमा अनमोल कम्पनीसँगै रुपेन्देही , लमजुङ, पोखरा, कैलाली, कञ्चनपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा निर्यातसमेत गर्दै आएको छ। जिल्लाकै स्थानीय बजारमा समेत बीउ निर्यात गर्दै आएको उक्त संस्थाकी अध्यक्ष भण्डारीले बताइन्।

“अन्य जातभन्दा रैथाने घिउपुरी, झिनुवा, आँपझोते अनदी जातका धानको बीउको माग धेरै आउँछ”, अध्यक्ष भण्डारीले भनिन्, यो अन्य जातको बीउभन्दा केही महङ्गो पनि छ। बीउ बैंक स्थापना भएसँगै यस क्षेत्रका केही किसानले व्यावसायिक रुपमा नै बीउ उत्पादन गर्दै आएका छन्। उनीहरुले स्थानीय जातका बीउ उत्पादन गरी विभिन्न जिल्लामा आफैँ निर्यात गर्दै आएका छन्। बीउ बैंक स्थापना भएर स्थानीय जातको बीउ संरक्षण र उत्पादनमा लागेसँगै यस क्षेत्रका किसानले प्रायः स्थानीय जातका बाली लगाउने गरेका छन्। स्थानीय जातका बालीमा रोगको प्रकोप कम देखिने र उत्पादनसमेत राम्रो हुँदै आएको सम्बद्ध कृषकको भनाइ छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार