काभ्रेमा बर्डफ्लुबाट एकको मृत्यु, निगरानी बढाउँदै स्वास्थ्य मन्त्रालय

काठमाडौँ – काभ्रेमा बर्डफ्लुका कारण एक जनाको मृत्यु भएको छ। काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको थियो।

मृतकलाई इन्फ्लुएन्जा रोगको सङ्क्रमण भएको आशङ्कामा त्यसको यकीन गर्न नमूना परीक्षणका निम्ति जापान पठाइएको र त्यसको परिणाम यही वैशाख १७ गते प्राप्त भएको जनाउँदै मन्त्रालयले उनको मृत्यु बर्डफ्लुबाटै भएको पुष्टि भएको बताएको छ।

मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको प्रावधानानुसार सो सम्बन्धमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय काठमाडौँस्थित विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालय तथा नेपाल देशीय कार्यालयलगायत निकायसँग सहकार्य थालेको बताएको छ।

मन्त्रालयले विहीबार प्रेस विज्ञप्ति जारी गरी उक्त रोगको सङ्क्रमण फैलिन नदिन निगरानी बढाउनाका साथै त्यसको विस्तृत अध्ययन थालिसकेको स्पष्ट गरेको छ। मन्त्रालयले बर्डफ्लुका लक्षणबारे सर्वसाधारणमा सूचनामूलक सामग्री प्रवाह गरिरहेको बताउँदै सो रोगबाट उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, मांशपेसी दुख्ने, प्रारम्भमा पेट र छाती दुख्ने र पखालासमेत लाग्न सक्ने बताउँदै जनाएको छ। उक्त रोगको सङ्क्रमण द्रुतगतिमा फैलिएर श्वास फेर्न कठिन हुने, निमोनिया र दमका लक्षण देखिने बताइएको छ। मन्त्रालयका अनुसार बर्डफ्लुबाट नेपालीको स्वदेशमै निधन भएको यो पहिलो घटना हो।

ताजा समाचार

सम्बन्धित समाचार