के मकालुमा यतीको पाइला भेटिएकै हो त ?

काठमाडौँ – भारतीय सेनाले रहस्यमय हिममानव ‘यती’ को पदचिन्ह भेटाएको दाबी गरेको छ । भारतीय सेनाले आफ्नो ट्वीटरमा नेपालको मकालु आधार शिविर नजिकै यतीको पाइला भेटिएको भन्दै तस्बिर सार्वजनिक गरेको हो।

भारतीय सेनाको आमसञ्चार विभागले उक्त तस्बिरहरू अप्रिल ९ मा खिचिएको यतीको पाइला भन्दै पोष्ट गरेको छ।

‘यती’ को पदचिन्हको लम्बाई ३२ इन्च र चौडाइ १५ इन्च रहेको जनाइएको छ । मकालु–बरुण राष्ट्रिय निकुञ्जमा पहिला पनि यती देखिएको भारतीय सेनाको दाबी छ।

भारतीय सेनाले ‘यती’को पदचिह्न भेटिएको भन्दै ट्वीटरबाट तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा यसको चर्चा शुरु भएको छ।

केही व्यक्तिहरूले यसलाई चुनावसँग पनि जोडेर ब्यङ्ग्य गरिरहेका छन्। भारतीय सेनाले ‘मजाक’ गरेको भन्दै अलोचना पनि बढिरहेको छ । साथै सेनाको विश्वसनीयता माथि पनि प्रश्न उठिरहेको छ।

तिब्बत र नेपालको काल्पनिक कथा अनुसार, एशियाको पहाडी क्षेत्रमा जीवित प्राणीहरू जस्तै राक्षसी बाँदरहरू बस्दै आएका छन्, जसलाई यती वा हिममानव भनिन्छ । यतिलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ। धेरैले यतीलाई प्रत्यक्ष देखेको दाबी गर्दै आए पनि ठोस प्रमाण पेश गर्न सकेका छैनन्।

ताजा समाचार

सम्बन्धित समाचार