Monday, April 28, 2025

अतिक्रमणमा परेका अन्य सार्वजनिक जग्गा खोज्दै महानगर

काठमाडौं- काठमाडौं महानगरपालिकाले अतिक्रणमा परेका सार्वजनिक स्थानहरुको पहिचान गरी हटाउने कार्यलाई तिव्रता दिइने बताएको छ ।

पछिल्लो समयमा सार्वजनिक स्थानहरु धमाधम अतिक्रमणमा परेको खबर सार्वजनिक भएपछि त्यसलाई तत्काल हटाउनु पर्ने दबावमा महानगर छ ।

खुल्लामञ्चको विवादपछि काठमाडौं महानगरले अतिक्रमणमा परेका सार्वजनिक स्थानलाई खाली गर्न विशेष पहल र योजनाहरू बनाउन शुरु गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले हाकाहाकीसँग बताए ।

“काठमाडौं महानगरमा खुल्लामञ्च बाहेकका अन्य धेरै सार्वजनिक ठाउँहरूमा पनि अतिक्रमण भएको जानकारी आएको छ” डंगोलले भने, “ति स्थानहरूको पहिचान गर्ने कार्यलाई महानगरले तिव्र पारेको छ ।”

“खुल्लामञ्च त अब खुल्ला नै भइहाल्यो” डंगोलले भने “ पुरानो बसपार्कमा भ्यू टावरको निर्माण नभएसम्म बसपार्क चाँहि खुल्लामञ्चमा नै राख्नुपर्ने हुन्छ ।”

“सम्झौता पत्रमा उल्लेख भएको कुरामा कम्पनीले हेलचक्र्याइँ गर्यो” प्रवक्ता डंगोलले भने, “सम्झौता विपरीत काम भएकाले महानगर सटर भत्काउन बाध्य भएको हो ।” अन्य सार्वजनिक स्थलहरुमा अब पार्क बनाउने महानगरको योजना छ ।

खुल्लामञ्च अतिक्रमण गरी निर्माण गरिएका सटरमा महानगरपालिकाले शनिवार डोजर चलाएका थियो । अवैध रुपमा निर्माण गरिएका ४० वटा सटरमाथि महानगरले डोजर चलाएको हो । खुलामञ्च अतिक्रमण गरी सटर निर्माण गरिएको भन्दै व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले डोजर चलाउने निर्णय गरेको थियो ।

भ्यू टावर निर्माणस्थल
झट्ट हेर्दा क्रसर उद्योग जस्तो देखिन थालेको छ, रत्नपार्क ‘पुरानो बसपार्क’ बहुप्रतिक्षित बहुतलीय बहुउद्देश्यीय टावर निर्माणस्थल ।

टावर निर्माणस्थलमा थुपारिएको छड, गिटी, रोडा लगायतका अन्य निर्माण सामाग्रीको थुप्रो देख्दा सर्वसाधारणलाई धमाधम निर्माण कार्य भइरहेको छ कि भन्ने पनि लाग्छ तर टिनको जस्ता पाताले घेरिएको निर्माणस्थलभित्र प्रवेश गर्दा निर्माण सामाग्रीको थुप्रोमा झार उम्रिएको देख्न पाइन्छ । डोजर र के्रन छन् तर तिनमा खिया लागिसकेको छ ।

स्तम्भ निर्माणका लागि महानगरपालिका र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबिच २०७१ फागुन २२ मा सम्झौता भएको थियो ।

ठेक्का आह्वान गरिएको थियो जसका लागि आठ कम्पनीले टेन्डर हालेका थिए । सबैभन्दा बढी रोयल्टी बुझाउन कबोल गर्ने जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले ठेक्का हात पार्यो । ठेक्का पाएपछि पनि टावर निर्माण विवादित नै बनेको थियो तर २०७२ भदौमा महानगरले १२ तले भवनको नक्सा पास गरिदियो । तीन वर्षमा भवन बनाइसक्ने सम्झौता गरियो । सोहि वर्षको कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले टावरको शिलान्यास पनि गरिदिए ।

टावर निर्माण कार्य शुरु गरिएको ४ बर्ष पुरा हुँदा पनि बहुप्रतिक्षित बहुतलीय बहुउद्देश्यीय टावर भवनको प्रत्यक्ष देखिने गरि कुनै पनि काम भएको छैन ।

साँघुरिएको खुल्लामञ्च
थुपारिएको माटो, फोहोरको डङ्गुर, अव्यवस्थित पार्किङ, प्वाल परेका टिनका जस्ताले बारिएको खुल्लामञ्चको स्वरुप दिन प्रति दिन कूरुप बन्दै गएको छ । पूरानो बसपार्क भएको ठाँउमा टावर निर्माण गर्ने भएपछि खुल्लामञ्चमा सारिएको हो । तर यो स्थल भूकम्प गएपछि दरबारहाई हाई स्कूलको सामान र बसर्पाकको लागि प्रयोग हुँदै आएको छ ।

ललितपुर महानगरपालिकाको योजना 
ललितपुर महानगरपालिकाले आफ्नो नगर भित्र भएका सार्वजनिक ठाउँहरूको पहिचान गर्न सबै वडाहरूमा निर्देशन दिएको छ । सार्वजनिक स्थानहरुलाई हरियालि बनाउने ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

“सबै वडाहरुलाई सर्वजनिक स्थानको पहिचान गर्न निर्देशन दिइएको छ” उनले भने “ति स्थानहरुको पहिचान भएपछि हाम्रा योजनाहरु कार्यान्वयन गछौं । ” उनका अनुसार ललितपुरको सबै वडामा एउटा पार्क बनाउने योजनामा महानगर छ ।

हरिसिद्धिमा रहेको सर्वजनिक स्थानलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने गृहाकार्य भइरहेको उनको भनाई छ ।

लगनखेलमा रहेको ऐतिहासिक ‘न्हूँ पोखरी’लाई संरक्षण गर्ने महानगरको प्रमुख लक्ष्य रहेको छ । पोखरीको आसपासका भएका सटरहरूलाई भत्काएर पोखरीको निर्माण व्यवस्थित गर्ने महर्जनले बताए ।
“न्हूँ पोखरीको संरक्षणको लागि गुरूयोजना हामीले बनाइरहेको छौं” उनले भने “हाम्रो संस्कृति त बचाउछौं नै त्यसलाई थप आकर्षित पनि बनाउछौं ।”

पोखरीको संरक्षणका लागि नगरले पचास हजार रुपैयाँ विनियोजन गरिसकेको बताउँदै महर्जनले भने “हामी सक्दो छिटो काम शुरु गछौं । ”

त्यसैगरी दुई सय रोपनीमा रहेको बालकुमारी क्षेत्रलाई पनि थप व्यवस्थित बनाउने तयारी भइरहेको उनले जनकारी दिए ।

खुल्ला स्थानहरु संरक्षण हुनुपर्ने भन्दै महानगर त्यसको संरक्षमा प्रतिबद्ध रहेको महर्जनको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार