काठमाडौँ- काठमाडौँ उपत्यकाको मुटुमा रहेको खुल्लामञ्च क्षेत्रमा विभिन्न बहानामा भइरहेकोे अतिक्रमण र त्यसमाथि उठेका क्रियाप्रतिक्रिया र उपत्यकाको जैविक विविधताको लागि महत्वपूर्ण मानिने चन्द्रागिरीमा बनाइएको रिसोर्टलगायत उपत्यका वरपरका सार्वजनिक जग्गा र खुल्ला क्षेत्रमा भइरहेको अतिक्रममण र दोहनको बारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल वातावरण पत्रकार समूह(नेफेज) ले जनाएको छ ।
समूहका अध्यक्ष कसमस विश्वकर्माद्धारा आइतवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘कुनैपनि सहरको सौन्दर्य बढाउन खुल्ला ठाउँहरुको महत्वपूर्ण भूमिका हुन्छ । भूकम्पीय जोखिमको पाटोबाट पनि काठमाडौं लगायतका सहरहरुको सहरीकरण भूकम्प प्रतिरोधी हुनु आवश्यक छ भन्ने हामीले २०७२ सालको भूकम्पको बेला नै महशुस गरेका हौं ।’
यस्तो छ विज्ञप्तिको पूर्ण अंश:
काठमाडौं उपत्यकाको मुटुमा रहेको खुल्लामञ्च क्षेत्रमा विभिन्न बहानामा भइरहेकोे अतिक्रमण र त्यसमाथि उठेका क्रियाप्रतिक्रिया र उपत्यकाको जैविक विविधताको लागि महत्वपूर्ण मानिने चन्द्रागिरीमा बनाइएको रिसोर्ट लगायत उपत्यका वरपरका सार्वजनिक जग्गा र खुल्ला क्षेत्रमा भइरहेको अतिक्रममण र दोहन बारेमा नेपाल वातावरण पत्रकार समूहको गम्भीर ध्यानाकर्षण भएको छ ।
कुनैपनि सहरको सौन्दर्य बढाउन खुल्ला ठाउँहरुको महत्वपूर्ण भूमिका हुन्छ । भूकम्पीय जोखिमको पाटोबाट पनि काठमाडौंलगायतका सहरहरुको सहरीकरण भूकम्प प्रतिरोधी हुनु आवश्यक छ भन्ने हामीले २०७२ सालको भूकम्पको बेला नै महशु्श गरेका हौं । घना आवादी वरपर रहेको खुल्लामञ्च जस्ता खाली ठाउँहरुले विगतमा सर्वसाधारणलाई विपत्तिको बेला आश्रय दिएको थियो र भविष्यमा पनि यसको आवश्यकता उत्तिकै छ । तर विभिन्न बहानामा खुल्लामञ्च जस्तो क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि दिने, सटरहरु निर्माण गरी व्यापार व्यवसाय गर्ने कार्य कदापि स्वीकार गर्न सकिन्न । रत्नपार्कमा रहेको बसपार्कमा बहुतले भवन बनाउने काठमाडौं महानगरपालिकाको योजनाले काठमाडौंबासीको भविष्यमाथि खेलवाड गर्ने भएकोले त्यसलाई तत्काल बन्द गर्न समूहले विगतदेखि नै आवाज उठाउँदै आएको छ । नागरिक समाजको आवाजलाई कुन्चेर बहुतले भवन बनाएर व्यापार व्यवसाय गर्ने कार्य निन्दनीय छ । खुल्लामञ्चको अतिक्रमण त्यसैको निरन्तरता हो । यसपटक नागरिक दवावका कारण सटरहरु भत्काइएपनि खुल्लामञ्च विभिन्न व्यापारिक प्रयोजनमा उपयोग भइरहेको छ ।
अतः नेपाल वातावरण पत्रकार समूह खुल्लामञ्चमा विद्यमान बसपार्क, कर्मचारी आवास, स्टोरलगायतका सबै संरचनाहरु तत्काल हटाएर सार्वजनिक रुपमा भेला हुने, संवाद गर्ने, टहल्ने ठाउँकै रुपमा राख्न सरकार, काठमाडौं महानगरपालिका र सम्बद्ध सबै सरोकारवालाहरुसँग माग गर्दछ । पञ्चायतकालीन नियन्त्रित राजनीतिक परिवेशमा पनि यो ठाउँ खुल्ला थियो । अहिलेको खुल्ल्ला समाजमा यस्ता ठाउँहरुलाई नियन्त्रण गरेर व्यापार व्यवसाय गर्नु नितान्त गैर जिम्मेवार कार्य हो । सहरको सौंन्दर्य खुल्ला ठाउँको संरक्षणमा लाग्नुपर्ने स्थानीय सरकार, सेनालगायतका निकायहरु त्यस्ता ठाउँ खोजी खोजी संरचना बनाउने कार्यमा लाग्नु आफैमा दुःखद हो ।
त्यसैक्रममा चन्द्रागिरीलगायतका ठाउँहरुमा पनि वातावरणीय प्रभाव मूल्यांकनको प्रतिकुल व्यापारिक संरचना बनाइएको तथ्यहरुका बारेमा पनि सरकारले बेलैमा सचेतता अपनाइ भावी सन्ततिका लागि खुल्ला ठाउँको सुनिश्चितता र वातावरण संरक्षणमा सजगताका लागि ध्यानाकर्षण गराउँछौं । साथै, यहाँको पर्यावरण तथा सार्वजनिक क्षेत्रमाथिको दोहनको बारेमा निरन्तर आवाज उठाउन सञ्चार माध्यम, नागरिक समाज र सचेत नागरिकहरुमा अपिल गर्दछौं ।