काठमाडौँ – काठमाडौँ महानगरपालिका १६ अन्तर्गत पर्ने ढुंगेधारादेखि नर्सरी चोकसम्मको बाटो बिग्रेको एक वर्षसम्म पनि नबन्दा सर्वसाधारण सास्ती खेप्दै आएका छन्।
गत वर्षदेखि बाटो विस्तारका लागि भन्दै भत्काइएको बाटो हालसम्म पनि नबन्दा उक्त सडक भएर आवतजावत गर्ने यात्रु मर्कामा परेका हुन्।
६०० मिटर लामो उक्त बाटो एक वर्ष बित्नै लाग्दापनि नबन्दा सर्वसाधारण चिन्ति भएका छन् । बाटो विस्तारका लागि भन्दै भत्काएपछि अहिले उक्त सडक घाम लागे धूलाम्मे र पानी परे हिलाम्मे हुँदै आएको छ । यसरी बाटाे बिग्रदा उक्त बाटो हूंदै रानीवन तर्फ जाने सवारी साधन अर्कै बाटाे हिड्न बाध्य भएका छन्। जसको कारण प्रभावित क्षेत्रका सर्वसाधारण सवारी साधनको प्रयोगबाट बञ्चित भएका छन्।
अन्य स्थानबाट पसलमा सामान ल्याउन, स्कूल कलेज जान, तरकारी लिन जान तथा सामान्य भन्दा सामान्य कार्य गर्न पनि निकै अप्ठ्यारो भएको स्थानीयवासीको गुनासो छ । विगत दुई वर्षदेखि ढुंगेधारामा बसेर व्यवसाय गर्दै आएका माधव खतिवडा बाटाे बिग्रेकै कारण मानिसहरूलाई हिड्न असहज भएपछि व्यापार गर्नै गाह्रो भइरहेको बताउँछन् । ‘यहाँको धूलोले सामान खराब गर्नेदेखि स्वास्थ्यमा समेत नराम्रो असर गरिरहेको छ,’उनले भने।
उक्त बाटोका कारणे स्थानीयवासी मात्रै नभइ विद्यार्थी तथा पैदल यात्री तथा सवारी चालकलाई पनि उत्तिकै असर पारेको छ। ‘बाटाे साँघुराे छ, त्यसमाथि कहिले हिलो त कहिले धूलो, निकै चूनौती लिएर गाडी कुदाउनुपर्ने बाध्यता छ,’ उक्त रूटमा माइक्राे चलाउँदै आएका चालक बलवीर बलामीले भने । बलामी भन्छन्, ‘लामो समयसम्म पनि बाटाे नबन्दा अर्कै रूटबाट गाडी चलाउने गरेका छाैँ । अर्काे रूटबाट जाँदा अलि घुमाउराे भएकाले सर्वसाधारणलाई उचित समयमा सेवा दिन सकिरहेका छैनाैँ। एउटै रूटको बाटाेमा दुई ठाउँकाे गाडी चलिरहेकाे छ । त्यसले गर्दा दुर्घटनाकाे संभावना पनि बढ्दै गएकाे छ ।’
करिब एक कराेड सत्ताइस लाख लगानीमा बनाउन लागिएको उक्त बाटाेमा खानेपानी, टेलिफाेन, बिजूली तथा सडक बत्तीको काम पुरा भइसकेको ऐराहिटी टाेल विकास समितिका अध्यक्ष, वि.पी ढकाल बताउँछन्। सम्बन्धित ठेकदार कम्पनीले चिठी बूझिसकेको र सम्झौता हून लागेकोले एक हप्ता भित्रमा नै कालाेपत्रेकाे काम शुरू हुने उनकाे भनाइ छ ।
सम्बन्धित ठेकेदार कम्पनीसँग सम्झौता हुन बाँकी रहेको खरिद एकाई प्रमूख देवेन्द्र पोख्रेलले जानकारी दिए । ‘सम्झौता लगत्तैआउँदो सोमबार देखि नै काम शुरू गर्ने महानगरको तयारी रहेको छ,’ उनले भने। सुनिता सुवेदी/प्रशिक्षार्थी पत्रकार





