गोरखा– सभामुख कृष्ण बहादुर महराले गोरखा दरबारको पुनः निर्माण छिटो सक्न निर्देशन दिएका छन् । शुक्रबार बिहान गोरखा दरबारको निरीक्षणको क्रममा उनले पुनःनिर्माणको कार्य सुस्त गतिमा भन्दै काममा कुनै पनि ढिलासुस्ती नगर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका हुन्।
उनले ऐतिहासिक महत्त्व रहेको गोरखा दरबारको मौलिक संरचना कत्तिपनि नबिग्रने गरी पुनःनिर्माण गर्न आग्रह गर्दै गोरखा दरबारको संरक्षण संवद्र्धन र प्रवद्र्धनमा सरकार, स्थानीय निकाय र सरोकारवाला सबैको चिन्ता र चासो हुनुपर्ने बताए । गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सवै लागि पर्नुपर्ने उनको भनाइ छ । यसैबीच सभामुख महराले गोरखा संग्रहालयको समेत अवलोकन, निरीक्षण गर्नुभई पुरातात्विक महत्त्वका सम्पदाहरूको संरक्षणमा सबै लागि पर्नुपर्ने बताए।
अवलोकन कार्यक्रममा सभामुख महराका साथ प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, प्रतिनिधि सभा सदस्य हरीराज अधिकारी, संविधानसभा सदस्य कृष्ण धिताल, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, गोरखा दरबार, गोरखा संग्रहालयका कर्मचारीहरुको सहभागीता रहेको थियो।





