जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–७ सुर्की स्थित मालिकी जडीबुटी सङ्कलन केन्द्र प्रयोगमा नआउँदा जीर्ण बन्दै गएको छ।
२०७३ जेठ २३ गते सम्झौता भई ०७३ असार २० गते जम्मा चार लाख ८६ हजार ८८८ रुपैयाँ ८५ पैसामा उक्त आयोजना सम्पन्न भएको थियो। जडीबुटी सङ्कलन केन्द्र प्रयोगमा आउन नसक्दा भवन जीर्ण बन्दै गइरहेको हो।
त्यस क्षेत्रमा उपलब्ध हुने जडीबुटी सङ्कलन तथा व्यवस्थापन गरी सामूहिक बजारीकरणमा सहयोग गर्ने उद्देश्यका साथ भवन निर्माण गरिएको थियो तर प्रयोगमा नआउँदा जडीबुटी सङ्कलन गर्ने स्थानीय व्यापारीबाट ठगिने गरेका छन्।
साविकको ताम्ती गाविसका स्थानीय जडीबुटी सङ्कलनबाटै जीवन धान्दै आएको, तातोपानी–७ सुर्कीका युवा मानबहादुर रावतले भने। उनका अनुसार त्यस क्षेत्रका स्थानीयले विशेष गरी सेतोचिनी, घुच्ची च्याउ, यार्सागुम्बा, धूपी, सतुवा, वनलसुनजस्ता जडीबुटी सङ्कलन गर्ने गर्दछन्। मूल्यमा एकरुपता ल्याउन सके यस क्षेत्रका स्थानीयवासीका लागि उपयुक्त हुने उनको बुझाइ छ। तर सामग्रीको अभावमा केन्द्रलाई प्रयोगमा ल्याउन नसकिएको मालिकी जडीबुटी सङ्कलन उपभोक्ता समितिका अध्यक्ष आईते रावतले बताए।





