काठमाडौँ – काठमाडौँ महानगर क्षेत्रभित्रका ४ वटा विश्व सम्पदामध्ये २२ सय मिटरदुरीमा रहेका स्वयम्भू र हनुमानढोका दरबार क्षेत्र जोड्ने सम्पदा मार्गको गुरुयोजना र यस सम्बन्धी विवरण भएको मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ।
विश्व सम्पदा दिवस २०१९ को सन्दर्भ पारेर महानगरको सम्पदा तथा पर्यटन समितिले बिहीबार गुरुयोजना र मोवाइल एप सार्वजनिक गरेको हो।
गुरुयोजना सार्वजनिक गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जीवन्त सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेपछि स्थानीयको जीविकोपार्जनमा सुधार हुने बताए। ‘सम्पदा संरक्षण र व्यवस्थापन कार्य स्थानीयको दैनिकीसँग जोड्ने हाम्रो चाहना हो,’ उनले भने, ‘अनुपम कला कृतिको अवलोकनका लागि आन्तरिक पर्यटकको सम्भावना पनि प्रवल छ ।’ गत वर्ष ७ दिनको तयारीमा कार्यक्रम बताउँदै उनले यस वर्ष गुरुयोजना तयार भएपछि, योजना कार्यान्वयनको चरणमा पुगेको धारणा राखे ।
मूर्त एवं अमूर्त सम्पदाहरूको पहिचान, पुस्तान्तरण तथा सम्वद्र्धनका लागि अघि सारिएको उक्त कार्यक्रममा महानगरका वडा १५, १८, १९, २०, २३ र २४ समेटिएका छन्। यी वडा भएर जोडिने विश्व सम्पदा क्षेत्रको २.२ किलोमिटर दुरीभित्र करीब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिने छ।
कार्यक्रमपछि सहभागीहरुले सिंहसत्तलमा आयोजना गरिएको चित्रकला प्रदर्शनी अवलोकन गरेका थिए। गुरुयोजना सार्वजनिक हुनुअघि भएको सम्पदा र्याली, मूल समारोह तथा चित्रकला प्रदर्शनी भएको थियो । उक्त कार्यक्रममा महानगरप्रमुख शाक्यसँगै नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्य, प्रदेश सभा सदस्य राजेश शाक्य, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यहरुसँगै स्थानीय सम्पदा प्रेमी र साझेदारहरुको सहभागिता थियो।
हरेक वर्ष अंग्रेजी महिनाको अप्रिल १८ तारिख इन्टरनेशनल डे फर मोनुमेन्ट्स एण्ड साइट्स अर्थात् विश्व सम्पदा दिवसका रुपमा मनाउने गरिन्छ। यस वर्षको सम्पदा दिवस ‘सराउण्डिङ् रुलर ल्याण्डस्केप’ भन्ने नारासहित मनाइएको छ।
विश्व सम्पदा दिवसकै अवसरमा गत वर्ष वैशाख २ गते पनि सम्पदा मार्गमा यसरी नै पदयात्रासहित कार्यक्रम सञ्चालन गरिएको थियो।
यस्ताे छ सम्पदा पदमार्गको रुट :
हनुमानढोका — काष्ठमण्डप — मरु गणेश — मरु हिटी — सन्तानेश्वर महादेव — मरुबही — मिच्याः गल्ली — बन्जाः हिटी — साः (तेल मिल) — चस्वांद्वँ — दमाइ टोल — सुन्ता गल्ली — पाछै गल्ली — नरदेवी द्यःछेँ — आयुर्वेदिक अस्पताल — सामुदायिक (लोकेश्वर) गल्ली — बुरांखेल — म्येछ्यों हिटी — तप्यँताँ — रञ्जित मल्ल सतः घाट — भेलु महादेव — डल्लु चौतारा — निपु हिटी (भीमसेन मन्दिर) — धिमे ल्वहं — चारा हिटी — भुइखेल हुँदै स्वयम्भू ।





