काठमाडौँ – पछिल्लो समय काठमाडौँका विभिन्न सडकमा गाई, गोरु, बाच्छालगायतका चौपायाहरू त्यतिकै छोड्ने क्रम बढेको छ ।

चौपायामध्ये सडकमा धेरैजसो गाई देखिन्छ। यसका साथै बाच्छाबाच्छी र गाई पछ्याउने साँढेले सडक ढाकेर हिँड्दा ट्राफिक व्यवस्थापन गर्न र यात्रुलाई बाटो काट्न समस्या पर्दै आएको छ ।
दुध दिउञ्जेल गाई घरमा बाँध्ने र थाकेपछि बाच्छाबाच्छीसहित खुला छाडिदिने प्रचलनले समस्या बढाएको हो। सडक र बजारक्षेत्रमा छाडा छोडिएका चौपाया व्यवस्थापनमा सम्बन्धित व्यक्ति आफैँ सचेत हुनु राम्रो विकल्प हो ।तर, अहिलेसम्म कानूनी कारवाही अघि नबढाउँदा चौपाया छाडा छाड्ने क्रम झन बढ्दै गएको छ ।
चौपाया जथाभावी छोड्दा ट्राफिक व्यवस्थापनमा समस्या परेको, सडकमा दुर्घटना बढेको, दुर्घटनामा ती पशुचौपायाको समेत मृत्यु हुने गरेकाले पशुचौपायाको उचित व्यवस्थापनको प्रबन्ध राज्यले गर्नुपर्ने सर्वसाधारणको भनाइ छ।
देशको विभिन्न स्थानमा दुध व्यवसाय गर्नेहरूले गाईले दुध दिन छाडेपछि पाल्नुको सट्टामा बाटोमा ल्याइ छाडिदिने र गोरुले जोत्न नसक्ने भएपछि बाटोमा वा अन्य स्थानमा छाडीदिने क्रम बढेको छ ।












