काठमाडौँ – पेरिसको नोट्र–डाम क्याथेड्रल चर्चमा सोमबारबाट शुरु भएको भीषण आगलागी झण्डै नौ घण्टापछि नियन्त्रणमा आएको छ।
स्थानीय समयअनुसार सोमबार साँझ पौने सात बजे लागेको आगोले उक्त चर्च पुरै ध्वस्त बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।
आगो निभाउन ४०० जना अग्नी नियन्त्रक झण्डै नौ घण्टा लागेकाे र उक्त क्रममा एक अग्नी नियन्त्रक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
आगोले चर्चकोे शिखरका साथै रङ्गीन सिसाका झ्यालहरू र काठका सजावटलाई ध्वस्त बनाउनुका साथै पुरै भवन जलाएको छ।
आगलागीको कारण भने अझै खुल्न सकेको छैन्। यो चर्चको मर्मतसंभारको काम चलिरहेको हुनाले आगलागी भएको हुनसक्ने आशंका त्यहाँका अधिकारिहरूले गरेका छन्।
ढुङ्गाहरू चर्किन थालेपछि उक्त भवन भत्किन सक्ने आशङ्कामा त्यसको जीर्णोद्धार थालिएको थियो । धेरै पुरानो भएका कारण पनि भवनको अवस्था निकै नाजुक बन्दै गएको अधिकारीहरू बताउँछन्।
फ्रान्सका राष्ट्रिपति इमानुएल माक्रोलले चर्चको आगलागी पीडितप्रति समवेदना व्यक्त गरेका छन् भने चर्चको पुनःनिर्माण गरिने बताएका छन् ।
फ्रान्सको अरु नागरिक जस्तै आफू पनि सो घटना दुखत् भएको भन्दै राष्ट्रपति माक्रोनले आफ्नो देशको एक महत्त्वपूर्ण भाग जलेको देख्दा आफूलाई गाह्रो भएको बताए । साथै उनले अग्निनियन्त्रकहरूको साहस र व्यवसायिकताको प्रशंसा समेत गरे।
राष्ट्रपति भवन श्रोतका अनुसार आगो लागेको खबरपछि राष्ट्रपतिले पहिला नै तय भएको देशको नागरिकहरूलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित गरेका छन्।
चर्चसँग सम्बधित एक प्रवक्ताले आगो भवनको सबै ठाउँमा फैलिएको बताएका छन्।आगलागी भएको क्षेत्रमा केही पनि बाँकी नभएको र चर्चको महत्त्वपूर्ण भाग सुरक्षित छ या छैन जाँच्न बाँकी रहेको उनले बताए।
आगलागीको कारणको अध्ययन गर्नको लागि समिति गठन गरिएको छ। पेरिसको सभ्यतालाई नोट्र–डाम क्याथेड्रल चर्चसँग पनि तुलना गर्ने गरिएको थियो।
फ्रान्सको एक महान साहित्यिक कृतिको नाम पनि यो भवनको नामबाट राखिएको छ । विक्टर ह्यूगोको ‘द हन्चब्याक अफ नोट्र–डाम’ लाई नोट्र–डाम द पेरिसको नामले पनि चिनिने गरिन्छ। फ्रान्सको क्रान्तिको बेला यो भवनमा निकै ठूलो क्षति भएको थियो । यो भवन पहिलो र दोश्रो विश्वयुद्धको साक्षी पनि हो।
आगलागीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उड्ने पानी ट्याङरबाट आगो नियन्त्रण गर्न सल्लाह दिएका थिए।





