Monday, September 30, 2024

माहुरीपालन : आम्दानीसँगै संरक्षण

डडेल्धुरा–आलिताल गाउँपालिकाको वडा नं. १ चुडापानीमा पर्छ यज्ञ बोहोराको घर । उनको घर वरिपरि माहुरीका घार छन् । अधिकांश जमिन भने बाँझै छ । सानो करेसामा केही तरकारी लगाइएको छ । उनी खेतीमा लगानी धेरै हुने तर उत्पादन कम हुने भएकाले जमिनबाँझै राखेर माहुरीपालन गर्न थालेको बताउँछन् ।

‘यसमा धेरै लगानी  छैन । काम गर्न सजिलो छ । आम्दानी भने राम्रो हुन्छ,’ उनले भने । बोहोराको घरमा १९ घार माहुरी छन् । उनी व्यावसायिक रूपमा महको उत्पादन गर्छन् । माहुरी पालनका लागि बोहोरासँगै स्थानीयहरूले विभिन्न तालिम र जिल्ला कृषि विकास कार्यालयबाट अनुदानमा आधुनिक घारहरूसमेत पाएका छन् । ‘हामीलाई नेपाल सरकारले घारहरू अनुदानमा दिने गरेको छ । बेला–बेला तालिम पनि पाउने गरेका छौँ,’बोहोराले भने ।

छेउमा चिउरीका ठूला ठूला रुखहरू छन् । चिउरी कार्तिकदेखि माघसम्म फुल्छ । यो माहुरीका लागि सबै भन्दा अनुकूल सिजन हो । यति माहुरीले चरनका लागि टाढा जानुपर्दैन । चिउरी लामो समयसम्म फुल्ने कारण पनि यो समयमा बढी उत्पादन हुन्छ । ‘मुख्य सिजन भनेको चिउरी फुल्ने सिजन नै हो । कार्तिकदेखि पुससम्म हुन्छ । चिउरीमा ९० प्रतिशतसम्म रस पाइन्छ । अन्य सिजनमा धेरै खालका फूलहरू फुल्छन,’बोहोराले भने ।

पहिले पहिले यहाँ परम्परागत रूपमा काठको गोलो डुँडमा (घार) माहुरी पालिन्थे । विष्णु जोशीको घरमा पनि उनका बुबाले परमम्परागत घारमा माहुरी पालेका थिए । अहिले विष्णुले आधुनिक रूपमा व्यावसायिक माहुरी पालन गरिरहेका छन् । आयका लागि वैदेशिक रोजगारीमा गएर फर्केका जोशीले अहिले घरै बसेर राम्रो आम्दानी गरिरहेका छन् । ‘मैले मलेसियामा चाइनिज कम्पनीमा काम गरेँ । त्यहाँ गरेको मेहनत त सबै चाइना गयो । अहिले यहाँ आएर मौरी पालेको छु। आम्दानी राम्रो छ । म खुसी छु,’ विष्णुदत्त जोशीले भने ।

जोशीले अहिले मह मात्रै हैन माहुरी पनि उत्पादन गर्ने गरेका छन् । उनले माहुरी पालनका लागि आवश्यक आधुनिक घार पनि घरैमा बनाउँछन् । यो क्षेत्रका धेरै मानिसले उनीबाटै घार तथा माहुरी लैजाने गरेका छन् । जोशीलाई स्थानीयतहले सहयोग गर्ने हो भने गाउँमा सबैलाई माहुरी कृषक बनाउन सकिन्छ भन्ने लागेको छ । यसो गर्न सके गाउँमा सबैको आर्थिक अवस्थामा सुधार आउन सक्छ । स्थानीयतहले मौरी नहुनेलाई मौरी दिनु परो । घार नहुनेलाइ घार दिनु परो जोशीले भने, ‘केही नहुनेलाई आर्थिक सहयोग दिनु प‍¥यो । स्थानीयतहले नै त सहयोग गर्ने हो नि । हामीलाई अरू कसले गर्छ ।

’आधुनिक घार माहुरीलाई मह बनाउन सहिलो हुने गरी बनाइएको हुन्छ । दुई वटा खण्ड हुने यो घारमा पहिलो खण्डमा बच्चा बन्छन् । यो खण्डलाई छाउरा कक्ष भनिन्छ । माथिल्लो खण्डमा भने मह बन्छ । यस्तो घारबाट मह निकाल्दा माहुरीलाई कुनै असर पर्दैन । मह काड्नका लागि पनि आधुनिक भाँडाको प्रयोगहुने गरेको छ । यस्ता सामग्रीमा मह काड्दा चाकामा असर पर्दैन । चाका बिग्रिएन भने माहुरीले चाँडै मह बनाउसक्छ ।

माहुरीलाई सजिलो होस् भनेर कृषकहरूले तयारी चाका पनि राखिदिने गरेका छन् । यसका कारण माहुरीको आधा काम सजिलो हुन्छ र चाँडै मह तयार हुन्छ । एउटा घारमा तीन किसिमका माहुरी हुन्छन् । कर्मी, भाले र रानी । कर्मी माहुरीले रस सङ्कलन गरी मह उत्पादनको काम गर्छ भने भाले र रानीले बच्चा उत्पादन गर्ने काम गछर्न् । घारमा धेरै माहुरी भए पछि छुटिन्छन् । छुटिनको लागि पहिले भाले माहुरी र त्यस पछि रानी माहुरी तयार गरिन्छ । घारमा भएको चाकामा भाले र रानी माहुरीको लागि फरक कोष बनाइएको हुन्छ । भाले माहुरी तयार हुन २२ दिन र रानी १५ दिनमा तयार हुन्छन् । यसरी नयाँ रानी तयार भए पछि पुरानो रानीले घार छाडेर जान्छ ।

यसरी छुटिएको माहुरीलाई अर्को घारमा सारिन्छ । सारेको ७ दिनपछि नै रानी माहुरीले बच्चा उत्पादनको काम थाल्छ । कर्मी माहुरीले मह बनाउन थाल्छ । यहाँका किसानहरू खेती बालीका लागि आवश्यक पानीको अभावका कारण माहुरीपालनमा आकर्षित भएका हुन् । पछिल्लो समय तापक्रममा बृद्धि र वर्षामा आएको परिर्वतनले समस्या भएको छ ।‘फागुनमा फुल्नु पर्ने फूलहरु पुषैमा फुल्छन् । कहिले चिउरी पनि छिटै फुल्छ । अघिल्लो साल चिउरी फुलो रसै थिएन । अब अहिले फागुनसम्म पनि फुलि रहेको छ,’जोशीले भने । पछिल्लो दशकमा यो भेगका मानिसहरूले वर्षामा भएको परिर्वतनको प्रत्यक्ष अनुभव गरी रहेका छन् । वर्षामा आएको परिर्वतनका कारण नै मानिसहरूको जीवन संकटग्रस्त हुँदै छ।

माहुरी सन्तुलित वातावरणको सूचक हो । माहुरी मासिन थाल्यो भने मानिसको जीवन सङ्कटमा पर्दैछ भनेर बुज्नु पर्छ भन्ने भनाई नै छ । त्यस कारण पनि माहुरी फस्टाएको स्थानलाई पर्यावरणीय रूपमा स्वस्थ मानिन्छ । माहुरी वैज्ञानिक किरा पनि मानिन्छ । यसले तापक्रम हेरेर बासस्थान परिवर्तन गर्ने गर्छ । व्यावसायिक रूपमा माहुरीपालन गरिरहेका यहाँका किसानका लागि चरनको  समस्या हुन थालेको छ । चरनको मुख्य स्रोत चिउरीका पुराना रुख मात्रै छन् । नयाँ विरुवा हुर्काउन सकिएको छैन । अब माहुरीको चरनको व्यवस्था गर्न सकिएन भने यो व्यावसाय पनि सङ्कटमा पर्ने चिन्ता कृषकको छ ।

‘नयाँबोट एउटा पनिछैन । सबै पुराना हुन् । लड्न थाले । यस्तै हो भने त पाँच वर्षपछि सबै सकिन्छ । जमिन सबै बाँझै छ । सरकारले जमिन बाँझो राख्न पाइँदैन भन्छ,’ जोशीले भने, ‘के गर्ने त भन्नु परो नि पानी नभएको ठाउँमा पानी चाइयो । कस्ता बोट विरुवा रोप्ने हो  भन्नु परो नि ।’ तालिम दिने सरकारी तथा गैरसरकारी संघसंस्थाले पनि माहुरी पालनका प्राविधिक ज्ञान मात्रै दिने गरेका छन् । तालिम दिँदा चरन क्षेत्रको विकास र संरक्षणका बारेमा आवश्यक ज्ञान पनि दिनु पर्छ भन्ने कृषकको माग छ ।

माहुरी र मानिसको जीवनबीचको सम्बन्ध अन्योन्याश्रित छ । माहुरीले वनस्पतिको पराग सेचनमा महत्वपूर्ण भूमिका खेल्छ । यसका कारण अनाजमा दानालाग्ने गर्छ । यस्ता कारणहरूले वातावरणमा सन्तुलन कायम राख्न सहयोग पुग्छ। ‘पर्यावरणको संतुलनका लागि माहुरीले सहयोग गर्छ । मानिस र माहुरी एक अर्काका परिपूरक जस्तै हुन,’ यज्ञ बोहोराले भने,‘पराग सेचनका लागि माहुरीले महत्वपूर्ण भूमिका खेल्छ ।’ माहुरीपालनका कारण यो क्षेत्रमा विषादी प्रयोग गर्न पाइँदैन । वातावरणीय रूपमा यो स्थान माहुरीका लागि अनुकूल छ । त्यसैले माहुरी पालन गर्ने किसानलाई सरकारले विभिन्न किसिमका सहयोग गर्ने गरेको छ ।

‘हामी यहाँबाट मौरीको हेरचाह गर्ने तालिम दिन्छौँ । घार बनाउने, मौरीमा रोग लाग्यो भने उपचार गर्ने तालिम दिन्छौँ । हामी स्थानीयलाई व्यावसायिक रूपमा मौरी पाल्न प्रोत्साहन गछाँै ।’ मौरीपालन तथा मह प्रशोधन वस्तु विकास केन्द्रका प्रमुख धनबहादुर धानुकले भने । स्थानीय सरकारले पनि माहुरी पालनलाई प्रोत्साहन गर्न गाउँपालिकालाई नै विषादी मुक्त बनाउने योजना बनाएको छ । ‘हामीले मौरीपालनलाई प्रोत्सान गर्न विषादी मुक्त गाउँपालिका बनाउँदैछौँ । अनुदानका कुराहरू पनि छन् । हाम्रो गाउँपालिका महको पकेट क्षेत्र बनाउने हाम्रो तयारी छ,’ आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ्ले भने ।

ताजा समाचार

सम्बन्धित समाचार