Tuesday, October 1, 2024

पूर्वी तराईमा चलेको हावाहुरीको गति प्रतिघण्टा ५५ किलोमिटर अनुमान

काठमाडौं–पूर्वी तराईका जिल्ला बारा र पर्सामा २७ जनाको ज्यान जाने गरी आइतबार बेलुका चलेको हावाहुरीको गति प्रतिघण्टा ४५ देखि ५५ किलोमिटर रहेको प्रारम्भिक अनुमान गरिएको छ।

‘यो हावाहुरी स्थानीय वायुको प्रभावका कारण उत्पन्न भएको देखिन्छ,’ जल तथा मौसम विज्ञान विभाग, नागपोखरीका महानिर्देशक सरजुकुमार वैद्यले भने, ‘हावाहुरीको गति कति थियो भनेर यकिन भइसकेको छैन। तर, प्रतिघण्टा ४५ देखि ५५ किलोमिटरको अनुमान गरिएको छ।

महानिर्देशक वैद्यका अनुसार पोखरामा सृजना भएको उक्त हावाहुरीले चितवन हुँदै पूर्वी तराईमा प्रवेश गरेर वितण्डा मच्चाएको थियो। ‘पश्चिमी वायु, स्थानीय वायु र न्यूनचापीय रेखा भेटिएपछि हावाले हुरीको रुप लिएको देखिन्छ,’ उनले भने।

पूर्वी नेपालको परवानीपुरमा रहेको स्टेशनबाट डाटा संकलनको काम भइरहेपनि सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको सर्भर सोमबार बिहानसम्म चलेको थिएन।

भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले आइतबार नेपालसँग सीमा जोडिएका कतिपय राज्यहरुमा ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्ने जनाएको थियो। तर, नेपालको जल तथा मौसम विज्ञान विभागले हावाहुरीका बारेमा सचेत गराएको थिएन। बरु मेघगर्जनसहित पानी पर्ने सूचित गराएको थियो।

‘प्रि–मनसुनमा हावा चल्नु स्वभाविक हुन्छ। केही दिन यता काठमाडौंमा पनि बेलुकापख हावाहुरी चल्दै आएको छ,’ वैद्य भन्छन्, ‘ स्थानीय वायुको प्रभाव र मौसममा हुने बदलीबारे जानकारी दिन सक्ने प्रणाली (मौसमी राडार) को अभाव भएकाले मौसममा छोटो अवधिमा आएको परिवर्तनलाई पूर्वानुमान गर्न सकिएन।’

नेपालमा सुर्खेतमा मात्र राडार छ, जसले पश्चिमी क्षेत्रको हावाहुरीको पूर्वामानसहित गति नाप्छ। ‘अब अन्य क्षेत्रमा समेत राडार स्थापना गर्न जरुरी रहेको उनी ठान्छन्।

आइतबारको हावाहुरीले घर, गोठ, पर्खाल, विजुली र टेलिफोनका तार÷पोल, इँटा भट्टा लगायत भौतिक संरचना भत्काउँदा ठूलो क्षति भएको गृहमन्त्रालय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। उक्त घटनामा ५ सय बढी घाइते भएका छन्, भने सयौं विस्थापित भएका छन्।

वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठ प्रि–मनसुनमा हावाहुरीको जोखिम रहने भएकाले सचेत हुन जरुरी ठान्छन्। ‘यस्तो फेरि पनि आउन सक्छ। यसअघि पनि विभिन्न समयमा आएको थियो। तर, यस पटक मानव बस्तीमा पर्दा क्षति धेरै भएको हो,’ उनले भने।

यसअघि काठमाडौंस्थित दशरथ रंगशालामा २०४४ फागुन २९ मा प्रतियोगिता आयोजना भइरहेका बेला हावाहुरी चल्दा कयाैंकाे ज्यान गएको थियो।

सम्बन्धित समाचार–प्रि–मनसुनमा किन चल्छ हावाहुरी ?

ताजा समाचार

सम्बन्धित समाचार