Wednesday, October 2, 2024

पाँच वडाध्यक्षलाई प्रश्नः वातावरण संरक्षणका विषय कसरी सम्बोधन हुँदैछन्?

धनगढी–स्थानीय तहको निर्वाचनताका वातावरण संरक्षण र दीगो विकासको मुद्दा जोडतोडले उठेको थियो। त्यतिखेर उम्मेदवारहरूको घोषणापत्र हेर्दा फोहोरमैला व्यवस्थापनसँगै वनविनास रोक्न कार्ययोजना बनाउनेदेखि विकासलाई व्यस्थिति बनाउने उल्लेख छ।

तर, स्थानीय तहमा जनप्रतिनिधि आएको करीब २ वर्ष पुग्न लाग्दा निर्वाचित जनप्रतिनिधि वातावरण संरक्षण र दीगो विकाससम्बन्धी के कस्ता काम गर्दैछन्? यसै विषयमा हाकाहाकीले कैलालीका केही स्थानीय तहका जनप्रतिनिधिसँग कुराकानी गरेको छ। उनीहरूको विचार जस्ताको त्यस्तैः

हरियाली र सरसफाइमा जोड

भागरथी विष्ट वडा अध्यक्ष, गौरीगंगा नगरपालिका–४

वडालाई हरियाली, सफा र सुन्दर वडा बनाउन वृक्षरोपण र विभिन्न सरसफाइ कार्यक्रमहरू गरिँदै आएको छ। कालिका र गौरीगंगा सामुदायिक वन उपभोक्ता समूहमा एक हजार बोटबिरुवा रोपिएको छ। गौरीगंगा नदीका कारण शीवपुरान टोल बाढीको जोखिममा रहेकाले त्यस क्षेत्रमा तटबन्धनका लागि ३५ लाख बजेट विनियोजन भई काम भइरहेको छ। साथै खुल्ला दिसामुक्त वडा समेत घोषणा गरेका छौँ।

वडावासीलाई शुद्ध खानेपानी वितरणका लागि ट्यांकी निर्माणको काम भइरहेको छ। ट्यांकी बनेपछि यहाँका १ हजार घरधुरी लाभान्वित हुनेछन्। त्यसै गरी नगरपालिकाको नीति अनुरूप प्रत्येक घरमा २ देखि ३ फलफूलका बोटबिरुवा रोप्न अनिवार्य व्यवस्था गरेका छौँ

शुद्ध खानेपानी र छाडा चौपाया व्यवस्थापन

जगत चौधरी
वडाध्यक्ष गौरीगंगा नगरपालिका–१

छाडारूपमा छाडिएका चौपायालाई व्यवस्थापन गर्नेका लागि सामुदायिक वनसँग समन्वय गरेर उनीहरूको रेखदेख र चरीरनको व्यवस्था गरेका छौं। चौपायालाई बस्नका लागि १० वटा गोठ निर्माण गरिएको छ। यहाँका किसानलाई सिँचाइका लागि १० वटा पम्पसेट वितरण गरेका छौँ।

शुद्ध खानेपानी पिउनका लागि १० वटा धारा र २२ वटा धारा अन्य संघसंस्थाको समन्वयमा बाँडेका छौँ। त्यसैगरी ६ हजार बोट बिरुवा रोपण गरेका छौँ। समय समयमा सरसफाइ कार्यक्रम गर्दौ आएका छौँ।

व्यवसायीक तरकारी खेतीमा प्रोत्साहन

कमल थारु वडाध्यक्ष
घोडाघोडी नगरपालिका–३

यहाँ रहेका वन तथा वन्यजन्तु संरक्षणका लागि तारबार लगाएका छौँ। यहाँका किसानलाई व्यावसायिक तरकारी तथा पशुपालन गर्नका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम गरेका छौँ। किसानलाई ६ वटा धान काट्ने मेसिन पनि वितरण गरेका छौँ। साथै बगलौहा ताल संरक्षणका लागि ३ लाख बजेट छुटाएका छौँ।

नदी कटान रोक्न वृक्षरोपण

भीमबहादुर बम वडाध्यक्ष, घोडाघोडी नगरपालिका–१०

कान्द्रा नदीले वर्षेनि खेतीयोग्य जमिन कटान गर्न थालेपछि यसलाई रोक्न तटबन्धन तथा वृक्षरोपणको काम भइरहेको छ। नदीमा ३ लाख बराबरको जैविक बाध र २ हजार बाँसका बोटबिरुवा रोपेका छौँ।

यसका साथै, निश्चित ठाउँमा फोहोर फालुन भनेर सयभन्दा बढी डष्टविन विभिन्न ठाउँमा राखेका छौँ। त्यसै गरी विभिन्न सामुदायिक वनसँग सहकार्य गरेर वृक्षरोपणको पनि गरेका छौँ।

नदीनालामा फोहोर फाल्न रोक

मनराज शाही
वडाध्यक्ष, घोडाघोडी नगरपालिका–१

यहाँका नदी नालामा फोहोर फाल्न प्रतिबन्ध लगाएका छौँ। फोहोर फाल्नेलाई जरिवाना गरिने समेत जानकारी गराएका छौँ। साथै, डुडा नदीमा तटबन्ध तथा बाँस रोप्ने कार्यक्रम रहेको छ। किसानले माटो अनुसारको खेती गरुन भन्ने उद्देश्यले माटो परीक्षण गरेका छौँ। सिँचाइका लागि २० वटा बोरिंङ वितरण गरेका छौँ।

ताजा समाचार

सम्बन्धित समाचार