Wednesday, November 20, 2024

पत्रपत्रिकामा आज : हिमआँधीले होटल भत्किए, एक वर्षभित्रै फोहोर व्यवस्थापन हुने

काठमाडौं – आजका दैनिक पत्रपत्रिकाले वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापेका छन् ।

नेपाल समाचारपत्र
आजको नेपाल समाचारपत्रमा बञ्चरेडाँडा ल्याण्डफिलमा दर्जन योजनाः एक बर्ष भित्रै फोहोर व्यवस्थापन हुने शिर्षकमा समाचार प्रकाशित छ । सो खबर ईश्वरराज ढकालले लेखेका छन् ।
शहरी विकास तथा भवन निर्माण विभागले बञ्चरे डाँडा ल्याण्डफिल साइटको एक दर्जन बढी संरचना निर्माण गर्ने कामलाई तीव्रता दिएको छ ।

अबको एक वर्ष भित्र ती संरचना निर्माण हुने भएका छन् । सिसडोल ल्याण्डफिल साइटमा उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन गर्न नसक्ने अवस्था आएपछि विभागले नयां काम अघि बढाएको हो ।

सरकारले २०६२ सालमा नै ३ बर्ष्भित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । तर लक्षित समयको एक दशक बितिसक्दा बञ्चरे डाँडाको पूर्वाधार बन्न नसकेपछि काठमाडौ महानगरपालिका लगायत स्थानीय निकायले सरकारलाई गुहारेको थियो ।

सरकारले बञ्चरेडाडा ल्याण्डफिल साइटको संरचना निर्माण गर्न विभागलाई जिम्मा दिने निर्णय गरेपछि दोस्रो चरणको नया काम शुरु भएकोे हो । विभागले नयां संरचना निर्माण गर्न टेण्डर आब्हान गरेको छ ।

विभागका सुचना अधिकारी चन्द्रशेखर महतकोका अनुसार अब बन्ने नया संरचनामा फाहोरमैला व्यवस्थापनको लागि स्थान निर्माण, ल्याण्डफिल साइटको इन्जिनियरिङ डिजाइन बमोजिम जमीन तयार गर्ने,लिचेड पोखरी निर्माण, सडक निर्माण, कार्यालय भवन, गार्ड हाउस, ग्यारेज, वेट ब्रिज निर्माण, गेट लगायत एक दर्जन संरचना निर्माण गर्ने योजना रहेको छ । एक वर्ष्भित्र संरचना निर्माण गर्ने तयारीका साथ प्रकृया अघि बढाइएको उनले जानकारी दिए ।

उनले सिसडोलको विकल्पको रुपमा रहेको बञ्चरे डाँडामा चाडै फोहोर व्यवस्थापन हुने दावी गरे । ‘सकभर एक वर्ष्भित्र संरचना निर्माण गर्नेछौ, त्यस लगत्तै बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नेछौ’–उनको भनाई थियो ।

अहिले बञ्चरेडाडा ल्याण्डफिल साइट पुग्ने बाटो पिच भैरहेको छ । काठमाडौ महानगरपालिका फोहोर व्यवस्थापन विभागका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले २२ करोड रुपियामा ठेक्का पाएको कम्पनीले धमाधम बाटो पिच गरिरहेको जानकारी दिए ।

चार महिना भित्र बाटो पिच सकिन्छ त्यसपछि पुर्वाधार निर्माण गरे लगत्तै फोहोर व्यवस्थापनको काम शुरु गर्नेछौ –उनले भने । तर १५ वर्षदेखि पूर्वाधार बन्न नसक्दा अहिले सबै निकायको फोहोर सिसडोलमा व्यवस्थापन हुने गरेको छ ।

सरकारले नुवाकोट र धादिङको सीमानामा पर्ने बञ्चरे डाँडाको जग्गा प्राप्तिको काम सकेर वातावरणीय प्रभाव मूल्याङ्कन पनि गराइसकेको छ । यसअघि बञ्चरेडाँडामा पूर्वाधार निर्माण गर्ने क्रममा झण्डै १ अर्ब रुपैयाँ सकिएको छ । अधिग्रहण भएका जग्गाको मुआब्जा बाँड्न, हिमपाइप हाल्न, वृक्षारोपण गर्न, पुल बनाउन उक्त रकम खर्च भएको हो ।

विश्व वातावरण दिवसको अवसरमा २०६२ साल जेठ २२ गते अर्थात् सन् २००५ जुन ५ तारिखमा काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो ।

स्थानीयले सिसडोलमा जस्तो मनपरी रुपमा बञ्चरेडाडामा फोहोर व्यवस्थापन नगर्न आग्रह गरेका छन । केहीदिन अघि ककनी गाउपालिकाका प्रमुख, उपप्रमुख, वडा नम्बर १ , २ र ३ का पदाधिकारी बैठकले व्यवस्थित रुपमा फोहोर व्यवस्थापन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बैठकमा कामपा फोहोर व्यवस्थापन विभाग प्रमुख हरीकुमार श्रेष्ठ, कामपाका अधिकारी लगायतका उपस्थिति रहेको थियो । उता स्थानीय संघर्ष समितिका सहसंयोजक श्रीराम ढुंगानाले अति प्रभावित क्षेत्रमा पर्ने ५ हजार रोपनी जग्गा खरिद गर्न करिब ५ अर्ब र बञ्चरेडाडा वरपर पुर्वाधार विकास गर्न करिब २ अर्ब गरी करिब ७ अर्ब रुपिया खर्च नगरे बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नसकिने बताए ।

सरकारले ऐलानी सहित बञ्चरेडाडा ल्याण्डफिलको लागि भन्दै करिब १ हजार ७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
अहिले दैनिक झण्डै ९ हजार टन फोहोर व्यवस्थापन हुने गरेको छ । हाल सिसडोल ल्याण्डफिल साइटमा उपत्यकाको १८ स्थानीय तह सहित धादिङ, काभ्रे र नुवाकोट जिल्लाका केही स्थानीय तहको फोहोर व्यवस्थापन हुने गरेको छ ।

सिसडोलमा कामपाको करिब २० सवारी साधनले दैनिक रुपमा फोहोर ओसार्ने गरेको छ । अन्य जिल्ला र निजी क्षेत्र समेत गरी दैनिक करिब १ सय ५० सवारी साधनले फोहोर ओसार्ने गरेको छ ।

अन्नपूर्ण पोस्ट्

आजको अन्नपूर्ण पोस्ट्मा हिमआँधीले होटल भत्किए शिर्षकमा समाचार छापिएको छ । कृष्णमणि बरालले पोखराबाट लेखेको समाचारमा लगातारको हिमपात र हिमआँधीले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण बेसक्याम्पमा रहेका ४ होटल भत्केको उल्लेख छ ।

मौसम प्रतिकूल भएपछि स्थानीय होटल व्यवसायीले होटलमा ताला लगाएर बेंसी झरेको र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मौसम बिग्रिएसँगै त्यतातर्फ पर्यटक जान रोक लगाएकाले मानवीय क्षति नभएको एक्याप घान्दु्रकका प्रमुख विदुरविक्रम कुँइकेलले बताए। अन्नपूर्ण बेसक्याम्प समुद्र सतहदेखि ४१ सय ३० मिटर उचाइमा छ।

फागुन १५ गतेको हिमआँधीले होटलका छाना उडाएको र भत्काएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए। बेसक्याम्पमा पहिलो पटक यति धेरै हिमपात भएको र हिमआँधी आएकाले होटल नै भत्किएको स्थानीय होटल अन्नपूर्ण सेन्चुरीका सञ्चालक जेबी गुरुङले बताए।

‘०३८ सालमा बाबाले गोठ बनाएर बेसक्याम्पमा पर्यटकलाई सेवा दिँदै आउनु भएको थियो’, उनले भने। त्यसपछि २२ वर्षदेखि यहाँ होटल चलाउँदै आए पनि पहिलो पटक यति धेरै हिउँ पर्नुका साथै आँधीसमेत आउँदा होटल भत्केको उनले बताए।

हिमआँधीले भत्केका होटल पुनर्निर्माण गर्न केही समय लाग्ने भएकाले यो सिजनमा होटल चलाउन समस्या पर्ने उनले सुनाए। बजारबाटै पुनर्निर्माणका आवश्यक सामग्री बोकेर जानुपर्ने हुँदा होटल मर्मत गर्न समय लाग्ने उनले बताए।

अन्नपूर्ण आधारशिविरमा ४ होटलमा गरी दैनिक १ सय ६० जनासम्म पर्यटक अट्ने क्षमताका थिए। हिउँ धेरै पर्न थालेपछि फागुन ११ गते अन्नपूर्ण बेसक्याम्पका सबै होटल सञ्चालक र स्टाफ होटल बन्द गरेर हेलिकप्टरमा फर्केकाले मानवीय क्षति नभएको गुरुङले बताए।

होटल बन्द गरेर फर्केको ४ दिनपछि हिमआँधी नै आएर घर भत्केको हुन सक्ने आशंका उनले व्यक्त गरे। बेसक्याम्पभन्दा केही तल माछापुच्छे«को फेदीमा रहेको बेसक्याम्पका होटलमा भने हिमपात र हिमआँधीले कुनै क्षति नपुगेको उनले बताए। माछापुच्छे« बेसक्याम्पमा ५ होटल छन्।

उच्च हिमाली क्षेत्रमा हिमपात बढेसँगै एक्यापले फ्रेब्रुअरी ८ मा अन्नपूर्ण आधार शिविरतर्फ जान पर्यटकलाई रोक लगाएको थियो। छोमरुङ हिमालसम्म पर्यटक गए पनि त्यहाँभन्दा अघि हिमपहिरो खस्न सक्ने भएकाले पर्यटकलाई जान रोक लगाइएको एक्यापका घान्द्रुक प्रमुख कुइँकेलले बताए।

थोरङपास र तिलिचो तालतर्फको पदयात्रामा पनि अनुकूल मौसम नहुन्जेल पर्यटक जानलाई रोक लगाइएको एक्याप पोखराका सूचना अधिकृत ऋषि बरालले बताए।

पर्यटक मनाङसम्म गए पनि थोरङपास र तिलिचो जान अझै अनुकूल मौसम नभएको उनले सुनाए। मौसममा सुधार भएपछि पर्यटकलाई अनुमति लिएअनुसार जान खुला गरिने उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार