काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातवारणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
कान्तिपुर
– आजको कान्तिपुरमा वन मिचेर ढुंगाखानी शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गतको वन क्षेत्र मिचेर धुनिबेसी नगरपालिका–१ छत्रेदेउरालीमा वर्षौंदेखि कानुनविपरीत रोडाढुंगा र चुनढुंगा खानी सञ्चालन भइरहेका छन् । निकुञ्जको ‘रामकोट–भीमढुंगा–छत्रेदेउराली उपभोक्ता समिति’ को मध्यवर्ती वन क्षेत्रमा व्यापक दोहान भइरहे पनि सम्बन्धित निकायले ‘आँखा चिम्लिएको’ हो ।
साविकको छत्रेदेउराली गाविस–६ (धुनिबेसी–१) मा पर्ने मध्यवर्ती वन क्षेत्रसँगैको सार्वजनिक जग्गा मिचेर जयसिद्धि गणेश रोडाढुंगा उद्योग, साविककै ७ नम्बर वडा (धुनिबेसी–१) मा नवदुर्गा चुनढुंगा इन्डस्ट्रिज र छत्रेदेउराली उर्वरा कृषि चुनढुंगा तथा शक्तिग्रिट उद्योग प्रालिले अवैध रूपमा रोडाढुंगा दोहन गरेका हुन् ।
त्यस्तै कुला मासिए, हरियाली नासियो शिर्षकमा अर्को समाचार छापिएको छ । कपिलवस्तुको शुद्धोदन गाउँपालिका १ सुर्जबलियाका सुरेश शर्मालाई उनका बुवा र बाजे कुलाका डिलमा बसेर भलाकुसारी गरेको सम्झना छ । बाल्यकालमा उनले त्यहीँ भाँडाकुटी खेलेका थिए । गर्मीमा कुलाका डिलमा रहेका रूखरबिरुवामुनि सुस्ताउने धेरै हुन्थे । ‘हरिया फाँटका कुलाका डिलमा बसेर कुराकानी गर्दा छुट्टै आनन्द मिल्थ्यो,’ उनले भने, ‘शीतल हावाले स्फूर्ति आउँथ्यो ।’
छायामा बसेर गाउँलेले खेतीपातीको समीक्षा गर्थे । बीउबिजन र उब्जनीबारे चर्चा हुन्थ्यो । राम्रोको सिको गर्थे । कमजोरी सुधार गर्थे । आजकाल कुला कम छन् । डिलमा हरियाली देखिँदैन । जमिनको मूल्य आकासियो । खेतीयोग्य जमिन घडेरीमा परिणत भए । कुला अतिक्रमणमा परे । भएका कुलाको मर्मत गरिएन । पानी आउनछोड्यो । ‘कुलो मासिएर कसैलाई केही फरक परेको देखिन्न,’ मलपरवाका मैरुल्ला मुसलमानले भने, ‘कुलो च्यापेर एक हात जग्गा बढाउन पाउँदा गर्व गर्छन् ।’ कुलो अतिक्रमणले पुर्याउने असरबारे चासो छैन ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा सडक किनाराको फोहोर सरसफाइ अभियानको चुनौती शिर्षकमा नरेन्द्र केसीको समाचार छापिएको छ । फोहोर व्यवस्थापनमा दाङको घोराही उपमहानगरपालिका देशमै नमुना मानिन्छ । बिहानै बजारका घरघरमा उपमहानगरका गाडी भजन सुनाउँदै आइपुग्छन् गल्ने र नगल्ने फोहोर छुट्याएर फरफरक गाडीमा लैजान्छन्।
यसरी दैनिकरुपमा बजारको फोहोर उठाएर उपमहानगरपालिकाले ल्याण्डफिल साइडमा पुर्याउने गरे पनि केही बजारबासीले भने राति राति लुकेर आफ्नो घर र पसल, होटलबाट उत्पादन भएको फोहोर घोराही–३ स्थित चौपट्टमा लगेर फाल्ने गरेको पाइएको छ ।
राजधानी
– आजको आँगनको डिलमै पानी खस्दा फुरूङ्ग शिर्षकमा युवराज विष्टको समाचार छापिएको छ । घरघरमा पानीको धारा बनेपछि भोेजपुर नगरपालिका–४ सिद्धेश्वरका स्थानीयवासीको दैनिकी अहिले फेरिएको छ । आँगनको डिलमा नै पिउने पानी खस्न थालेपछि उनीहरू खुसी छन् । प्रशस्त मात्रामा पानीको सुविधा भएपछि उनीहरू अहिले तरकारी खेतीमा समेत लागेका छन् । विगतका वर्षमा घरकै लागि मात्र तरकारी उत्पादन गर्न नसक्ने उनीहरूले अहिले तरकारी बेचेर मनग्यै आम्दानी गर्न थालेका छन् ।
स्थानीय दानबहादुर खड्काले भने, ‘विगतमा पानीको निकै समस्या थियो, पानी खोज्न गाउँभरिका कुवा, धारा धाउँदैमा दिन बित्थ्यो तर अहिले घरमै पानी आउँदा निकै खुसी लागेको छ, अहिले खेर गइरहेको पानीको उपभोग गरेर तरकारी पनि उत्पादन गरेका छौं ।’तत्कालीन जिल्ला विकास समिति र सहरी विकास मन्त्रालयको सहयोगमा खानेपानी योजना सम्पन्न भएपछि अहिले उनीहरूको घर आँगनको डिलमा नै पिउने पानी खस्न थालेको हो ।