काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातारणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा हिउँदे वर्षा पाँच गुणा बढी शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ । काठमाडौंमा फेब्रुअरी महिनाभरिमा औसत १८.७ मिलिमिटर वर्षा हुनुपर्ने हो । यो वर्ष भने फेब्रुअरी २८ सम्ममा त्यसको पाँच गुणा बढी पानी परिसकेको छ । सुदूरपश्चिमको डडेलधुरामा पनि औसतभन्दा बढी वर्षा भएको छ । फेब्रुअरीमा औसत ६२।५ मिलिमिटर वर्षा हुनुपर्नेमा त्यहाँ फेब्रुअरी २८ सम्म १३५।३ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
यी दुई तथ्यांकले पछिल्ला केही वर्षयता हिउँदे वर्षा औसतभन्दा बढी हुन थालेको संकेत गर्छ । हिउँदे वर्षाको मात्रा र समय पछि सर्दै गएपछि मौसमविदसमेत अचम्मित हुन थालेका छन् । उनीहरूका भनाइमा हिउँदे वर्षा गराउने मौसमी प्रणालीसमेत धेरै पटक भित्रिएको छ ।
त्यस्तै गाउँभरि ६ फिट बाक्लो हिउँ प्रदेश ३ भित्र पर्ने अधिकांश जिल्लामा हिमपात भएको छ। गएरातिदेखि हिउँ पर्न सुरु गरेको थियो । बिहीबार बिहानसम्म हिउँ फुसफुस झरिरहेको थियो । विगतमा यस प्रदेशका अधिकांश जिल्लाका पहाडी र हिमाली भेगमा गत माघमा हिमपात भएको थियो।
जिल्लाका होचा र समथर भूभागमा हिउँ परेको थिएन । होचा र समथर भूभागमा हिउँ नपरेको धेरै वर्ष भइसकेको थियो । यो वर्ष हिमपात भएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने दामन सिमभन्ज्याङको उचो भूभागदेखि लिएर थाहा नगरपालिकाको समथर भूभाग शिखरकोट, पालुङ र चित्लाङ हिउँले सेताम्मे भएको छ ।
अन्नपूण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा पञ्चेश्वर विवाद यथावत शिर्षकमा समाचार छापिएको छ । नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप दिन उद्देश्यले आयोजित बैठक असफल भएको छ।
भारतले तल्लो शारदामा पाउँदै आएको कथित ‘उपभोग्य अधिकार’ को अडान यथावत् राखेको र नेपालले महाकालीको पानीमा आफ्नो आधा हिस्साको अधिकार कायमै हुनुपर्ने अडानलाई नछाडेकाले दुई पक्षबीच सहमति हुन नसकेको हो।
भारतले महाकाली सन्धिले चिन्दै नचिनेको तल्लो शारदाको पानीलाई आफ्नो उपभोग्य अधिकारको सवाल बनाएपछि नेपालले पनि महकाली सन्धिले निसृत गरेको ‘पानी आधा आधा, महाकाली साझा’ को पुरानो अडानलाई कायमै राखेको थियो।
नेपालको जल तथा ऊर्जा आयोग सचिवालयका सचिव देवेन्द्र कार्की र भारतको केन्द्रीय जल आयोगका अध्यक्ष महसुद हुसेनले नेतृत्व गरेको बैठकको अन्तिम दिन बिहीबार पञ्चेश्वरका एक सय चार सैद्धान्तिक विषयमा सहमति हुन बाँकी रहेको बैठकका सहभागी एक नेपाली अधिकारीले बताए। ६ सयवटा सैद्धान्तिक विषयमा दुई देशबीच असहमति रहँदै आएको थियो।
त्यस्तै वैशाखदेखि पाइपबाटै इन्धन शिर्षकमा दिवाकर भण्डारीको समाचार छापिएको छ । मन्त्रिपरिषद् स्तरीय निर्णयको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ।
निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो। गत माघ १० गतेको मन्त्रिपरिषद्को निर्णयसँगै आवश्यक प्रक्रिया मिलाएर निकुञ्जले रुख कटानको काम सुरु गरेको हो।
निकुञ्जले पथलैयास्थित टिम्बर कर्पोरेसनलाई रुख कटान गरी लगत राख्न पत्राचार गरेको छ। निकुञ्जको पत्राचारपछि विधिवत रूपमा पूजा गर्दै रुख कटानको काम सुरु भएको हो। निकुञ्जले जेठसम्म रुख कटानको समय दिएको भए पनि एक महिनाभित्रै सबै काम सम्पन्न गरी वैशाखमै पाइपलाइनबाट इन्धन भित्र्याउने आयोजना कार्यालयको लक्ष्य छ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना विवाद सल्टिएन : परियोजना भविष्य अझै अन्योलमा शिर्षकमा समाचार छापिएको छ । वर्षौदेखि रोकिरहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विवाद सल्टाउन बसको नेपाल भारत विज्ञ समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ । काठमाडौँमा आयोजित दुई दिने बैठकमा परियोजनाका निम्ति महत्त्वूर्ण मानिएका आयोजनाको क्षमता, पानीको बाँडफाँड, नाफा वितरणलगायत विषयमा सहमति हुन नसकेको हो ।