काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा हिमपताले मनाङी आजित शिर्षकमा आश गुरुङको समाचार छापिएको छ । सधैँको हिमपातले मनाङवासी आत्तिएका छन् । हिमपातले एक ठाउँबाट अर्को ठाउँ जना नसक्दा स्थानीयको दैनिकी उकुसमुकुस बनेको छ । सडक तथा पदमार्ग अवरुद्ध छ ।
हावाहुरीसहितको हिमपताले काठका कापादेखि हिउँ घरभित्रसमेत पुर्याउँदा स्थानीय ढोका थुनेर बाध्य छन् । माथिल्लोदेखि तल्लो क्षेत्र लमजुङ सिमाना ताल आसपाससम्म हिमपात भएको छ । लमजुङदेखि मनाङ जाने सवारी केही बीच बाटोमै रोकिएका छन् । कर्मचारी कार्यालय जान आउन सकेका छैनन् । स्थानीयलाई शौचालय जानै मुस्किल छ ।
नागरिक
–आजको नागरिकमा दुई दशकयताकै बढी हिमपात : जनजीवन प्रभावित, अन्नबाली सखाप शिर्षकमा दिलबहादुर छत्याल र जगत खड्काको समाचार छापिएको छ । सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा बुधबार हिमपात भएको छ। सुदूरपश्चिम प्रदेशका बझाङ, दार्चुला, बाजुरा, अछाम, बैतडी, डोटी र डडेल्धुरामा हिमपात भएको हो। यी जिल्लाका विभिन्न बस्तीमा यसपालि पटक–पटक हिमपात भइरहेको स्थानीयले बताएका छन्। सुदूरपश्चिमका बस्तीहरूमा लगातार यति धेरैपटक हिमपात भएको दुई दशकयताकै पहिलोपटक भएको स्थानीयको भनाइ छ। मंसिर २६ बाट सुरु भएको हिमपात पटकपटक गरी अहिलेसम्म जारी छ।
पानी अभावमा खेतमा लगाइएको हिउँदेबाली गहुँ, जौ, मुसुरो, उवालगायतका बाली नटुसाएर किसान चिन्तित भइरहेका बेला पहिलोपटक मंसिरको अन्तिममा हिमपात भएको थियो। एकपछि अर्को गर्दै लगातार हिमपातको असर बालीनालीमा परेपछि भने किसानको खुसी बेकार बन्न पुगेको छ। ‘अहिलेको हिमपातले अन्नबाली नष्ट हुँदा हामी किसानलाई ठूलो नोक्सान भएको छ।’ बझाङ साइपाल गाउँपालिका–४ का असभाने रोकायाले भने, ‘हामी गरिब किसानलाई केहीले पनि सुख नदिने भयो, पहिले खडेरीले समस्या अहिले पटक पटकको हिमपातले, बालीनाली नष्ट भयो।’
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा अब काठमाडौँका सबै चोकमा सिसिक्यामरा शिर्षकमा तीर्थराज बस्नेतको समाचार छापिएको छ । काठमाडौँ महानगर क्षेत्रका सबै चोकमा सिसिक्यामरा जडान हुने भएका छन् । काठमाडौँ महानगरपालिका र महानगरीय प्रहरी परिसरबीच सिसिक्यामरा जडान, सञ्चालन र मर्मतसम्भारका लागि सम्झौता भएको छ ।
महानगरपालिकाले आर्थिक वर्ष०७५/०७६मा स्वीकृत नीतिअनुसार २५ माघको नगर कार्यपालिका बैठकले सिसिक्यमरा जडान तथा सञ्चालनको जिम्मा प्रहरीलाई दिने निर्णय गरेको थियो । यसका लागि महानगरले प्रहरीलाई तीन करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
राजधानी
–आजको राजधानीमा चुनौती बन्दै चुरे संरक्षण शिर्षकमा सविन शर्माको समाचार छापिएको छ । विश्व मानचित्रमा नेपाल सानो क्षेत्रफल भएको मुलुक हो । यद्यपि, हिमाल, पहाड र तराईको भूगोल यो सानो क्षेत्रफलभित्र अटाउनु नेपालको छुट्टै विशेषता पनि हो । हिमाल, पहाड र तराईका अस्तित्व एकअर्कासँग अन्तरसम्बन्धित छ । हिमाल नभएको भए पहाड र तराईको भूगोलको अस्तित्व नरहन सक्ने र पहाड नभएको भए हिमाल र तराईको अस्तित्वमाथि चुनौती देखापर्ने कुरा विज्ञहरूले बताउँदै आएका छन् । पहाड र तराईबीचमा रहेको चुरे शृंखला भौगोलिक दृष्टिले नेपालको मुख्य मेरुदण्ड मानिन्छ । चुरेमा पानीको स्रोत छ चुरेको तल्लो भाग सुनजस्तै अन्न भण्डार फल्ने उब्जाउ भूमि तराई रहेको छ । पहाडको मुख्य आधार नै चुरे हो । यसरी हेर्दा चुरेलाई नेपालको मुख्य आधार खम्बा नै भन्नुपर्छ । हाल चुरेमा कम्तीमा ५० लाख मानिसको बसोबास रहेको अनुमान गरिएको छ । सडक, खानेपानी, पुलपुलेसा, सिँचाइ कुलो, खानेपानीको योजना निर्माणसँग अनियन्त्रित तरिकाले चुरेको खनजोत गर्ने र अतिक्रमण गरेर बस्ने प्रवृत्ति निकै हावी हुँदै गएको छ ।