Wednesday, November 20, 2024

पत्रपत्रिकामा आज : सिसडोल भरियो, कहाँ फाल्ने फोहोर, अझै रोकिएनन् अवैध क्रसर उद्योग

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा सिसडोल भरियो, कहाँ फाल्ने फोहोर शिर्षकमा तीर्थराज बस्नेतको समाचार छापिएको छ। काठमाडौं उपत्यकामा वार्षिक तीन लाख टन फोहोर उत्पादन हुन्छ । फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । वर्षा लागेपछि त्यहाँ फोहोर फाल्न सकिने अवस्था छैन, तर त्यसको विकल्प अझै तयार भइसकेको छैन । सरकारले नुवाकोटको ककनी–२ र धादिङको धुनिबेसी–१ को बीचमा पर्ने बन्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइट बनाउने निर्णय ०५१ मै गरेको थियो । तर, २४ वर्ष बितिसक्दा पनि त्यहाँ आवश्यक पूर्वाधार निर्माण भएको छैन ।

बन्चरेडाँडा ल्यान्डफिलसाइटको अवधारणात्मक प्रारूप (कन्सेप्चुअल डिजाइन) आर्थिक वर्ष ०५८/५९ मै बनेको थियो । जापान सहयोग नियोग(जाइका)ले बनाएको प्रारूपअनुसार ल्यान्डफिलसाइट निर्माण गर्न एक अर्ब ८६ करोड लाग्ने अनुमान गरिएको थियो । तर, समयमा आयोजना नबन्दा ०७१ को डिपिआरअनुसार साइट निर्माणको लागत दुई अर्ब ४० करोड पुगिसकेको छ ।

कान्तिपुर
–आजको कान्तिपुरमा अझै रोकिएनन् अवैध क्रसर उद्योग शिर्षकमा हरिहरसिंह राठौरको समाचार छापिएको छ । प्रदेश सरकारले नदीजन्य पदार्थको प्रयोग र संकलन गर्ने स्पष्ट नीति र कानुन लागू गर्न नसक्दा त्रिशूली नदीलगायत प्राकृतिक स्रोत साधनको चरम दोहन भइरहेको छ । सरकारको नदीजन्य पदार्थ उत्खनन र संकलन कार्यविधि २०७४ अनुसार राजमार्ग छेउछाउमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगलाई नियमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समिति असफल देखिएको छ ।

प्रतिनिधि सभा, प्रदेश सांसदहरूकै अघोषित लगानी र स्थानीय तहका निर्वाचित प्रतिनिधिकै प्रत्यक्ष लगानीका बालुवा खानी, फिरफिरे र क्रसर उद्योग विगत ४ वर्षदेखि ४–४ महिना म्याद थप्दै सञ्चालनमा छन् । स्थानीय सरकार र प्रदेश सरकारको मिलेमतोमा त्रिशूली नदी र राजमार्ग प्रदूषणको मापदण्ड मिच्ने काम भएको छ ।

नागरिक
–आजको नागरिकमा बागमतीमा रित्तिँदै पानी : हिजो कलकल, आज ढलैढल शिर्षकमा शिवहरि घिमिरेको समाचार छापिएको छ । बागमती नदीमा पानीको बहाव निकै घटेको विज्ञहरूले आँकलन गरेका छन्। नदीको संरक्षण नगर्नु, जमिनको पम्पिङ गर्नुु, पानीका स्रोतहरू मास्नु र कंक्रिट जंगलले जमिन सिचाइँ हुन नपाउनु जस्ता कारणले बागमतीसँगै उपत्यका अन्य नदीमा पानीको बहाव घटिरहेको विज्ञहरूको ठम्याई छ।

वातावरणविद् भूषण तुलाधरले बागमती छेवमा रोपिएका बिरुवाले स्याहार नपाएको र नहुर्किएकाले पनि बागमतीको अस्तित्व झन्–झन् संकटमा पर्न थालेको जानकारी दिए। यसले नदी छेउका पानी रसाउने मुहानहरू सुकाएको उनले बताए। ‘नदीतर्फ फर्काइएका ढल व्यवस्थापन गर्नतर्फ कसैको चासो छैन, यस्तै हो भने पशुपतिको अस्तित्व संकटमा पर्छ, यसलाई बचाउन सराकारले कुनै न प्रभावकारी उपाय तत्काल अवलम्बन गर्नुपर्छ,’ उनले भने। उनका अनुसार खोलानालाको लागि जमिन ट्यांकी हो। वर्षायामको पानी त्यहीँ जमिनमा भरिएर बस्छ। हिउँदको बेला मूल मुहान जस्ता स्रोतबाट पानी रसाएर नदीहरूमा बग्छ।

ताजा समाचार

सम्बन्धित समाचार