काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
–आजको कान्तिपुरमा नारायणगढ–मुग्लिन सडक : ७ ठाउँमा अझै पहिरोको जोखिम शिर्षकमा रमेशकुमार पौडेलको समाचार छापिएको छ। भर्खर मात्र विस्तारको काम पूरा भएको नारायणगढ–मुग्लिन सडकमा अझै सात ठाउँमा पहिरोको जोखिम कायमै रहेको पत्ता लागेको छ। पहिरोको अवस्था निर्क्यौल गर्न भएको अध्ययनले यो खतरा देखाएको हो।
सातै ठाउँमा यसै वर्ष पहिरो नियन्त्रणको काम पूरा गर्ने आयोजना कार्यालयले जनाएको छ । यो सडक खण्डमा वर्षायाममा पहिरोले गर्दा लामो समय यातायात अवरुद्ध हुने गरेको छ ।
‘प्राविधिक टोलीले पहिरोको जोखिम कहाँ कहाँ छ भन्ने अध्ययन पुरा गरेको छ । ७ ठाउँमा पहिरो जाने खतरा देखियो । ती ठाउँमा पहिरो रोक्न के गर्ने भन्ने विधि पनि टोलीले सिफारिस गर्छ । त्यसैका आधारमा नियन्त्रणका काम हुने छन्,’ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने । अघिल्लो वर्ष वैशाखमा पहिरो नियन्त्रणको काम सुरु भएर वर्षा अगावै सकिएको थियो ।
नागरिक
–आजको नागरिकमा जीर्ण बन्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग शिर्षकमा अर्जुन ओलीको समाचार छापिएको छ । समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ। राजमार्गको कोहलपुर–लमही खण्ड जीर्ण बनेको हो। लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी देखापरेका छन्। यिनै खाल्डोमा परी दिनहुँजसो सडक दुर्घटना हुने गरेको छ। सोही राजमार्ग भएर केन्द्रीय राजधानी काठमाडौंसहित मुलुकका विभिन्न जिल्लाका लागि दैनिक रुपमा हजारौंको संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन्। गएको बर्खादेखि राजमार्गमा परेका खाल्डा अहिलेसम्म यथावत छन्।
त्यस्तै प्लास्टिक मुक्त अभियान शिर्षकमा अर्को समाचार छापिएको छ । यती आवास टोल विकास समिति र महालक्ष्मी नगरपालिकाको संयुक्त आयोजनामा शनिबार महालक्ष्मी नगरपालिका ८ यती आवासमा प्लास्टिक झोलामुक्त अभियान समीक्षा कार्यक्रमको आयोजना सम्पन्न गरियो ।
२०७३ असार २५ गतेबाट संस्थाद्वारा सञ्चालित प्लास्टिक झोलामुक्त अभियानको समीक्षा कार्यक्रम महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको थियो ।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा २० वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ आयोजना प्रमुख फेरिए तर, मेलम्चीको पानी काठमाडौं आएन शिर्षकमा तीर्थराज बस्नेतको समाचार छापिएको छ। ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे ।
सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगेन । अझै अन्योलमै छ ।
समिति गठन भएको तीन वर्षपछि ०५८ मा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु भयो । सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो । तर, सरकारले एडिबीको ऋण सर्त पालना गर्न नसक्दा केही समयमै काम प्रभावित भयो । त्यसपछि पनि निर्माण कम्पनीहरूसँगको ठेक्का तोडिने, नयाँ ठेक्का हुने क्रम जारी रह्यो ।
पछिल्लो समय सुरुङ खनिरहेको इटालियन कम्पनी सिएमसीले पनि गत २९ मंसिरदेखि काम छाडेपछि मेलम्ची ठप्प छ । आयोजना बोर्डले २४ माघमा सिएमसीसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरिसकेको छ । सरकार अब मेलम्चीलाई कसरी अघि बढाउने भन्ने अलमलमै छ ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा जले ५४ चौपाया शिर्षकमा भरत खड्काको समाचार छापिएको छ । उदयपुर रौतामाई गाउँपालिका२ डुम्रेमा शनिबार आगलागी हुँदा ५४ चौपाया जलेर मरेका छन्।
गाई, गोरु, खसी र बाख्रा मरेको स्थानीयको भनाइ छ । खोरमा थुनेर राखिएका खसी र बाख्रा ४६ वटा जलेका छन् । स्थानीय कमल कार्की, ज्ञानबहादुर कार्की, राजेन्द्र कार्की, विदुर कार्की र दीपक कार्कीका पाँचवटा घर र सात गोठ जलेर ध्वस्त भएका छन् ।