जुम्ला- जुम्लाको तिला कर्णाली र हिमा कर्णाली नदीमा नदीजन्यवस्तु बालुवा गिट्टी अवैधरूपमा उत्खनन र चोरी निकासी हुने गरेको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विकास निर्माणका लागि बजेट पुगेन भन्ने गरेका छन् तर आन्तरिक राजश्व सङ्कलनमा चासो दिएको पाइँदैन ।
स्थानीय तहका लागि आन्तरिक राजश्व सङ्कलन गर्न सकिने नदीजन्य वस्तु गिट्टी, बालुवा लाखौँे घनमिटर रातदिन चोरी निकासी र उत्खनन भइरहेको छ, तर यहाँका सरोकारवाला निकाय मौन छ । चन्दननाथ नगरपालिकाको तिलानदीअन्र्तगत पर्ने दानसाँघु, छिनासाँघु, उठिल्यालगायतका क्षेत्रमा नदीजन्य वस्तुको उत्खनन र चोरी निकासी भइरहेको छ । अनुमतिविना नदीको धार र स्वरूप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन हुँदै आएको छ ।
जथाभावीरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दा नदीको धार परिवर्तन भई खेतीयोग्य जमीन कटानको जोखिम बढेको स्थानीय रामबहादुर नेपालीले बताए। स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन मौन भएका कारण अवैध र जथाभावीरूपमा नदीको दोहन हुँदा पनि कारवाही नभएकाले यस्तो गतिविधि मौलाएको स्थानीयबासीको गुनासो छ ।
सम्बन्धित निकायको अनुमतिविना नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर चोरी निकासी भएको हो । नदीजन्य पदार्थको उत्खननका लागि जिल्ला समन्वय समिति (जिसस)सँग सम्झौता गर्नुपर्ने व्यवस्था छ । तिला नदीमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति नलिएको र सम्झौताविपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन गर्नु अवैध काम भएको जिससका उपप्रमुख कार्मा बुढाले बताए। जिससमा बुधबार बसेको बैठकले गाउँ तथा नगरपालिकाले आ–आफ्नो क्षेत्रमा वातावरण प्रभाव मूल्याकङ्न गरेर बोलपत्र आह्वान गरी मूल्य बढीबढाउका आधारमा नदीजन्य वस्तु गिट्टी, बालुवा उत्खनन गर्न दिने निर्णय गरेको थियो ।रासस





