काठमाडौँ– चितवन राष्ट्रिय निकुञ्ज, हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा हात्तीको भाले छावाको जन्म भएको छ।

निकुञ्जका प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार १२ वर्षीया लोकतन्त्रकलीले बिहीबार बिहान ४:१५ मा भाले छावाको जन्म दिएकी हुन्। उनको यो पहिलो छावा हो।
पाण्डेका अनुसार लोकतन्त्रकलीबाट जन्म भएको भाले छावाको नाम ११ औँ दिनमा राखिनेछ।
त्यसै गरी यो वर्षमा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा पाँच वटा छावा (हात्तीको बच्चा) को जन्म भएको छ।
निकुञ्जका अनुसार २३ असोजदेखि फागुन ९ सम्म पूजाकली, गणेशकली, तमोरकली,कर्णालीकली र लोकतन्त्रकली नामक हात्तीबाट एउटा–एउटा छावा जन्मिएका हुन्।
पूजाकलीबाट २३ असोजमा छैटौँ पोथी छावाको जन्म भएको थियो, भने १६ असोजमा ३० वर्षीया गणेशकलीले भाले छावाको जन्म दिएकी थिइन्। १४ पुसमा बिहान ५ बजे कर्णालीकलीबाट भाले छावाको जन्म भएको थियो भने,मङ्सिर ३ गते तमोरकलीबाट पहिलो बच्चा भाले छावाको जन्म भएको थियो ।
हात्तीले सामान्य २० देखि २२ महिनामा बच्चा जन्माउने गर्छन्। छावाको नामकरण गर्दा पोथीको नाम ‘कली’ र भालेको नाममा ‘गज’ जोड्ने गरिन्छ।





