भारतका शिकारी खोटाङमा धमाधम बाँदर समात्दै

खोटाङ–भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ।

केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पु¥याउन खोटाङमा ‘बाँदर समाउ अभियान’ थालिएको हो।

बाँदर समात्न गत माघ २१ गते दिक्तेल आइपुगेका दुई भारतीय शिकारीले यही फागुन ३ गते आफ्ना थप तीन सदस्य ल्याएर बाँदर समात्न थालेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए।

भारतको उत्तरप्रदेशबाट झिकाइएका शिकारीले मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको लुछिममा २५ बाँदर समातेका छन्। बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो। त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको वडा नम्बर ५ का वडाध्यक्ष निर्मल राईले जानकारी दिए।

सोही वडाका खर्का भन्ने ठाउँका दुई स्थानमा पनि बाँदरलाई जाल थाप्ने तयारी भइरहेको जनाइएको छ। नगरपालिकाभित्रका १५ वडाका किसानलाई दुःख दिइरहेका बाँदर समातेर निकुञ्ज पु¥याउन नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ ।

खेतबारीका मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले नष्ट गरेर हैरान पारेपछि तिनलाई समात्न नगरपालिकाकै आर्थिक सहयोगमा भारतीय शिकारी खोटाङ झिकाइएको हो।

एउटा बाँदर समातेवापत शिकारीलाई दुई हजार पारिश्रमिक दिने व्यवस्था गरिएको छ। आगामी जेठ मसान्तभित्रमा २ सय ५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार