काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नयाँ पत्रिका
– आजको नयाँ पत्रिकामा वनमा विवाद, विकासमा बाधा शिर्षकमा समाचार छापिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाअन्तर्गत पहिलो चरणकै रूख कटान प्रक्रियामै अल्झिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रूख कटानको अनुमतिका लागि १९ असार ०७५ मा वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रिपरिषद्मा प्रस्ताव लग्न वन मन्त्रालयलाई पर्यटन मन्त्रालयले अनुरोध गरेको थियो । तर, सात महिनासम्म कुनै प्रगति भएको छैन । ‘पत्र पठाएपछि थप प्रगति भएको छैन,’ पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने ।
वन मन्त्रालयका प्रवक्ता डा। सिन्धुप्रसाद ढुंगानाले भने पहिलो चरणमा रूख कटानको अनुमतिका लागि पर्यटन मन्त्रालयबाट पत्र प्राप्त भए पनि कुन स्थान, कुन रूख, कति नम्बरको रूखजस्ता विषय स्पष्ट नहुँदा ढिलाइ भएको बताए । यस्तो विषयमा अलमल भएमा मन्त्रालयका अधिकारीहरू बसेर एकापसमा छलफल गर्ने, स्पष्ट हुने र निकास दिनुपर्ने हो । तर, राष्ट्रिय गौरवको आयोजनाका लागि समेत हाकिमहरूले समय निकाल्न सकेका छैनन् । जब कि, दुवै मन्त्रालय सिंहदरबारभित्रै छन् ।
त्यस्तै खानी खन्दा १२ सय घरधुरी जोखिममा शिर्षकमा सुदीप सिवाकोटीको समाचार छापिएको छ । वरपर डाँडामा रहेको सुन्दर बस्ती, माथि घनाजंगल । त्यसबीच भिरालो पहरामा रहेको मजुवाखानी । खानीभित्र रहेको चुनढुंगा उत्खननका लागि मजुवाको पूरै डाँडा जताततैबाट खोतल्दै गरेका एक्साभेटर । देख्दा अत्यास लाग्ने खानीडाँडामा माथिबाट ढुंगा, माटो, ग्राभेल जथाभावी छरपष्ट रूपमा फालिएको देख्न सकिन्छ । माथि हेर्दा पनि ढुंगा–माटो झरेर लाग्ने डर, तल पहिरो सलल बगेझैँ हेर्न नसकिने । तर, यस्तै पहरामा नीलो रङमा देखिने सिमेन्टका चुनढुंगा नौवटा एक्साभेटर निकाल्दै गरेका भेटिए । मकवानपुरगढी गाउँपालिका–५ मा रहेको मजुवाखानीमा हेटौँडा सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन गर्दैगर्दाको दृश्य हो यो ।
कान्तिपुर
–आजको कान्तिपुरमा ६२३ आयोजना अलपत्र शिर्षकमा विमल खतिवडाको समाचार छापिएको छ । सरकारले सञ्चालन गरेका आयोजनाका ९ सय ६ ठेक्कामध्ये ६ सय २३ वटा लथालिंग अवस्थामा रहेका छन् । यी ठेक्का २० अर्ब ७६ करोडका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनबाट यति धेरै आयोजनाका विकास निर्माण अलपत्र भएको खुल्न आएको हो ।
अख्तियारले रुग्ण अवस्थामा रहेका ठेक्काबारे विवरण सार्वजनिक गरेपछि सडक विभागले चासो देखाएको छ । विभागका सूचना अधिकारी एवं सहायक प्रवक्ता अर्जुन सुवालका अनुसार सुपरिटेन्डेन्ट इन्जिनियर राजेन्द्र शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
नागरिक
आजको नागरिकमा मान्छे र पशुको कुवा एउटै शिर्षकमा टंक क्षेत्रीको समाचार छापिएको छ । मान्छे–मान्छेबीच त जसको पायो उसको जुठो चल्दैन, जुठो चिज खान घिन लाग्छ। तर सुन्दा पनि अचम्म लाग्ला– सर्लाहीस्थित दुई गाउँका बासिन्दा वर्षौंदेखि जनावरको जुठो खान बाध्य छन्। सुरक्षित खानेपानीको व्यवस्था नहुँदा ईश्वरपुर नगरपालिका–१२ साविक कालिञ्जोर गाविसअन्तर्गत विकट चुरे क्षेत्रमा पर्ने गुइडुङ र अड्डी गाउँका बासिन्दा गाईवस्तुले मुख डुबाएकै कुवाको पानी पिउन बाध्य भएका हुन्।
गुइडुङमा ४० र अड्डीमा १२ घरधुरी छन्। यी दुई गाउँका बासिन्दाको खानेपानीको स्रोत– बस्तीदेखि केही टाढा रहेका दुईवटा कुवा हुन्। जसमा चरिचरणमा छाडिएका पशुचौपायाले पनि मुख गाडेर पानी खाने गर्छन्। स्थानीय वीरबहादुर थिङका अनुसार गुइडुङमा वि।सं। १९४५ सालमा मानव बसोबास सुरु भएको हो। त्यस बेलादेखि नै यस गाउँका बासिन्दा खानेपानीका लागि त्यही कुवामा आश्रित छन्।