पत्रपत्रिकामा आज : हिउँदमा विकास, बर्खामा विनाश, नेपालमा वन, विदेश जान्छ धन

काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विषयमा विभिन्न समाचार छापिएका छन् ।
नागरिक
–आजको नागरिकमा हिउँदमा विकास, बर्खामा विनाश शिर्षकमा सरिता श्रेष्ठको समाचार छापिएको छ । आफ्नो गाउँमा बाटो पुगेपछि धादिङको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका वडा नम्बर २ मा बस्ने प्रिस्किला तामाङ निकै खुसी छिन्। विकट बस्ती, सधैं खच्चडकै भरमा खाद्यान्न तथा निर्माण सामग्री गाउँमा पु(याउनुपर्ने बाध्यता हटेपछि उनी खुसी भएकी हुन्। ‘सधैँ खच्चड र आफैंले बोकेर खाद्यान्न सामग्री ल्याउनुपर्ने हुन्थ्यो,’ तामाङले भनिन्, ‘घरनजिकै मोटर गुड्ने बाटो बनेपछि अहिले सहज भएको छ।’

घरआँगनमै गाडी आउन थालेपछि अहिले तामाङजस्तै यस क्षेत्रका सबै स्थानीय हर्षित भएका छन्। बजार अभावकै कारण हरेक वर्ष आलु, अलैंचीलगायतका कृषि उपजहरू त्यत्तिकै खेर जाने गरेका थिए। अब भने आफ्ना उत्पादनलाई बजार पु¥याउन पाउने भएपछि स्थानीय बासिन्दा हर्षित भएका हुन्। तर गाउँनजिकै रहेको झार्लाङको पहिरो जब स्थानीय आँखामा पर्छ तब यो खुसी दुःखमा परिणत हुन्छ। कारण पहिराले उत्तरी धादिङका विभिन्न बस्ती नै बगाएर लगेका घटनाहरू ताजै छन्। ‘गाउँनजिकै रहेको पहिरोले कतिबेला लैजाने हो थाहा छैन,’ तामाङले भनिन्, ‘गाउँमा सडक त बनेको छ तर यो हिउँदमा विकास र बर्खामा विनाशको बाटो बन्ने गरेको छ।’ स्थानीयका अनुसार यहाँका सडक हिउँदमा मात्र काम लाग्छन्, बर्खामा त बन्द हुन्छन्। पानी पर्नासाथ माटो बगाउने, पहिरो जाने र खनिएको सडक भासिने गर्छ।

राजधानी
–आजका राजधानीमा २ हजार बढी सीमास्तम्भ नै गायब, हराएका सीमास्तम्भको खोजतलास हुँदै शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ । नेपाल–भारत सीमा क्षेत्रका तीन गुणाभन्दा बढी सीमास्तम्भ हराएका छन् । ८ हजार ५५४ सीमास्तम्भमध्ये २ हजार ३४४ वटा हराएको नापी विभागले जनाएको छ ।हाल नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमास्तम्भहरूको खोजतलास जारी राखेको नापी विभागले स्पष्ट पारेको छ । कुल सीमास्तम्भमध्ये ४५७ वटा मात्र राम्रा अवस्थामा रहेका छन् । १ हजार ५५६ वटा सीमास्तम्भ पूर्ण क्षतिग्रस्त अवस्थामा रहेका छन् । २ हजार ८८९ वटा भने सामान्य क्षति भएको अवस्थामा पाइएको छ । ६९६ वटा निर्माण हुन बाँकी छ भने ११२ निर्माणाधीन अवस्थामा छन् ।

नापी विभागका प्रमुख नापी अधिकृत कृष्णप्रसाद सापकोटाले क्षतिग्रस्त र भत्किएका सीमास्तम्भको निर्माण कार्य भइरहेको जनाए । ‘नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले विभिन्न जिल्लामा सीमास्तम्भ निर्माण गर्नेगरी कार्य गरिरहेको छ,’ प्रमुख नापी अधिकृत सापकोटाले भने, ‘अधिकांश सीमास्तम्भ नदीनाला र खोलाले बगाएर हराएको देखिन्छ ।’

त्यस्तै फोहोर व्यवस्थापनमा प्रविधि प्रयोग गर्ने तयारी शिर्षकमा केशवप्रसाद पाण्डेको समाचार छापिएको छ । काठमाडौं महानगरपालिकाले नगरभित्र उत्पादित फोहोरलाई प्रविधिको पयोग गरी व्यवस्थापन गर्ने तयारी गरेको छ । महानगरका यस्तो तयारीसँगै चीन, कोरिया, स्विट्जरल्यान्ड, अस्ट्रियालगायतका देशबाट उन्नत प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सकिने विभिन्न प्रस्ताव काठमाडौं महानगरपालिकामा आएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले राजधानीलाई बताए । उनका अनुसार महानगरमा आएका प्रस्तावमा फोहोरबाट बिजुली निकाल्न सकिनेसम्मका प्रविधि रहेका छन् ।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा नेपालमा वन, विदेश जान्छ धन शिर्षकमा पुष्प ढुंगाना र वीरेन्द्र ओलीको समाचार छापिएको छ । हरियो वन नेपालको धन भन्ने नारा पुरानो भएको छ, अब हरियो वन विदेशमा धन भन्नुपर्ने भएको छ । किनकि, काठ किन्दा ६ वर्षमा २४ अर्ब ५३ करोड रुपैयाँ बिदेसिएको छ । यसबीचमा ९३ करोडको मात्र काठ निर्यात भएको छ ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै किन्नुपर्ने व्यवस्था सार्वजनिक खरिद ऐनले गरेको छ । तर, सरकारी कार्यालयहरूले ९५ प्रतिशत फर्निचर विदेशी किन्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार