भद्रपुुर- झापाको मेचीनगर–१४ स्थित दुहागढीमा मानव मलमूत्र व्यवस्थापन गर्ने उद्देश्यले रु सात करोड बढीको लागतमा मानव मलमूत्रीय फहोरो व्यवस्थापन प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।
एशियाली विकास बैंक ९एडिबी०को ८० प्रतिशत अनुदान र स्थानीय तहको १५ प्रतिशत लागतमा सो प्रशोधन केन्द्रको निर्माण भएको हो । सन् २०१७ डिसेम्बरमा धनुषाको रमन कन्स्ट्रक्सनले रु सात करोड ६८ लाखमा सन् २०१८ को डिसेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । तर, सो समयावधिमा निर्माणकार्य सम्पन्न नभएपछि दोस्रो पटक म्याद थपेर काम भइरहेको चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लालबहादुर थेबेले बताए।
उहाँले आगामी मार्च महीनामा सकिने गरी दोस्रो पटक म्याद थपेको कम्पनीले ९० प्रतिशत काम पूरा गरिसकेको बताए। उनका अनुसार प्रशोधन केन्द्रमा विर्तामोड नगरपालिका, मेचीनगरका वडा नं ११, १२, १३ र १४ र बुद्धशान्ति गाउँपालिका क्षेत्रको मानव मलमूत्रको उचित व्यवस्थापन गरिनेछ ।
मानव मलमूत्र व्यवस्थापन वातावरणीय स्वच्छताका लागि अपरिहार्य भएको बताउँदै अध्यक्ष थेबेले भने, “यसबाट पर्यावरण सन्तुलित त हुन्छ नै स्थानीयवासीसमेत स्वरोजगार बन्छन् ।”
उले खानेपानीकै पहलमा नेपालमै पहिलोपटक मानव मलमूत्रलाई प्रशोधन गरेर प्राङ्गारिक मल बनाउन लागेको बताए। उनका अनुसार नगरपालिका र गाउँपालिकाबाट निस्किने कुहिने प्रकृतिको फोहर ३० प्रतिशत र ७० प्रतिशत मलमूत्र प्रशोधन गरेर निस्किएको लेदो मिसाएर प्राङ्गारिक मल बनाउने तयारी भइरहेको छ ।
आगामी चैत १ गतेबाट प्रशोधन केन्द्र सञ्चालनमा आउने छ । अध्यक्ष थेबेका अनुसार चालू भएको मितिदेखि दुई वर्षको अवधिसम्म ठेकेदार कम्पनीले नै सञ्चालन गर्ने गरी एडिबीसँग सम्झौता गरिएको छ । कम्पनीको सम्झौताअवधि सकिएपछि सो केन्द्र स्थानीय तहलाई हस्तान्तरण गरिने छ ।रासस





