Tuesday, November 19, 2024

पत्रपत्रिकामा आज : सरकारी आयोजनाबाटै मनपरी उत्खनन, थोत्रा दमकलको डम्पिङ साइट बन्दै नेपाल

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
–आजको नागरिकमा कृषिमा स्मार्ट प्रविधि शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ । अरुण काफ्ले आफ्नो कार्यकक्षमा इन्टरनेट चलाउँछन्। उनले इन्टरनेटमा सामाजिक सञ्जाल होइन, मोबाइलबाटै नर्सरीको रेखदेख गर्छन्।

तरकारी बाली विकास केन्द्र ललितपुरका प्रमुख काफ्लेले ग्रिन हाउसमा हुर्किंदै गरेका बिरुवामा मोबाइल एप्सको माध्यमबाट आवश्यक पानी दिन्छन्। तापक्रम, आद्रता नियन्त्रण गर्छन्। पानीको मात्रा कम भएमा बढाउँछन्। तापक्रम धेरै भएमा घटाउँछन्। मोबाइलबाटै नर्सरीको मनिटरिङ गर्छन् उनी।

फिल्डमा नपुगी यो कसरी सम्भव हुन्छ त ? अचम्म लाग्न सक्छ। प्रविधि प्रयोगमा आएको फड्कोसँगै ‘स्मार्ट फार्मिङ’ ले यो सम्भव तुल्याएको हो।

त्यस्तै सरकारी आयोजनाबाटै मनपरी उत्खनन शिर्षकमा देवेन्द्र बस्नेतको समाचार छापिएको छ। नदीजन्य पदार्थ (ढुंगागिट्टी) उत्खननका लागि सरकारले बर्सेनि कार्यविधि तयार पार्दै आएको छ। तर यस्तो कार्यविधिको बारम्बार उल्लंघन हुँदै आएको छ। मूलतः मनपरी उत्खननमा यसको अवैध कारोबारी सक्रिय रहेको आरोप लाग्ने गरेको छ। सरकारकै ठूल्ठूला आयोजनाले समेत सरकारी मापदण्ड उल्लंघन गर्दै आएका छन्। आयोजना निर्माणका नाममा खोला वा नदीको धारै परिवर्तन हुनेगरी गरिएको उत्खननले देउखुरीमा सर्वसाधारणको जमिन कटानको जोखिम व्यापक देखिएको छ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा सडक छैन, गाडी किन्न हतारो शिर्षकमा अनिष विष्टको समाचार छापिएको छ । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन। ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्र्याक मात्रै खोलिएको छ। यो कच्ची बाटोमा हिउँदका केही महिना मुस्किलले गाडी कुद्छन्। गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कर्पियो गाडी खरिद गरेको छ। चारवटा मोटरसाइकल किनेको छ।

‘गाउँपालिकाभरिको त कुरै छाडौं, गाउँपालिका केन्द्रसम्म पनि गाडी जान सक्ने अवस्था छैन’, भोटखोला–३ का वाङदावी भोटेले भने, ‘तर, जनप्रतिनिधिले गाउँपालिकालाई आर्थिक बोझ थोपरेर गाडी र मोटरसाइकल खरिद गरेका छन्। सडक नभएको ठाउँमा कहाँ कुदाउन गाडी चाहिएको हो भन्ने स्पष्ट पार्न सकेका छैनन्।’

त्यस्तै बनेन बूढीगंगाको डीपीआर शिर्षकमा गीता कुँवरको समाचार छापिएको छ । अछाममा बूढीगंगा हाइड्रोपावरको डीपीआर दसैँअगावै तयार भइसक्ने भनिए पनि अझै बन्न सकेको छैन।आयोजना निर्माणका लागि सम्झौता भएको अढाई वर्ष बितिसकेको छ। ०७३ असार १४ गते अस्ट्रेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीसँग १८ महिनाभित्र डीपीआर तयार गरिसक्ने गरी सम्झौता भएको थियो।

चमेलियापछि सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजनाको काम डीपीआर नबनेका कारण ढिलाइ भएको हो। जलाशययुक्त ३५ मेगावाट क्षमताको दार्चुलाको चमेलिया जलविद्युत् आयोजनापछि अछामको बूढीगंगा, सरकारले बनाउन लागेको प्रदेशका लागि दोस्रो ठूलो जलविद्युत् आयाजना हो।

राजधानी
–आजको राजधानीमा चावहिल–जोरपाटी–साँखु सडकखण्ड : क्षतविक्षत सडकले सास्ती शिर्षकमा केशवप्रसाद पाण्डेको समाचार छापिएको छ । घडीमा बिहानको १० बजेर ४७ मिनेट गएको छ । चावहिल हुँदै साँखुस्थित शाली नदीमा मेला भर्न जाने दर्शनार्थीलाई लिएर भरीभराउ बस त्यसतर्फ दगुरिरहेका छन् । घाम त लागेको छ । तर, सडकमा अघिल्लो दिन मात्र परेको पानीको असर उस्तै छ । पानीका कारण सडक धान रोप्न ठिक्क पारिएको खेतका गह्रा जस्ता हिलाम्मे देखिन्छ । सडक दायाँबायाँ पार्किङ नहुँदा हिलाम्मे सडकका दायाँबायाँ राखिएका सवारीसाधनसमेत हिलो पोतिएको अवस्थामा देखिन्छन् । कतिपय स्कुटर र मोटरसाइकल चालक खुट्टा उचालेरै सजगतासाथ सवारी चलाइरहेका भेटिन्छन्।

अर्कातर्फ पानी सुकेर सुक्खा बनेका सडकमा भने धुलोधुँवाका कारण बस्न सक्ने अवस्था देखिँदैन । स्वस्थानी व्रतकथा आरम्भ भएको झन्डै एक महिना हुन लागेको छ । अर्थात् समाप्तिको केही दिन मात्र बाँकी छ । स्वस्थानी व्रतकथासँग सम्बन्धित आस्थाको केन्द्र शालीनदी जान यही सडक मात्र विकल्पका रूपमा छ । त्यहाँ जाने दर्शनार्थी, स्थानीय तथा गाडी चालकहरू भने सम्बन्धित निकायको बेवास्ताका कारण लामो समयसम्म पनि सडक बन्न नसक्नुको असर भोग्न बाध्य छन् ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा थोत्रा दमकलको डम्पिङ साइट बन्दै नेपाल शिर्षकमा ईश्वरराज ढकालको समाचार छापिएको छ । विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि नेपालको भूमिलाई डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएका छन् ।

त्यसको प्रत्यक्ष उदाहरणको रुपमा काठमाडौंको जुद्ध वारुण यन्त्र कार्यालय रहेको छ । काठमाडौ महानगरपालिकाको स्वामित्वमा रहेको दमकल कार्यालयमा रहेका सबै दमकल करिब दुई दशक पुराना छन् । विदेशमा डेटस्पायर भए पछि विभिन्न निकायले नेपाललाई दमकल आवश्यक रहेको भन्दै भीख माग्ने अनि विदेशले नेपाललाई सहयोग स्वरुप थोत्रा दमकल र आगलागी नियन्त्रणमा प्रयोग हुने अन्य सवारी साधन उपहारको रुपमा दिने गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार