Tuesday, November 19, 2024

पत्रपत्रिकामा आज : वन्यजन्तुको मार्गमा धराप, क्रसर डनको कब्जामा चुरे

काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।

नागरिक
–आजको नागरिकमा हिमपातले अन्नपूर्ण क्षेत्रको पदयात्रा अस्तव्यस्त शिर्षकमा सन्तोष पोखरेलको समाचार छापिएको छ। निरन्तर हिमपातले अन्नपूर्ण क्षेत्रको पदयात्रा अस्तव्यस्त बनेको छ। साहसिक पर्यटकले बढी रुचाउने अन्नपूर्ण फेरोको पदयात्रा झन्डै दुई सातादेखि अवरुद्ध छ। हिमपात जारी रहेकाले पर्यटकलाई पदयात्रामा जान रोक लगाइएको छ।

लम्जुङबाट मनाङ हुँदै थोराङला भञ्ज्याङ (५४१६ मिटर) पार गरेर मुस्ताङको मुक्तिनाथ निस्कने फेरोको पदयात्रा पूर्णरुपमा अवरुद्ध रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ। यसअघि परेको बाक्लो हिमपातले पदमार्गमा पूरै हिउँ जमेको छ। हिउँ पर्ने क्रम निरन्तर रहेकाले हिँडडुलमा निकै नै कठिन रहेको एक्यापले जनाएको छ।

कान्तिपुर
–आजको कान्तिपुरमा चुरे फेदीमै ढुंगा झिक्न अनुमति शिर्षकमा माधव अर्यालको समाचार छापिएको छ । चुरे फेदी खोलाछेउमै ढुंगा निकाल्न खानी सञ्चालक र स्थानीयबीच सहमति भएको छ । गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठलगायतको उपस्थितिमा वातावरण सन्तुलन राखेर ढुंगा निकासी गर्न शुक्रबारको छलफलबाट स्थानीय सहमत भएका हुन् ।

तिनाउ गाउँपालिका–२, खुर्सानेनजिकै अक्कले घाटबाट ढुंगा निकाल्न राष्ट्रपति चुरे तराई मधेस विकास समितिले अनुमति दिएपछि विवाद सुरु भएको थियो । खुर्सानेमा गठित प्राकृतिक स्रोत संरक्षण मञ्चले केही दिनअघि तिनाउ गाउँपालिका, राष्ट्रपति चुरे तराई मधेस विकास समिति, जिल्ला समन्वय समिति, नेपाल पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यालयलगायतमा आवश्यक छानबिन गरी कारबाही माग्दै निवेदन दिएको थियो । ढुंगाखानी सञ्चालकले धमाधम निकासी थालेपछि स्थानीयले आवश्यक कारबाहीका लागि निवेदन दिएका हुन् ।

त्यस्तै वन्यजन्तुको मार्गमा धराप शिर्षकमा मोहन बुढाऐरको समाचार छापिएको छ । वसन्ता र मोहना अन्तर्राष्ट्रिय जैविकमार्गलाई अवरोध पार्ने गरी भारतले सीमा क्षेत्रमा गहिरो नाली ‘ट्रेन्च’ खनेको छ। जैविकमार्ग भारतको दुदुवा नेसनल पार्कसँग जोडिएको छ। संरक्षणकर्मीले ‘वन्यजन्तु ओहोरदोहोर गर्ने बाटोमा धराप थाप्ने काम भएको’ बताएका छन् ।

कैलारी गाउँपालिका–३ को शिवरत्नपुर क्षेत्रको दशगजा क्षेत्रमा भारतले करिब २ किलोमिटर लामो ट्रेन्च खनेको छ। भारतको दुदुवा नेसनल पार्कलाई जोड्ने वसन्ता जैविकमार्गको मुख्य घाटी (नाका) हो । त्यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने सीमावर्ती डोकेबजारको सीमा क्षेत्रमा २ किलोमिटर ट्रेन्च खनिएको छ । चुरेबाट बग्ने मोहना नदी डोकेबजारको पश्चिमतिरबाट दुदुवा नेसनल पार्कलाई जोड्छ ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा क्रसर डनको कब्जामा चुरे शिर्षकमा समाचार छापिएको छ । प्रदेश २ मा दोहन बढेपछि चुरेभावर संकटमा परेको छ। विशेषगरी महोत्तरी, धनुषा, सिरहालगायत तराई मधेसका भावर क्षेत्र कुरूप बन्न थालेको छ। चुरे विनाशले जल, जमिन, जंगल, जीवजन्तु र जनताको जीवनसमेत संकटमा पारेको छ। तर दुर्भाग्य, राजनीतिक दल र नेताकै संरक्षणमै चुरेमा अहिले क्रसर डनको बिगबिगी छ।

यहाँ मापदण्डविपरीत क्रसर सञ्चालनमा छन्। उनीहरूको उत्खनन रोकिने छाँट छैन। त्यस्ता क्रसर उद्योगलाई न कानुनले छोएको छ, न त प्रहरी–प्रशासनले नै यसमा ध्यान दिएको छ। राजनीतिक दलहरूले यतातिर दृष्टि लगाउने कुरै भएन, किनकि उनीहरू नै त हन् क्रसर डन पोस्नेहरू।

त्यस्तै अरुण तेस्रो आक्रमण रहस्यमय शिर्षकमा अनिष विष्टको समाचार छापिएको छ । बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् परियोजनालाई लक्ष्य गरी विभिन्न समयमा बम विष्फोट र आगजनीका घटना भइरहे पनि त्यसको वास्तविकता पत्ता लाग्न सकेको छैन। संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको जलविद्युत् परियोजनामा आक्रमणको घटनाको जिम्मेवारी कसैले नलिनु र घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नुले घटना रहस्यमय बन्दै गएको छ।

पहिलोपटक २०७२ साल मंसिर २३ मा अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादनस्थलमा रहेको भवनमा आगजनी भयो। पहिलो घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको थियो। त्यसयता विभिन्न समयमा भएका बम विष्फोट र आगजनीका घटनाको जिम्मेवारी भने कसैले लिएको छैन। नत घटनामा संलग्नलाई पहिचान गरेर प्रहरीले पक्राउ गर्न सक्यो।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा हिउँदे झरी अझै लम्बिने शिर्षकमा समाचार छापिएको छ । भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ।

सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा सेनाको प्लटिङले सर्वसाधारणलाई सास्ती शिर्षकमा टेकराज थामीको समाचार छापिएको छ । नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ । सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा सात सयभन्दा बढी घडेरी बनाउँदै छ । यो जमिन भिरालो छ । त्यसैले जीवन्तनगरबाट बगेको पानी सेनाको घडेरी हुँदै खोल्सामा मिसिएर बागमती नदीमा पुग्छ । सेनाले खोल्सासहितको भागलाई घडेरी बनाएको छ । उसले त्यो स्थानमा ३।५ देखि ४ फिटसम्मको ढल बनाइसकेको छ । जीवन्तनगरका स्थानीय पनि सेनाको सोही ढलमा आफ्नो ढल मिसाउन चाहन्छन् । तर, सेनाले अनुमति नदिँदा करिब सय घरको ढल जडान कार्य रोकिन पुगेको छ ।

जीवन्तनगर टोल सुधार समितिका अध्यक्ष पुष्कर पौडेलले सेनाकै कारण सय घरको ढल जडान रोकिएको बताए । ‘जीवन्तनगरमा अहिले ७० भन्दा धेरै घर छन् । ३० वटा बन्दै छन् । त्यसभन्दा माथि पाँगा छ । यी ठाउँको ढल सेनाले गरेको प्लटिङको बाटोबाहेक अन्तबाट निकास हुने सम्भावना छैन । किनभने सेनाको प्लटिङ पाँगा र जीवन्तनगरभन्दा तल छ,’ उनले भने, ‘तर, सेनाले कुनै हालतमा प्लटिङबाट ढल निकास गर्न नदिने भनेको छ । यसले जीवन्तनगर मात्र होइन, पाँगाको ढल निर्माण कार्य पनि प्रभावित बन्यो ।’

ताजा समाचार

सम्बन्धित समाचार