काठमाडौं– आजका दैनिक पत्रपत्रिकाले मौसम, प्रदूषण, जिवजन्तु तथा अन्य वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार प्रकाशित गरेका छन् ।
राजधानी
–आजको राजधानी दैनिकले मौसम बदली : वर्षा र हिमपातको सम्भावना शीर्षकमा राससको समाचारलाई प्रकाशित गरेको छ ।
खबरमा जनाइएअनुसार पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए ।
ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताए । शनिबार बेलुकादेखि मौसम क्रमशः सुधार हुदै जाने बताइएको छ ।
राति देशभर मौसम बदली हुनाका साथै पश्चिमी भू भागका अधिकांश स्थानमा र मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
त्यस्तै शनिबार देशका अधिकांश भूभागमा सामान्यतया मौसम बदली रही पश्चिमी भेग र पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँको अधिकतम तापक्रम १९ दशमलव ६ डिग्री र न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै धनकुटाको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७ दशमलव ५ डिग्री सेल्सियस छ ।
यसैगरी राजधानीले राप्तिमा छाडिए २४ गोही शीर्षकमा समाचार लेखेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई राप्ति नदीमा छाडिएको हो ।
नदीमा छोडिएको २४ वटा गोहीमा २ वटा भाले र २२ वटा पोथी रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जानकारी दिए ।
प्रजनन केन्द्रमा हुर्काएर हालसम्म देशका विभिन्न नदीमा १ हजार ४ सय ४ वटा गोहि छाडिसकिएको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्ट दैनिकले घोडालाई बोकाए खानेपानी , पानी भर्न घण्टौ लाइन शीर्षकमा समाचार छापेको छ ।
हिमाली जिल्ला डोल्पामा पानीको समस्या सम्बन्धी समाचारलाई त्यहाँबाट टेकबहादुर शाहीले लेखेका छन् ।
खबरमा भनिएअनुसार त्रिपुरासुन्दरी नगरपालिका(३ सुँ गाउँमा खानेपानीको हाहाकार छ । गाउँको मुहान सुकेपछि स्थानीयले गाउँदेखि परेको मुहानबाट घोडाबाट बोकेर खानेपानी ल्याउन थालेका छन् ।
एक सयभन्दा बढी घरधुरी रहेको सुँ गाउँमा खानेपानी ल्याउन २०६९ सालदेखि नै पहल भएको हो । तर, हालसम्म खानेपानी समस्या समाधान हुन सकेको छैन ।
नेपाल समाचारपत्र
–नेपाल समाचारपत्र दैनिकले राजधानी काठमाडौंको फोहोर व्यवस्थापनमा भइरहेको सकस सम्बन्धी समाचारलाई पहिलो पृष्ठमै प्रकाशित गरेको छ । ईश्वरराज ढकालले लेखेको सो समाचारको शीर्षक राजधानीको फोहोर ब्यवस्थापनमा सकस दिइएको छ ।
खबरमा भनिएअनुसार स्थानीय निकायको फोहोर ढुवानी गर्दा वार्षिक करिब १० करोड रुपैयाँ खर्च हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी लागत काठमाडौं महानगरपालिकाको छ ।
काठमाडौं महानगरपालिकाले मात्रै वार्षिक करिब पाँच करोड रुपैयाँ खर्च गर्ने गरेको समाचारमा उल्लेख छ । तर ब्यवस्थापनमा सकस भइरहेको छ ।
यसैगरी मेलम्ची फेरि अनिर्णयको बन्दी शीर्षकमा नेपाल समाचारपत्रमा नै अर्को खबर छ । मेलम्ची खानीपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य ठेकेदार कम्पनीसँग ठेक्का तोडेको घोषणा गरेपछि अब निर्माण कार्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्न सकेको छैन।
कार्यक्षेत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनालाई पटक–पटक सम्पर्क गर्दासमेत सम्पर्कमा नआएको भन्दै समितिले माघ २४ मा ठेक्का तोडेको घोषणा गरेको थियो।
समितिले माघ ६ मा ठेक्का किन नतोड्ने भन्दै कम्पनीलाई अन्तिम पत्र पठाएको थियो। कम्पनीसँग समितिले ठेक्का तोडेको घोषणा गरे पनि समितिको बोर्ड र खानेपानी मन्त्रालयले अझैसम्म कुन मोडलमा अगाडि बढ्ने भन्ने बारेमा निर्णय गर्न सकेको छैन। जसका कारण मेलम्चीको भविष्य अन्यौलमा परेको छ।
बोर्ड र मन्त्रालयले मेलम्चीको बाँकी काम सम्पन्न गर्न ठोस निर्णय गर्नुको सट्टा ढुलमुले नीति अख्तियार गरेका कारण समस्या समाधान हुने छाटकाट देखिएको छैन। ठेकेदार देश छोडेर गएपछि पनि सोही ठेकेदार कम्पनी फर्केर आउँछ कि भन्ने आशमा नेपाली अधिकारीहरू रहनुले मेलम्चीको भविष्य अन्यौल बन्दै गएको छ।
खानेपानी तथा सरसफाइमन्त्री बिना मगर र आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले समेत भागेको ठेकेदारको विकल्प खोज्न नसक्नुले मेलम्चीको भविष्य अन्यौल बन्दै गएको हो।





