जुम्ला – विश्वको एक दुर्लभ स्तनधारी जनावर हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको छ।
चोरी सिकारी, वनजङ्गल फँडानी, चेतनाको कमीलगायतका कारणले गर्दा लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। पहिला घरआँगनमै देखिने हाब्रेलगायत अन्य दुर्लभ वन्यजन्तु हिजोआज जङ्गलमा पनि देखिन छोडेका छन्।
हाब्रे नेटवर्कको समन्वयमा कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले सिञ्जा र पातारासी गाउँपालिकामा हाब्रे संरक्षणका लागि अभियानका रुपमा काम गर्दै आएको छ। एक सय ५० सामुदायिक वनसँग समन्वय गरी हाब्रेको संरक्षण गर्नुका साथै चोरी सिकारीलाई न्यूनीकरण गर्ने कार्य गरेको हो।
सरकारले हाब्रे संरक्षणका लागि छुट्टै नीति बनाए तापनि अन्य जनावर जस्तै, हाब्रेलाई प्राथामिकता नदिँदा सङ्कटमा परेको अनुसन्धानले देखाएको हाब्रे नेटवर्क अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताए।
उनले हाल नेपालमा ५०० मात्रै हाब्रे छन् भने ४३ प्रतिशत हाब्रेको बासस्थान कर्णालीमा रहेको अनुसन्धानले देखाएको बताए। अनुसन्धान अनुसार जुम्लाका गिडिखोला, देपालगाउँ, ताम्ती, पातारासी, रिया, लगायतका क्षेत्रमा आवश्यक बासस्थान उपयुक्त रहेको अर्का अनुसन्धानकर्ता प्रगति शाहीले बताए।
वन्यजन्तुको चोरी सिकारी पछिल्लो समय बढ्दै गएको तर दण्ड सजाय नहुनु प्रमुख समस्याका रुपमा देखिएको छ। मानवीय आवश्यकता परिपूर्ति गर्नका लागि वनजङ्गल विनाश भए तापनि चोरी सिकारी नै प्रमुख समस्याका रुपमा देखिएको अनुसन्धानकर्ताको भनाइ छ।
नेपालका २४ वटा जिल्लामा मात्र हाब्रे पाइन्छन्। वन्यजन्तुको चोरी सिकारीलाई न्यूनीकरणका लागि पत्रकार, नेपाल प्रहरी, स्थानीय सरकारले विशेष गरी अभियान चाल्नुपर्नेमा आवश्यकता देखिएको छ।
हाब्रे संरक्षणका लागि वैज्ञानिक वन व्यवस्थापनलाई अघि बढाउनुपर्ने डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत निरोज झाले बताए। अझै पनि अधिंकाशमा चेतनाको कमी छ। हाब्रे मार्दा केही हुँदैन भन्ने सोच पनि छ। वन्यजन्तुको संरक्षणका लागि सबै जिम्मेवार बनाउन विशेष अभियान आवश्यक रहेको उनको भनाइ छ।
हाब्रेको चोरी सिकारीमा संग्लनलाई एकदेखि १० वर्ष कैद र एक देखि पाँच लाख सम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ। रासस