काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नागरिक
–आजको नागरिकमा कृषिमा आस जागेन शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ । किसानले अनुदान र उखुको मूल्य नपाएर आत्मदाहको चेतावनी दिएका छन्। थुप्रै ठाउँका किसानले तरकारी नबिकेर बारी मै नष्ट गरेका छन्। टमाटर फ्यांकेका छन्। दूध सडकमा पोखेका छन्। कुखुरा किसान अण्डाको मूल्य नपाएर आन्दोलित छन्। किसानको मेहनतमा बिचौलियाले फाइदा लिएका छन्। केरा खेती समस्याग्रस्त छ। किसान विज्ञ सेवाबाट वञ्चित भएको गुनासो गर्छन्। अनुदानमा बिचौलिया र टाठाबाठाको रजाइँ छ। कृषिजन्य वस्तुको आयात बढेको बढ्यै छ।
यी समस्या सुल्झाउन सरकारको तत्परता देखिँदैन। सरकारले कृषिमा आधुनिकीकरण, व्यवसायीकरण गरी उत्पादन वृद्धि गरी कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने घोषणा गरे पनि कृषि क्षेत्रमा आशा जाग्न सकेको छैन। उत्पादन र बजारको तालमेल देखिँदैन।
कान्तिपुर
–आजको कान्तिपुरमा पाँच वर्षभित्र सबै करिडोरमा सडक शिर्षकमा समाचार छापिएको छ । सरकारले ५ वर्षभित्र उपत्यकाका सबै नदी करिडोरमा सडक विस्तार सम्पन्न गर्ने जनाएको छ । यसका लागि ढल, सडक, हरियाली उद्यान, विकास, नदी नियन्त्रण तथा बहाव कायमलगायत कामका लागि विभिन्न निकायलाई जिम्मा दिइएको अधिकार सम्पन्न एकीकृत विकास समितिका आयोजना उपप्रमुख योगेन्द्र चित्रकारले बताए ।
त्यस्तै पञ्चेश्वरको प्रारूप फेर्न प्रस्ताव शिर्षकमा समाचार छापिएको छ । करिब अढाई दशकदेखि विभिन्न बहानामा अल्झिइरहेको पञ्चेश्वर बहुउद्देश्य परियोजना कार्यान्वयनका लागि भारत सरकारका एक जना वरिष्ठ मन्त्रीले प्रारूपमा फेर्नुपर्ने प्रस्ताव गरेका छन् ।
भारतका जलस्रोत तथा सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले पञ्चेश्वर परियोजनालाई पूर्ण रूपमा व्यापारिक हिसाबले अगाडि बढाउनुपर्ने दाबी गरेका छन् । वल्ड सस्टेनेबल डेभ्लपमेन्ट समिटमा सहभागी हुन नयाँदिल्ली आएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग मंगलबार भएको भेटमा मन्त्री गडकरीले त्यस्तो धारणा राखेका हुन् ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा नगरपालिका परिसरभित्रै डम्पिङ साइड शिर्षकमा मनोज भट्टको समाचार छापिएको छ । भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारबाट उत्पादित फोहोर आफ्नै कार्यालय परिसरभित्र नै थुपार्ने गरेको भेटिएको छ । महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका कार्यालयको दक्षिणतर्फ बजार क्षेत्रबाट उत्पादित फोहोरजन्य बस्तुहरु थुपार्ने गरेको भेटिएको हो ।
बजार क्षेत्रबाट दैनिकजसो संकलन गरेर ल्याउने फोहोरजन्य पदार्थ व्यबस्थापनका लागि उचित क्षेत्र निर्धारण गर्न नसक्दा नगरपालिका परिसरभित्र नै फोहोर थुपार्ने गरिएको छ ।
नगरपालिकाको हाता भित्र नै फोहोर संकलन गर्न थालिएपछि उक्त क्षेत्र साह्रै दुर्गन्धित भएका नगरपालिकाकै कर्मचारीहरुको गुनासो छ ।