काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नागरिक
–आजको नागरिकमा वन्यजन्तुको काल बन्दै जंगलबीचको सडक शिर्षकमा रोहित राईको समाचार छापिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानवारी सामुदायिक वन बीचबाट महादेव चोक–पानवारा सडक पर्छ। यो सडकको एकापट्टि९दक्षिणतर्फ०बिरुवा जोगाउन वन उपभोक्ता समूहले सिमेन्टको पिलर गाडेर फेन्सिङ (तारजाली) लगाएको छ।
रूखका लाथ्रा अत्यधिक चोरीनिकासी भएको भन्दै नियन्त्रण गर्न वन समूहले तारजाली लगाएको हो। यसबाट काठ चोरीमा केही हदसम्म नियन्त्रण भएको पनि छ। तर त्यही तारजाली अहिले वन्जजन्तुका लागि काल बनिरहेको छ। मंगलबार बिहान पनि भर्खर निर्माण भएको सेउती पुल र सेहरा पुल बीचमा लगाइएको तारजालीमा ठोक्किएर एउटा वयस्क चित्तल मर्यो। उत्तरपट्टि फेन्सिङ छैन। त्यताबाट दौडिएर आएको चित्तल सडक पारिपट्टिको तारजाली नाघ्न नसक्दा वा नदेख्दा ठोक्किएको हो। मुन्टो भाँचिएको उक्त चित्तल सडक किनारमा छटपटाइरहेको अवस्थामा धरान बजार आउँदै गरेका यात्रुहरूले देखे। उनीहरूले नै खबर गरेपछि प्रहरी र जनप्रतिनिधिहरू तत्काल घटनास्थल पुगेर वन कार्यालयलाई जानकारी गराए। ‘म धरान बजारतिर जाँदै थिए, बाटो पार गर्दै गर्दा चित्तल आत्तिएर कुद्यो र पिलर, जालीमा ड्याम्मै ठोक्कियो,’ प्रत्यक्षदर्शी पानवारी निवासी दीपक लिम्बूले भने, ‘विचराको मुन्टो नै भाँच्चिएछ।’
कान्तिपुर
–आजको कान्तिपुरमा छन् ३९ पोखरी, छैन स्याहार शिर्षकमा प्रशान्त मालीको समाचार छापिएको छ। पुल्चोकको सिटुंगा पोखरीमा फोहोर पानी जमेको छ । पाटनमा भएका ३९ पोखरीको हालत उस्तै छ । जीवन्त छैन । पुल्चोकको पोखरी कुनै बेला पुल्चोकवासीका लागि खानेपानीको स्रोत थियो । खानेपानीबाहेक प्रत्येक वर्ष रातो मत्स्येन्द्रनाथ रथ बनाउँदा बेत भिजाउने पोखरी पनि यही हो ।
पुल्चोकका ६१ वर्षीय रूपकुमार शाक्य सानै छँदा लेले–टीकाभैरव–चापागाउँ हुँदै कुपन्डोलसम्म बग्ने राजकुलोको पानी यही पोखरीसम्म आउँथ्यो । खानेपानी बाहेक नुहाउने, लुगा धुने लगायत कामका लागि यो पोखरीको पानी लाने गरिन्थ्यो । अहिले भने यसको पानी प्रयोग गर्नु त टाढाको कुरा, पोखरी नजिकै जान पनि दुर्गन्धले गाह्रो छ ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा उपत्यकाको तीन करिडोरको काम सुस्त शिर्षकमा सुरेश तामाङको समाचार छापिएको छ । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न विभिन्न समयमा गठित सरकारले तीन करिडोरको परिकल्पना गरेको छ । बाग्मती, धोविखोला र विष्णुमती खोला किनारलाई करिडोर बनाउने र सवारी चापलाई व्यवस्थित पार्ने परिकल्पना स्वरुप काम थालेको वर्षौ बितेपनि काम भने सुस्त गतिमा अगाडि बढेको छ । समयमा नै निर्माण सम्पन्न गरेर उपत्यका काठमाडौंको ट्राफिक जामलाई घटाउने सरकारको लक्ष्य करिडोर निर्माण नहुँदा अलपत्र परेको छ । नदी किनारामा व्यवस्थित सडक बनाउने उदेश्यको सहित सरकारले कोरिडार निर्माणको काम थालनी गरेको थियो । तर बर्षौ अघि सम्पन्न हुनुपर्ने सडक निर्माण हुन सकेको छैन् । जसको कारण काठमाडौंको सवारी सञ्चालनमा थप कठिनाई थपिएको छ ।
यस कोरिडोरले उपत्यकामा ह्वात्तै बढेको जनघनत्व, सहरी विकास, सवारीको उच्च चापलगायतले गर्दा यातायात सेवा नै अस्तव्यस्त बनेको विषयलाई मध्यनजर गरेको छ । काठमाडौं बासीले ट्राफिक जामको हैरान खेप्नु परिरहेको बास्तविकतालाई यी कोरिडोरले सम्बोधन गर्नेछ । तर काम भने सुस्त छ । निर्माण कार्य ठप्प नभए पनि काम कछुवाको गतिमै चलिरहेको छ ।
यस्तो अबस्थाले काठमाडौंबासीले वर्षौदेखि दैनन्दिन सास्ती खेप्दै आईरहेका छन् । यो कति सम्म लम्बिने हो ? न कसैलाई थाहा नै छ न त सम्बन्धित निकायले चित्त बुझ्दो जवाफ नै छ । समयमै काम नसकिँदा यस कोरिडोरहरु सवारी बनाउने ग्यारेज, निर्माण सामाग्री थुपार्ने थलो, फोहोरको डंगुर थुपार्ने डम्पिङ साईट बनेको छ ।