पिपलकाे बोट संरक्षण गर्दै रम्भावासी

काठमाडौँ – रम्भा गाउँपालिका–१ सघाहका स्थानीयवासी पिपलको बोट संरक्षण अभियानमा जुटेका छन्। ‘पिपल रोपौँ, पुण्य कमाउ, पर्यावरण जोगाउ, स्वस्थ बनौँ’ नारासहित यहाँका स्थानीयवासी पिपलको बोट संरक्षण अभियानमा छन्। विकास निर्माणको नाममा पछिल्लो समय गाउँघरमा रहेका पिपलका बोट मासिदै जान थालेपछि यसको पौराणिक महत्वलाई लोप हुन नदिन संरक्षण अभियान थालिएको हो।

लक्ष्मीनारायण धाम एवं पिपल संरक्षण प्रतिष्ठानको नेतृत्वमा यहाँका स्थानीयवासीले सघाहको डुम्रीकुनाघाटस्थित कालीगण्डकीको किनारमा तीन हेक्टर क्षेत्रफलमा १५० पिपलका बिरुवा लगाएका छन्। धार्मिक तथा वैज्ञानिक रूपले राम्रो मानिएको पिपलको हरियो पातदेखि खरानीसम्म आयुर्वेदिक औषधिमा काम लाग्ने भएकाले यसको संरक्षण अभियानमा जुटेको लक्ष्मीनारायण धाम एवं पिपल संरक्षण प्रतिष्ठानका अध्यक्ष छविलाल डुम्रेले बताए। “अहिले यहाँ पिपलका बोटलाई व्यवस्थित बारबन्देज, तीन चौतारी निर्माण गर्ने काम भइसकेको छ । शालिग्रामको मन्दिर निर्माण भइरहेको छ। छानो लगाउने काम मात्र बाकी छ”, उनले भने।

पिपलका बोट संरक्षण गर्न स्थानीयवासीबाट हालसम्म करीब रु चार लाख रकम सङ्कलन गरिएको छ। यहाँका ७०० स्थानीयवासीको जनश्रमदानसहित रु १६ लाख रकम खर्च भइसकेको लक्ष्मीनारायण धाम एवं पिपल संरक्षण प्रतिष्ठानका सचिव ऋषिराम अर्यालले बताए। गौ संरक्षणका लागि गौशाला निर्माण, आयुर्वेद जडीबुटीको संरक्षण, एक रोपनी क्षेत्रफलमा लक्ष्मीनारायणको मन्दिर निर्माण गरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ यहाँका स्थानीयवासी लागिपरेका छन्। सो योजना सम्पन्न गर्न करीब रु दुई करोड ५० लाख खर्च लाग्ने अर्यालले बताए।

स्थानीयवासी डिला रानाभाटका अनुसार सघाह ठुलीटार सामुदायिक वनले गएको असारमा सो क्षेत्रलाई धार्मिक वन क्षेत्र घोषणा गरेको हो। आँप, लिची र कटहर गरी १५० बोट फलफूल, श्रीखण्ड, चन्दन, बेलका बिरुवा लगाइएको छ भने मन्दिरमा प्रयोग हुने विभिन्न जातका फूल लगाउने काम भइरहेको छ। कालीगण्डकीको पवित्र उत्तरबाहिनी क्षेत्रमा अवस्थित रहेकाले पनि यस क्षेत्रमा पिपलका बोटसँगसँगै कुश, तुलसी क्षेत्र बनाउने पनि स्थानीयवासीले तयारी गरिरहेको समाजसेवी दिनेशप्रसाद अर्यालले बताए।

गत वर्ष पिपलका बोट लगाउने र चौतारी बनाउने क्रममा फेला परेको भगवान् शिवको बाहन नन्देश्वर महादेव (साँढे) लाई चौतारी नजिकै राखेर स्थानीयवासीले पूजाआजा गरिरहेका छन् भने लक्ष्मीनारायण शेषनागको श्ययामा बसेको शिलालाई सघाहमा रहेको शिवमन्दिर संरक्षण गरी पूजाआजा गरिएको छ । यसका लागि नागपोखरी बनाएर त्यसको बीचमा राख्ने तयारी भइरहेको छ । सोही ठाउँमा फेला परेको एकमुखे रुद्राक्षको शिलालाई सिमेण्टको चौको बनाएर राखिएको छ । धार्मिक पर्यटकीय विकासलाई प्रवद्र्धन गर्न उत्तरबाहिनी क्षेत्र कालीगण्डकीको किनारसम्म जोड्ने करीब दुई किलोमिटर सघाह–डुम्रीकुनाघाट सडक निर्माण गरिएको छ । स्थानीयवासीको जनश्रमदान र गाउँपालिकाको रु आठ लाख सहयोगमा सडक निर्माण गरिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार