काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नागरिक
–आजको नागरिकमा खेतीयोग्य जमिन २५ प्रतिशत बाँझो शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ । सरकारले कृषियोग्य जमिन बाँझो राख्ने किसानलाई तीन लाख रुपैयाँ जरिबाना गर्ने तयारी गरेको छ। मुलुकभर खेतीयोग्य जमिनको करिब २५ प्रतिशत जमिन बाँझो रहेको सरकारी तथ्यांक छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १० लाख ३० हेक्टर क्षेत्रफल बाँझो छ।
कृषि सूचना तथा सञ्चार केन्द्रले तयार पारेको ‘कृषि डायरी–२०७५’ को तथ्यांकअनुसार ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरिएको छ। केन्द्रले अध्ययन गरेर हरेक वर्ष कृषिसम्बन्धी सम्पूर्ण तथ्यांक समेटी डायरी प्रकाशन गर्दै आएको छ। मुलुकभर धेरै जमिन बाँझो रहेकाले कृषिजन्य वस्तुको उत्पादन बढाउन जमिन बाँझो राखे जरिबाना गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताइन्। ‘स्वदेशी उत्पादनले नपुगेर विदेशबाट कृषिजन्य वस्तु आयात भइरहेको छ,’ मन्त्री अर्यालले भनिन्, ‘कृषि उत्पादन बढाउन खेतीयोग्य जमिनमा खेती नगर्नेलाई सजाय गर्ने कानुन बनाउन लागिएको हो।’
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा हिउँ पन्छाएर विमानस्थल सञ्चालन शिर्षकमा रामचन्द्र न्यौपानेको समाचार छापिएको छ ।
हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल सोमबारदेखि सञ्चालनमा आएको छ । स्थानीय बासिन्दाले धावनमार्गको हिउँ पन्छाएपछि विमानस्थल सञ्चालनमा आएको हो ।
सुरक्षाकर्मी र स्थानीय बासिन्दाले दुई दिन लगाएर विमानस्थलमा जमेको हिउँ पन्छाएका हुन् । आइतबार एक सयभन्दा बढी स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सुरक्षाकर्मी खटिएर धावनमार्गमा जमेको एक फिट अग्लो हिउँको परत पन्छाएको ठूलीभेरी नगरपालिका–९ का वडाध्यक्ष वीरमलकुमार भण्डारीले बताए ।
विमानस्थल सुचारु भएपछि सोमबार नेपालगन्जबाट तारा, समिट र नेपाल एयरलाइन्सले पाँच उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।
राजधानी
–आजको राजधानीमा साढे ४ लाख भूकम्पपीडित तेस्रो किस्ताबाहिरै शिर्षकमा टेनिस रोकाको समाचार छापिएको छ। निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता भुक्तानी लिएका करिब ४ लाख भूकम्पपीडितले तेस्रो किस्ता नलिएको पाइएको छ ।कुल ८ लाख ११ हजार १ सय ५४ मध्ये ७ लाख ४९ हजार १५५ अर्थात् ९२ प्रतिशत भूकम्पपीडितले विभिन्न मितिमा अनुदान सम्झौता गरेका थिए । तीमध्ये ९९ प्रतिशत अर्थात् ७ लाख ४९ हजार १५५ ले पहिलो किस्ता बुझेका छन्। त्यसको तुलनामा करिब ५० प्रतिशत पीडितले अझै तेस्रो किस्ता नलिएको र मागसमेत नगरेका हुन्।
पुससम्म तेस्रो किस्ताका लागि ५१ प्रतिशत अर्थात् ३ लाख ८१ हजार ८४८ ले मात्र रकम माग गरेका छन्। जसमा ३ लाख ७१ हजार ८१८ अर्थात ५० प्रतिशत प्रमाणीकरण भइसकेको छ भने ३ लाख ४९ हजार १४३ अर्थात ४७ प्रतिशतले भुक्तानी समेत लिइसकेका छन् । त्यसको तुलनामा ५० प्रतिशत बढी भूकम्पपीडितले अझै पनि तेस्रो किस्ता नबुझेको पाइएको छ।
तेस्रो किस्ता नलिने ५० प्रतिशतको संख्या रहे पनि दोस्रो किस्ता भने ७० प्रतिशत बढीले लिएको पाइएको छ।