काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा हिमालमा हकी शिर्षकमा समाचार छापिएको छ । विश्व कीर्तिमान कायम गर्न जुलाईमा नेपालमा हकी खेलिने भएको छ। ब्रिटेनका पेसा र व्यवसायमा संलग्न व्यक्ति आ–आफ्नो टोली बनाएर हकी खेल्न नेपाल आउन लागेका हुन्। सहभागी टोलीले नेपालको अन्नपूर्ण हिमाल क्षेत्रमा हकी खेल्नेछन्। उक्त अभियानलाई ‘हकी फर हिरोज च्यालेन्ज’ नाम दिइएको समाचार शनिबार ब्रिटेनको ‘दी प्रेस एन्ड जर्नल’ ले प्रकाशन गरेको छ। सहभागी टोलीले अन्नपूर्ण हिमशृंखलाको ५ हजार दुई सय मिटर उचाइमा हकी खेलेर विश्व कीर्तिमान बनाउने लक्ष्य लिएका छन्।
हालसम्म विश्वमा कहिले पनि त्यति उचाइमा हकी खेलिएको छैन। सबैभन्दा उच्च स्थानमा हकी खेलिएको कीर्तिमान चार हजार दुई सय मिटर रहेको समाचारमा जनाइएको छ। ‘एक पटक चार हजार दुई सय मिटर उचाइमा आइस हकी खेलिएको थियो। तर, त्यसभन्दा उच्च स्थानमा हालसम्म हकी खेलिएको छैन’, नेपालमा आयोजना हुने प्रतियोगिताको तयारीमा व्यस्त एरोन ह्वाइटले भनेका छन्।
त्यस्तै मेलम्चीमा नयाँ ठेक्का नगर्न चेतावनी शिर्षकमा अर्को समाचार छापिएको छ। मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले सरकारले मेलम्चीको नयाँ ठेक्का गरेमा काम हुन नदिने चेतावनी दिएको छ।
संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी ठप्प रहेको मेलम्ची छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग गरेको छ।
कार्यक्रममा समितिका संयोजक श्रीराम न्यौपानले नेपाली व्यवसायीहरुको भुक्तानी नहुञ्जेलसम्म अन्य नेपाली निर्माण कम्पनीहरुलाई उक्त आयोजनाको ठेक्का प्रक्रियामा सहभागी नजनाउन पनि आग्रह गरे। उनले भने, ‘मेलम्ची विकास समितिलाई पनि भुक्तानीको टुँगो नलगाई अगाडि नबढ्न आग्रह गर्दछु ।’
कान्तिपुर
–आजको कान्तिपुरमा वन्यजन्तु पाल्न, बेच्न पाइने शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ। सरकारले वन्यजन्तुको पालन, प्रजनन, मांसाहार, बेचबिखन र विदेश निकासीसमेत गर्न सकिने नीति ल्याएको छ। यसका लागि सामुदायिक, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गरिने मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको वन नीति २०७५ मा उल्लेख छ । नीति वन तथा वातावरण मन्त्रालयले बनाएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को पाँचौं संशोधनमा पनि व्यक्ति वा संस्थाले अनुमति लिएर वन्यजन्तु अध्ययन, अनुसन्धान तथा पालन गर्न सक्ने र सरकारले तोकिएको शुल्क लिएर बीउ प्राणी (सिड एनिमल) उपलब्ध गराउने उल्लेख छ। त्यस्तो शुल्क कति हुने र कसरी उपलब्ध गराउने भन्ने निक्र्योल राष्ट्रिय निकुञ्ज विभागले गर्नेछ।
ऐनअनुसार व्यावसायिक रूपमा उत्पादित वन्यजन्तु वा तिनका अंगबाट तयार गरिएका वस्तु उपयोग, बिक्री वितरण र निकासी गर्न सकिनेछ। अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको प्रयोजनले ख्याति प्राप्त स्वदेशी तथा विदेशी संघसंस्थाले वन्यजन्तु मागेका बखत सरकारले उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा काठमाडौंमा थपिँदै १८ नयाँ पार्क शिर्षकमा तीर्थराज बस्नेतको समाचार छापिएको छ । काठमाडौं जिल्लामा १८ वटा नयाँ पार्क थपिने भएका छन् । काठमाडौं महानगर र आसपासका नगरपालिकामा पार्क थपिने भएका हुन् । काठमाडौं महानगरले आफैँले नौवटा र छिमेकी नगरपालिकाले नौवटा पार्क बनाउने भएका छन् । महानगरले आइतबार नौवटा नगरपालिकालाई एक÷एक करोड रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरले कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकासँग सम्झौता गरेको हो । टोखा नगरपालिकाले भने गत २० असारमै पार्क बनाउन आर्थिक सहयोगको रकम लगिसकेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको एकीकृत विकासका लागि नगरपालिकाबीच एउटै मत भएको बताए । ‘महानगरभित्र गर्नुपर्ने काम धेरै छन् । ती काम गरिरहेका पनि छौँ । तर, छिमेकी नगर समृद्ध नभई महानगर एक्लै समृद्ध हुन सक्दैन,’ आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यसैले हामी नगर—नगर साझेदारिताबाट अघि बढेका हौँ ।’ उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौंको समग्र विकासमा नगर—नगर साझेदारी कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
नागरिक
–आजको नागरिकमा हिउँ नपग्लँदा कठिनाइ शिर्षकमा सन्तोष पोखरेल र सुशीलबाबु थकालीको समाचार छापिएको छ । भारी हिमपातपछि थुप्रिएको हिउँ नपग्लिँदा हिमाली जिल्लाको कष्टकर दैनिकी कायमै छ। अत्यधिक चिसोका कारण हिउँ कडा चट्टानजस्तै भएर जमेको छ। उत्तरी हावाले पनि त्यहाँका बासिन्दाको जनजीवनमा असर पुर्याएको छ। हिउँ पग्लिन कम्तीमा एक साता लाग्ने स्थानीय प्रशासनले जनाएको छ।
हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिमपातको प्रभाव धेरै परेको प्रहरीले बताएको छ। गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी दानसिंह बोहराका अनुसार चिसोका कारण मनाङमा दुई दिनदेखि सञ्चार सम्पर्क विच्छेद छ। ‘हामी जिल्लासँग नियमित सम्पर्कमा छौं तर हिमपातले जनजीवन अझै पूर्ववत् अवस्थामा फर्केको छैन, चिसोले गर्दा सञ्चार विच्छेद भएको छ,’ उनले भने, ‘हिमपातले त्यहाँका बासिन्दाको आउजाउ नै कठिन बनेको छ।’